८ वैशाख २०८१ शनिबार
समाज

अलमलियो 'गैंडा कूटनीति'

काठमाडौं- नेपालका एकसिंगे गैंडाको बासस्थान अध्ययन गर्न समझदारी पत्रसमेत तयार गरेर बुधबार नेपाल आएको सचिवस्तरीय चिनिया“ टोली सहमतिबेगर शनिबार फर्किने भएको छ। नेपाली पक्षले पर्याप्त गृहकार्य नभएको उल्लेख गर्दै समझदारी पत्रमा हस्ताक्षर गर्न नमानेपछि चिनिया“ टोली फर्किन थालेको हो।

विश्वकै दुर्लभ बन्यजन्तु एकसिंगे गैंडा नेपालबाट आफ्नो देश लैजाने पूर्वतयारीस्वरुप चिनिया“ टोली आएको हो। काठमाडौं आएलगत्तै टोली गैंडाको बासस्थान अध्ययन गर्न चितवन राष्ट्रिय निकुञ्जतर्फ गएको थियो। चीनको स्टेट फरेस्ट एडमिनिस्ट्रेसनका भाइस मिनिस्टरको नेतृत्वमा पा“चसदस्यीय टोली नेपाल आएको हो।

चितवन निकुञ्जको दुईदिने अध्ययन गरेर शुक्रबार दिउँसो काठमाडौं फर्किएको टोली र वन मन्त्रालयका सचिव डा. कृष्णचन्द्र पौडेल नेतृत्वको नेपाली टोलीबीच शुक्रबारै वार्ता भएको थियो।

‘टोलीले समझदारी पत्र तयार गरेर आएको रहेछ। त्यसमा ६ महिनाभित्र गैंडा लैजाने योजना रहेछ। तर, वार्तामा सहभागी नेपाली पक्षले तत्काललाई पत्रमा हस्ताक्षर नगर्ने जबाफ दियो', वार्तामा सहभागी एक अधिकारीले भने।

उनका अनुसार नेपाली पक्षले गैंडा लैजाने विषयमा थप अध्ययन गर्न बाँकी रहेको उल्लेख गर्दै समझदारी पत्रमा अहिले हस्ताक्षर गर्न नमिल्ने जनाएको थियो। ‘चिनिया“ पक्षको कुरा सुन्दा उहा“हरुले गल्ती बुझेजस्तो लाग्यो। अहिले नै हस्ताक्षर गर्ने र ६ महिनाभित्र लैजाने गरी उहा“हरु आउनुभएको रहेछ’, ती अधिकारीले भने। 

वन सचिव डा. कृष्णचन्द्र पौडेलले नेपालको मन्त्रिपरिषद्को निर्णयअनुसार तयार गरिएको समझदारी पत्रको मस्यौदा बोकेर चिनियाँ टोली आएको जानकारी दिए। ‘नेपालीले नै तयार गरेको समझदारी पत्र रहेछ। चिनियाँ टोलीले त्यसमा आफ्नो सुझाव पनि तयार गरेर आएको रहेछ। तर, हामीले दुवै पक्ष बसेर समझदारी पत्र तयार गर्ने र त्यसपछि मात्र हस्ताक्षर गरेर गैंडा पठाउन सक्छौं भन्यौं', उनले भने।

डा. पौडेलका अनुसार नेपालबाट पनि प्राविधिक टोली चीन पठाउने योजना छ। त्यसमा गैंडाविज्ञ, भन्सारविज्ञ र क्वारेन्टाइनविज्ञ सहभागी हुनेछन्। यो टोलीले सम्पूर्ण अध्ययन गरेपछि मात्र समझदारी पत्र तयार गरी गैंडा लैजाने प्रक्रिया सुरु हुन्छ।

‘तर पनि गैंडाको विषयमा मात्र नभएर जैविक विविधता संरक्षण, जडीबुटी प्रशोधन र उपयोग तथा जलवायु परिवर्तनजस्ता विषयमा समेत दुई देशबीच सहकार्य गरेर अघि बढ्न सकिन्छ भन्ने विषयमा पनि छलफल भयो', उनले भने।

नेपाल र चीनबीच सन् २०१० मा बन्यजन्तुसहित जैविक विविधता संरक्षण, जलवायु परिवर्तनजस्ता मुद्दामा सहकार्य गर्ने सहमति पत्रमा हस्ताक्षर भएको थियो। त्यही सहमतिअनुसार चीनले नेपालस“ग दुईजोडी गैंडा मागेको हो। सरकारले गत असार १९ गते दुईजोडी गैंडा  चीनलाई दिने निर्णय गरेपछि अध्ययनका लागि चिनिया“ टोली नेपाल आएको हो। सरकारले दुई भाले र दुई पोथी गैंडा दिने निर्णय गरेको हो। तत्कालीन वनमन्त्री अग्नि सापकोटाको चीन भ्रमण क्रममा चिनिया“ वनमन्त्री र चिनिया“ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्रीले गैंडा दिन आग्रह गरेका थिए।

सरकारले चितवनकै गैंडा चीन सरकारलाई हस्तान्तरण गर्ने निर्णय गरेपछि टोली त्यसतर्फ गएको हो। चितवन गैंडाको प्रमुख बासस्थान हो। त्यहा“ ६ सय पाँच गैंडा छन्।

गैंडा कूटनीति

तत्कालीन अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनलाई २०४४ वैशाखमा पहिलोपटक नेपाल सरकारले एकजोडी गैंडा उपहार दिएको थियो। यसपछि नेपालमा 'गैंडा कूटनीति' सुरु भएको हो। एक दशकअघिसम्म नेपालले नौवटा मुलुकलाई गैंडा उपहार दिएको थियो।

विभिन्न राजनीतिक घटनाक्रमका कारण एक दशक रोकिएको 'गैंडा कूटनीति' फेरि चर्चामा आएको छ। एकसिंगे गैंडा नेपाल र भारतमा मात्र पाइन्छ।

राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण विभागको अप्रशोधित तथ्यांकअनुसार अहिलेसम्म २४ गैंडा उपहार र आदानप्रदानका नाममा नौवटा मुलुकलाई दिइएको छ। पछिल्लो पटक सन् २००६ मा तत्कालीन युवराज पारसले अस्ट्रिया सरकारलाई एकजोडी गैंडा उपहार दिएका थिए।

बन्यजन्तु उपहार दिन मिल्ने/नमिल्नेबारे राष्ट्रिय कानुनमा कुनै पनि व्यवस्था छैन। वनस्पति तथा बन्यजन्तु ओसारपसारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि (साइटिस) मा वैज्ञानिक र शैक्षिक प्रयोजनका लागि दिन मिल्ने व्यवस्था छ। नेपाल साइटिसको पक्ष राष्ट्र हो तर यससम्बन्धी कानुन अझै बनेको छैन।

विभागस“ग उपहार र आदानप्रदान कार्यक्रमअन्तर्गत दिएको गैंडाका आधिकारिक अभिलेख छैन। विभागले टिपोटका रूपमा केही सूचना दिए पनि विस्तृत विवरण उपलब्ध गराउन सकेन।

गैंडालाई संकटापन्न बन्यजन्तुको रूपमा साइटिसको अनुसूची १ मा राखिएको छ। राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण ऐन (चौथो) संशोधनमा पनि गैंडा दुर्लभ बन्यजन्तुको सूचीमा छ।

सरकारले सबैभन्दा धेरै गैंडा अमेरिकालाई दिएको छ। अमेरिकाका विभिन्न चिडियाखानालाई गरेर तीनजोडी गैंडा विभिन्न समयमा उपहार दिइएको छ। चिडियाखानालाई प्रत्यक्ष रूपमा दिन नमिलेपछि सरकार–सरकारबीचको उपहारका रूपमा दिइएको हो।

भारतलाई पनि दुईजोडी गैंडा दिइएको थियो। त्यसबापत सरकारले भारतबाट १८ वटा हात्ती ल्याएको थियो। ती हात्ती ल्याइएपछि चितवन राष्ट्रिय निकुञ्जमा हात्ती प्रजनन केन्द्र स्थापना गरिएको थियो। यद्यपि त्यति बेला भारतबाट ल्याइएका हात्ती स्वस्थ नभएको चर्चा थियो।

नेपालले अहिलेसम्म अमेरिकालाई ६, भारतलाई चार, अस्ट्रियालाई दुई, बेलायतलाई दुई, जापानलाई दुई, जर्मनीलाई दुई, पाकिस्तानलाई दुई, बर्मालाई दुई र थाइल्यान्डलाई दुई गैंडा दिएको छ।

गणतन्त्र आउनुपूर्व (२०६५ जेठ १५ अघि) राजालगायत राजदरबारका सदस्यले विभिन्न मुलुकस“ग मित्रता गा“स्ने नाममा गैंडा उपहार दिन्थे। दरबारको निर्देशनमा महेन्द्र प्रकृति संरक्षण कोषले उपहारको सबै चाँजोपाँजो मिलाउँथ्यो। कोषको अध्यक्ष राजकुमार हुने व्यवस्था थियो। सन् २००६ अघि सम्म यसरी नै गैंडा उपहार दिइन्थ्यो।

पछिल्लो गणनाअनुसार नेपालमा ६ सय ४८ गैंडा छन्। तीमध्ये चितवनमा ६ सय ५, बर्दियामा ३५ र शुक्लाफा“टामा आठवटा छन्। नेपाल र भारतमा गरी विश्वमा गैंडाको जम्मा संख्या २५ सय हाराहारी छ।

 

 

प्रकाशित: २३ पुस २०७३ ०२:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App