६ वैशाख २०८१ बिहीबार
खेल

शीर्ष स्थानमा सातदोबाटो

सातदोबाटोविरुद्ध बल अगाडि बढाउदै पुलचोकका खेलाडी। तस्बिर : नागरिक

काठमाडौं – सातदोबाटो युथ क्लब सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलको अंकतालिकामा शीर्ष स्थानमा उक्लिएको छ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) को  कम्प्लेक्समा मंगलबार पुलचोक स्पोर्ट्स क्लबलाई १–० गोलअन्तरले पराजित गरेको सातदोबाटो लगातार चौथो सफलतासहित अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको हो। सातदोबाटोको जितमा भुवन बस्नेतले निर्णायक गोल गरेका थिए। पहिलो हाफ गोलरहित बराबरी भएको खेलको इन्जुरी समयमा भुवनले गोल गर्दै सातदोबाटोलाई तीन अंक दिलाए।   

जितसँगै सातदोबाटोले चार खेलबाट १२ अंक जोडेको छ। यसअघि सातदोबाटोले श्रीकुमारी क्लब, नयाँ बस्ती युथ क्लब र टुसाल युथ क्लबलाई पराजित गरेको थियो। यता, लगातार चौथो हार बेहोरेको पुलचोकले अंकको खाता खेल्न सकेको छैन। अर्को खेलमा हिमालयन बाँसबारी क्लबले रानीपोखरी क्लब (आरसिटी) लाई २–१ ले हरायो। आरसिटीले सुरुआती अग्रता जोगाउन नसक्दा हार बेहोर्‍यो। २४औं मिनेटमा सिसास थापाले गोल गर्दै आरसिटीलाई अग्रता दिलाएका थिए। त्यो गोलसँगै पहिलो हाफसम्म अग्रता जोगाएको आरसिटीले दोस्रो हाफमा दुई गोल बेहार्‍यो। ५१औं मिनेटमा अमृत गुरुङले गोल गर्दै बाँसबारीलाई खेलमा फर्काए।

बाँसबारीले ७६औं मिनेटमा अर्को गोल थप्दै अग्रता लियो। सजिन थापामगरको गोलबाट अग्रता बनाएको बाँसबारीले त्यसलाई जोगाउँदै तीन अंक प्राप्त गर्‍यो। अन्तिम समयमा सुरेश कुमालले दुई पहेंलो कार्ड बेहोरेपछि १० खेलाडीमा सीमित भएको बाँसबारीले खासै क्षति बेहोर्नुपरेन। जितसँगै बाँसबारीले ४ खेलबाट ११ अंक जोड्दा समान खेलबाट आरसिटीको दुई अंक मात्र छ। आगामी चैत २३ गतेसम्म चल्ने लिगमा  १२ क्लबले प्रतिस्पर्धा गरिरहेका छन्। यीमध्ये लिग टुगिंदा शीर्ष क्लब ‘ए’ डिभिजन लिगमा बढुवा हुँदा पुछारको टोली ‘सी’ डिभिजनमा घटुवा हुनेछ।

प्रकाशित: २८ फाल्गुन २०७६ ०१:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App