८ वैशाख २०८१ शनिबार
समाज

'संक्रमण भए व्यवस्थापनको तयारी छ'

काठमाडौं – सरकारले कोरोना भाइरसको संक्रमण फैलिए पनि सरकारले त्यसको व्यवस्थापनको तयारी गरिसकेको जनाएको छ। राष्ट्रिय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. वासुदेव पाण्डेले विश्व स्वास्थ्य संठगठनको मापदण्डअनुसार सुरक्षा तयारी गरिरहेको जानकारी दिए। उनले सर्वसाधरण आतंकित हुनुपर्ने अवस्था नरहेको पनि बताए।

नेपालमा अन्य देशमा जस्तो कोरोना संक्रमण नभएको र यो रोगको मृत्युदर र जटिलताको दर कम रहेकाले धेरै डराउन आवश्यक नरहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसन्धान विभाग संयोजक डा. शेरबहादुर पुनले बताए। कोरोनाको केही लक्षण र नेपालमा चलिरहेको मौसमी फ्लुको लक्षण समान हुनु र सामाजिक सञ्जाल तथा सञ्चारमाध्यमले चाहिनेभन्दा बढी सूचना दिने गरेका कारण पनि मानिसमा त्रास बढिरहेको उनको अनुमान छ। ‘ अस्पतालमा पनि रुघाखोकी लाग्यो कि कोरोना भयो कि भन्ने त्रासमा देखिन्छन्,’ उनले भने।

अन्य राष्ट्रमा फैलिएको कोरोनाको स्थिति देखेपछि युवा संघ नेपालले मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई भेटी पूर्वतयारीका लागि ज्ञापनपत्र बुझाएको छ। सो अवसरमा मन्त्री ढकालले अहिलेसम्म नेपालमा नफैलिएको र फैलिहालेमा घरैमा क्वारेनटाइन गरी बस्न सकिने सुझाव दिएका थिए।

सचेत हुनु राम्रो भए पनि धेरै डराउनु आवश्यक नरहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रवक्ता तथा सरुवा रोग विशेषज्ञ डा. अनुपराज बाँस्तोलाको सुझाव छ। यसको लागि मौसमी फ्लु या कोरोनाकै जस्तो समस्या देखा परेका व्यक्ति सजक भइदिएमा धेरैलाई संक्रमणवाट बचाउन सकिने उनको भनाइ छ। ज्वरो आउनु, श्वास फेर्न गाह्रो हुनु, सुख्खा खोकी लाग्नु, मांसपेशी दुख्नु र वान्ता होला जस्तो हुनु र थकाइ लाग्नु कोरोनाको मुख्य लक्षण हुन्। यी लक्षण देखिएका कुनै पनि व्यक्ति भीडमा नजान उनको सुझाव छ। यस्ता व्यक्तिले अनिवार्य माक्स लगाउने गर्नाले अरुमा संक्रमण हुन पाउँदैन साथै यस्ता लक्षण देखिएका व्यक्तिको हेरचाह गर्ने र उपचार गर्ने चिकित्सकले समेत विशेष सावधानी अपनाउनुपर्छ।

अध्ययन तथ्यांकअनुसार कोरोना संक्रमणदर छिटो भए पनि यसको असर त्यति धेरै छैन। कोरोना संक्रमण भएका मध्येमा ८० प्रतिशतमा अत्यन्त कम असर देखिने, १५ प्रतिशतमा केही वढी र ५ प्रतिशतमा मात्र गम्भीर असर देखिने गरेको स्थिति छ। मृत्यु हुने सबैजसो पहिलेदेखिका गम्भीर तथा दीर्घरोगका बिरामी र ८० वर्षमाथिका वृद्ध–वृद्धा छन्।

विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांकअनुसार नोवेल कोरोना(कोभिड–१९) को कारण विश्वमा हालसम्म १ लाख ९ हजार ५ सय ७७ जनामा कोरोना संक्रमण भइसकेको छ भने मृत्यु हुनेको संख्या ३ हजार ८ सय ९ जना रहेका छन्। जसमा चीनमा मात्र ३ हजार १ सय २३ जना छन्। चीन बाहिर ६ सय ८६ जनाको मृत्यु भइसकेको छ। जसमा मृत्यु हुनेको नयाँ संख्या २ सय २ रहेको छ।

कोरोना आंशकामा एक जना अस्पताल भर्ना
कोरोना संक्रमणको आशंकामा मंगलबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा एकजना भर्ना गरिएको छ। चार दिनअघि कोरियाबाट नेपाल आएका नेपाली आफैले शंका गरेर अस्पताल पुगेका थिए। उनमा रुघाखोकीको लक्षण देखिएपछि भर्ना गरेको अस्पतालका प्रवक्ता डा. अनुपराज बाँस्तोलाले बताए। उनको नमूना परिक्षण गरेपछि मात्र संक्रमण भएनभएको पुष्टि हुने बाँस्तोलाले बताए।

कोरोना संक्रमणको मुख्य लक्षण
–सुख्खा खोकी लाग्नु
– ज्वरो आउनु
– श्वास–प्रश्वासमा वाधा हुनु
– मांशपेशी दुख्नु
– थकान महसुस हुनु
– वान्ता होला जस्तो हुनु

कसरी बच्ने ?
– रुघाखोकी लागेका व्यक्तिदेखि टाढा बस्ने
– व्यक्तिगत सफाइमा ध्यान दिने
–शौचालय तथा अपरिचित स्थल छोएपछि हात धुने
– रुघाखोकी लागेका व्यक्तिबाट टाढा बस्ने
–रुघाखोकी लागेका व्यक्तिले माक्स लगाएर मात्र बस्ने
– माक्स लगाएर हिँड्ने

प्रकाशित: २८ फाल्गुन २०७६ ०१:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App