८ वैशाख २०८१ शनिबार
समाज

बसमा छुटेको १ लाख बालकुमारीले फिर्ता पाइन्

उदयपुर- यात्रुबाहक बसमा दुई दिन अघि हराएको १ लाख रुपैंया पीडितले फिर्ता पाएका छन्। छोराले विदेशबाट पठाएको रकम गाईघाटस्थित आईएमइबाट झिकेर घर जाँदा साउने १ का होमबहादुर मगरको उक्त पैसा गाडीमै छुटेको थियो। वैदेशिक रोजगारीको क्रममा कतारमा रहेका छोरा भिमबहादुरले साहुको ऋण तिर्न भनेर पठाएको रकम हराएको दुई दिन पछि हिमाली यातायात व्यवसायी संघ गाईघाटले उक्त रकम फिर्ता गरेको हो।

गाईघाटदेखि खोटाङको रेग्मीटार रुटमा चल्ने बा ३ प १८९५ नम्बरको यात्रुबाहक बसमा बुधबार पैसा लिएर घर जाँदा रकम सहितको मगरको झोला गाडीमै छुटेको थियो। बसमा रकम भेटिएपछि सहचालक सुरेश विकले हिमाली संघको कार्यालयमा ल्याएर झोला जिम्मा दिएका थिए। विकले झोलामा १ हजार दरका सयवटा नोट,  नागरिकताको प्रमाणपत्र, औषधि र ग्लोबल आईएमई बैंकको चेकबुकसँगै भेटाएर संघको कार्यालयमा ल्याएर जिम्मा दिएका थिए।

रकमसहितको झोला भेटिएको खवर मगरलाई गरेर पैसा फिर्ता दिइएको संघका कोषाध्यक्ष विष्णु श्रेष्ठले बताए। उनका अनुसार ६८ वर्षीय बृद्ध होमबहादुर र ६० कटिसकेकी श्रीमति बालकुमारी मगरलाई कार्यालयमै बोलाएर पत्रकार सम्मेलन आयोजना गरी शुक्रबार संघका संरक्षक महेन्द्रकुमार राईले रकम हस्तान्तरण गरे। ‘पैसा हराए पछि रातभर निन्द्रा लागेन सर, भोक पनि लागेन’ बृद्ध मगर दम्पतिले पैसा पाएपछि भने ‘तर, इमान्दार मान्छे रछन्, बोलाएरै फिर्ता दिए।’

साहुको ऋण तिर्न र केही घरखर्च गर्न छोराले पठाएको रकम लिएर मधयान्ह १२:०० बजेको बस चढेका उनीहरु साउने बजारमा १:३० बजे ओर्लेका थिए। तर, पैसा, बैंकको चेक र एक महिना खाने औषधि राखेको झोला छाडेर दुईघण्टा टाढा साउने १ दियालेस्थित घर पुगेपछि मात्र उनीहरुलाई पैसा हराएको कुरा थाहा भएको मगरले बताए । हराएको  पैसा पाउँदा खुसी लागेको र अझै इमान्दार मान्छे रहेछन् भन्ने लागेको प्रतिक्रिया मगर दम्पतिले दिए।

हिमाली संघका उपाध्यक्ष उमेश बस्नेतले बसमा रकम छुटेको भन्ने थाहा पाएर सहचालकलाई बोलाएर संघको कार्यालयमा सुरक्षित राखेर फिर्ता दिइएको बताए । यातायात व्यवसायीहरु यात्रुप्रति जिम्मेबार भएको उदाहरण देखाउन छुटेको सामान र हराएको रकम पीडितलाई बोलाएरै फिर्ता दिने गरेको उपाध्यक्ष बस्नेतले बताए। मगर दम्पतिले आफ्नो रकम सुरक्षित रुपमा फिर्ता दिएको भन्दै विकलाई १ हजार रुपैयाँ पुरस्कार दिएका छन्। संघको तर्फबाट पनि विकलाई संरक्षक राईले ३ हजार नगद पुरस्कार दिएको कोषाध्यक्ष श्रेष्ठले बताए।

 

प्रकाशित: २२ पुस २०७३ १४:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App