६ वैशाख २०८१ बिहीबार
समाज

‘तार’रहित बन्दै प्रदेश राजधानी

सुर्खेत- कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरलाई पोल र ताररहित बनाइने भएको छ। विद्युत, टेलिकम, इन्टरनेटलगायतका तार र पोलले प्रदेश राजधानी कुरुप बन्दै गएकाले पोल हटाएर तारलाई अण्डर ग्राउण्ड (जमीनमुनि) बिछ्याउने वीरेन्द्रनगर नगरपालिकाले जनाएको छ। पहिलो चरणमा प्रदेश राजधानीको मुख्य केन्द्र वीरेन्द्रनगर–६ को बजार क्षेत्रबाट पोल र ताररहित बनाइने छ।

नगरपालिकाका उपप्रमुम मोहनमाया ढकालले बिजुलीका पोल र तारले बजार क्षेत्र कुरुप बन्नुका साथै दुर्घटना र सडक क्षेत्र साँघुरो बनेकाले नगरलाई पोल र ताररहित बनाइन लागेको बताए। ‘चालू आर्थिक वर्षको अन्त्यसम्मका वीरेन्द्रनगरको मुख्य बजार क्षेत्र पोल र ताररहित बनाउँछौं,’ उनले भनिन्, ‘आगामी वर्ष नगरभरी कार्यान्वयन गछौं।’ नगरपालिकाले बजार क्षेत्रलाई पोल र ताररहित बनाउनका लागि यसलाई ‘नगर महत्व’को योजनामा समावेश गरेको थियो।

‘प्रदेश राजधानी घोषणा भएसँगै यहाँको जनसंख्या र सवारी–साधन बढेका छन्, यसले दुर्घटना पनि निम्त्याएको छ,’ उपमेयर ढकालले भनिन्, ‘तारलाई जमिनमुनि विछ्याउँदा बजार सुन्दर देखिनुका साथै दुर्घटना न्यूनिकरणमा पनि सघाउ पुर्‍याउँछ।’

नगरपालिकाका सूचना अधिकारी दीपेन सुवेदीले संघीय सरकारको समपुरक अनुदानको ४० प्रतिशत र नगरपालिकाको ६० प्रतिशत बजेटमार्फत यो योजना अघि बढाइएको हो। पहिलो चरणमा बजार क्षेत्रभित्रका पोल हटाएर तारलाई जमिनमुनि विछ्याउनका लागि चार करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ। ‘नेपाल विद्युत प्राधिकरणमार्फत ठेक्का खोलेर काम सुरु गर्ने तयारी गरेका छौं,’ सूचना अधिकारी सुवेदीले भने, ‘अर्को वर्षदेखि अरु क्षेत्रलाई पनि पोल र ताररहित बनाउँछौं।’

प्रकाशित: २७ फाल्गुन २०७६ १३:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App