८ वैशाख २०८१ शनिबार
खेल

अन्तिम चारमा न्यु भिजन र बालुवाटार

काठमाडौं – बालुवाटार क्रिकेट क्लब र न्यु भिजन क्लब जारी काठमाडौं जिल्ला सिनियर क्रिकेट छनोट प्रतियोगितामा मंगलबार सेमिफाइनलमा पुगेका छन्।  

मूलपानी क्रिकेट मैदानमा भएको प्रधानमन्त्री कप क्रिकेटको छनोट प्रतियोगितामा न्यु भिजनले नेक्सस क्रिकेट एकेडेमीलाई दुई विकेटले र बालुवाटारले काठमाडौं क्रिकेट ट्रेनिङ क्लब (केसिटिसी) लाई ४ रनले हराउँदै समूहविजेताका रूपमा सेमिफाइनलमा स्थान बनाएसँगै सेमिफाइनल समीकरण पूरा भएको छ। यसअघि महावीर क्लब र हिमालयन क्रिकेट एकेडेमीले सेमिफाइनलमा स्थान बनाइसकेका छन्। बुधबार हुने सेमिफाइनलमा महावीर र न्यु भिजन तथा बालुवाटार क्रिकेट क्लब र हिमालयन क्रिकेट एकेडेमीबीच प्रतिस्पर्धा हुनेछ।  

कुल १२ टोलीलाई चार समूह विभाजन गरी खेलाइएको छनोटमा प्रत्येक समूहको शीर्ष चारले सेमिफाइनलमा स्थान बनाएका हुन्। ‘ए’ को अन्तिम खेलमा नेक्सस क्रिकेट एकेडेमीलाई स्तब्ध बनाउँदै न्यु भिजन समूहविजेताको रूपमा सेमिफाइनलमा पुग्न सफल भयो। निर्धारित २५ ओभरमा १ सय २६ रनको लक्ष्य पछ्याएको न्यु भिजनले १९.२ ओभर खेल्दै ८ विकेटको क्षतिमा जित निकाल्यो। न्यु भिजनको जितमा शमशेर चन्दले अलराउन्ड प्रदर्शन गर्दै १५ रनको योगदान दिँदा दुई विकेटसमेत निकाले। न्यु भिजनका लक्ष्मण चौधरीले सर्वाधिक २४ रनको योगदान दिँदा विवेक चन्दले १५ रन र राम चौधरी १० रनको अविजित इनिङ खेले। नेक्ससका रोविन क्षत्रीले दुई विकेट तथा आरोग्य भट्टराई, सम्भव श्रेष्ठ, आदित्य सुवेदी, सुचन बराल र रोम बास्तोलाले एक विकेट लिए पनि न्यु भिजनको जित रोक्न सकेनन्।

त्यसअघि टस जितेर ब्याटिङ गरेको नेक्ससले निर्धारित २५ ओभरमा अलआउट हुनुअघि १ सय २५ रनको योगफल बनायो। निकै खराब सुरुआत गरेको नेक्ससका ओपनरद्वय विपिनविक्रम शाही र प्रियान्सु श्रेष्ठ सस्तैमा पवेलियन फर्किंदा टोली ९–२ को स्थितिमा थियो। यद्यपि, सम्भव श्रेष्ठले सर्वाधिक ३७ रनको योगदान दिँदा कमजोर बनेको नेक्ससको इनिङ जोगायो। सूचन बरालले १८ रन र उत्तम थापामगरले १६ रन बनाएका थिए। न्यु भिजनका शमशेर चन्दले तीन ओभरमा बलिङ गर्दै १७ रन खर्चिएर दुई विकेट लिए। चन्दन रावलले दुई विकेट लिँदा राम चौधरी, बबिन शर्मा र विवेक चन्दले समान १ विकेट लिएका थिए।  मंगलबार भएको दोस्रो खेलमा बालुवाटार क्रिकेट क्लबले काठमाडौं क्रिकेट ट्रेनिङ क्लब (केसिटिसी) माथि ४ रनको रोमाञ्चक जित निकाल्दै समूह ‘बी’को विजेताका रूपमा सेमिफाइनल पुग्यो।

१ सय १ रनको लक्ष्य पछ्याएको केसिटिसी २४.३ ओभरमा ९६ रनमै अलआउट भएपछि बालुवाटारले रोमाञ्चक जित निकाल्यो। केसिटिसीका मेहुल श्रेष्ठले सर्वाधिक २५ रन बनाउँदा निर्भिक पाठकले १७ रन र उज्वल थापाले १६ रन बनाए। बालुवाटारका सोनु तामाङ र अविनाश बस्यालले समान दुई विकेट तथा सुमन उदय, नवीन तामाङ र सक्षम काफ्लेले १/१ विकेट निकाल्दै केसिटिसीलाई सस्तैमा रोक। त्यसअघि पहिले ब्याटिङ गरेको बालुवाटारले निर्धारित २५ ओभरमा ९ विकेट गुमाउँदै १०० रनको मध्यम योगफल बनाएको थियो। बालुवाटारका सुवास खकुरेलले २५ रन र सुमन उदयले २० रन बनाउनुबाहेक अन्यले उल्लेख्य रन बटुल्न सकेनन्। केसिटिसीका उज्वल थापाले तीन विकेट तथा प्रत्यक्ष घिमिरे र मनीषकुमार साहनीले दुई विकेट लिँदै बालुवाटारलाई ठूलो स्कोर बनाउन दिएनन्।

प्रकाशित: २८ फाल्गुन २०७६ ०२:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App