४ वैशाख २०८१ मंगलबार
खेल

सिक्किम सेमिफाइनलमा

विपक्षीविरुद्ध बल अगाडि बढाउदै आयोजकका सुनील बल। तस्बिर : टंक/नागरिक

सर्लाही - आयोजक बागमती नगरपालिका टोलीलाई १–० गोलले पराजित गर्दै कञ्चनजंघा फुटबल क्लब, सिक्किम मंगलबार सर्लाहीको बागमतीमा जारी चौथो राजर्षि जनक कप फुटबल प्रतियोगिताको अन्तिम चारमा स्थान बनाउन सफल भएको छ।

खेलको १८औं मिनेटमा सिक्किमका करण थापाले  गरेको गोल नै टोलीलाई सेमिफाइनल पुर्‍याउन पर्याप्त बन्यो। डी बक्सबाहिरबाट रक्षकहरूलाई छलाउँदै अगाडि बढाएको बललाई थापाले बागमतीको जाली चुमाएरै छाडे। आयोजकले राष्ट्रिय स्तरमा चर्चित खेलाडी विमल घर्तीमगर, बुद्ध चेमजोङ, सुनील बल तथा दुई अफ्रिकन मूलका विदेशी खेलाडी मैदानमा उतारेको थियो। खेलको १३औं मिनेटमा बागमतीका बुद्ध चेमजोङले डी बक्सभित्रबाट सशक्त प्रहार गरेको बल सिक्किमको क्रसबारभन्दा थोरै माथिबाट बाहिरियो। त्यस्तै २७औं मिनेटमा सिक्किमका गोलकिपर निगम सिंहसँग वान भर्सेज वानको मौकालाई समेत चेमजोङले गोल गर्न चुकेका थिए। सुन्दर मौकालाई चेमजोङले गोलमा परिणत गर्न नसक्दा खेल बराबरी हुन सकेन।

खेलको ५४औं मिनेटमा बागमतीका पिटर सेजुनले गरेको हेड बल सिक्किमका गोलकिपर बिट भइसके पनि गोलपोस्टभित्र रहेका करण थापाले फर्काएर खेल बराबर हुन रोके। खेलको ६५औं मिनेटमा विमलले सशक्त प्रहार गरेको बल गोलपोस्टभन्दा केही माथिबाट बाहिरियो। ८२औं मिनेटमा बागमतीका एडिलेजा सोमिदेले डी बक्सभित्रबाट सशक्त प्रहार गरेको बल पनि सिक्किमका गोलकिपरले बचाए। त्यस्तै विमलले थपिएको इन्जुरी समयमा सिक्किमका गोलकिपर सिंहसँग वान भर्सेज वान अवस्थाको बललाई समेत जाली चुमाउन चुके। मध्यान्तरपश्चात् अत्यन्त आक्रामक बनेको बागमतीको तर्फबाट सशक्त गोलपोस्ट प्रहार भए पनि गोल हुन नसक्दा अभागी साबित हुँदै प्रतियोगिताबाटै बाहिरियो। मध्यान्तरपछि बागमती निकै आक्रामक बन्दा सिक्किम रक्षात्मक बनेको थियो।

खेलमा सिक्किमका गोलकिपर निगम सिंह म्यान अफ दी म्याच घोषित भए। उनले ट्रफीसहित नगद १० हजार र एक जोर बुट प्राप्त गरे। सिंहले बागमतीका एक दर्जन बढी सशक्त प्रहार बचाउ गरेका थिए। अब सिक्किमले फाइनल यात्राका लागि युनाइटेड खर्साङ युवा क्लब दार्जिलिङ र जावलाखेल युथ क्लब ललितपुरबीचको विजेतासँग आगामी चैत १ गते भिड्नुपर्नेछ। बुधबार नेपाल पुलिस क्लब र ब्वाइज युनियन क्लब काठमाडौंबीच खेल हुने आयोजक समितिका संयोजक दीपक लामाले जानकारी दिए।

प्रकाशित: २८ फाल्गुन २०७६ ०२:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App