७ वैशाख २०८१ शुक्रबार
अर्थ

पुष्पलाल लोकमार्गको लागत तेब्बर पुग्ने

काठमाडौं - सुरुमा तोकिएको समयमा निर्माण सम्पन्न नहुँदा पुष्पलाल (मध्यपहाडी) लोकमार्गको लागत झण्डै तेब्बर पुग्ने भएको छ। आर्थिक वर्ष ०६४/६५ मा आयोजना सुरु गर्दा ३३ अर्ब ३६ करोड रूपैयाँ लागत अनुमान रहेकोमा अहिले बढेर ८४ अर्ब ३३ करोड पुगेको छ।

सरकारले यो आयोजना सुरु गरेको १० वर्षभित्र (०७४/७५ भित्र) सम्पन्न गर्ने लक्ष्य राखेको थियो। समयमै निर्माण सम्पन्न नहुँदा आयोजनाको लागत तेब्बर पुग्ने अवस्थामा छ। सरकारले मध्यपहाडी राजमार्गको संशोधित कुल लागत ८४ अर्ब ३३ करोड रूपैयाँ पु-याएको छ।

संशोधित कार्यतालिका अनुसार आर्थिक वर्ष ०७९/८० सम्म यसको निर्माण सम्पन्न हुनेछ। सरकारले पाँचथरको चियो भञ्ज्याङदेखि बैतडीको झुलाघाटसम्मको मध्यपहाडी क्षेत्रका २५ जिल्ला र दुई सय १५ बस्ती जोड्ने गरी यो लोकमार्ग निर्माण गर्न लागेको हो। राष्ट्रिय गौरवमा सूचीकृत यो आयोजनाको कुल लम्बाइ १८ सय ७९ किलोमिटरमध्ये आठ सय दुई किलोमिटर सम्पन्न भइसकेको छ। आर्थिक वर्ष ०७५÷७६ को अन्त्यसम्म यसमा ३९ अर्ब ९१ करोड खर्च भइसकेको छ।

लोकमार्गमा पर्ने एक सय २९ पुलमध्ये ६७ वटा निर्माण भएको छ। चालु आर्थिक वर्ष ०७६/७७ मा यो आयोजनाको लागि १२ अर्ब १९ करोड ९२ लाख बजेट विनियोजन भएकोमा ६ महिनासम्ममा दुई अर्ब ४८ करोड ६२ लाख मात्रै खर्च भएको छ। ६ महिनामा मध्यपहाडी लोकमार्गको २८ किलोमिटर कालोपत्रे भएको छ। पाँचवटा पुल निर्माण सम्पन्न भइसकेको छ। ३४ किलोमिटरर निर्माणको ठेक्‍‌का सम्झौता भएको छ।

५५ किलोमिटर निर्माणको ठेक्‍‌का व्यवस्थापनको अन्तिम चरणमा रहेको आयोजनाले जनायो। तीन सय ५० किलोमिटर लम्बाइमा दुई लेन मापदण्डअनुसार कालोपत्रे गर्न र ३७ वटा पुल निर्माण गर्न ३५ अर्बको स्रोत सुनिश्चितता दिई निर्माण प्रक्रिया अघि बढेको आयोजनाले जनायो।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका पूर्वसचिव तुलसीप्रसाद सिटौला तोकिएको समयभित्रै आयोजना सम्पन्न नहुँदा मुलुकलाई घाटा हुने बताउँछन्। ‘आयोजना तोकिएको समयभित्रै नबन्दा एकातर्फ लागत बढ्ने र अर्काेतर्फ जनताले समयमै प्रतिफल नपाउने समस्या देखिन्छ,’ उनले भने, ‘यी दुवै पक्षले मुलुकले हात पार्ने समग्र प्रगतिमा नै बाधा पार्ने गर्छ।’

पूर्वसचिव सिटौलाले बिनातयारी ठेक्का प्रक्रिया अघि बढाउनु, निर्माण व्यवसायीले हदैसम्म लापरबाही गर्नु र बारम्बार म्याद थप्न मिल्ने कानुनी प्रावधान कै कारण तोकिएको समयभित्रै आयोजना निर्माण सम्पन्न नहुने बताए। ‘पूर्वाधार निर्माणअगावै के–के अवरोध छन्, वातावरणीय प्रभाव अध्ययन भएको छ–छैन ? सहज ढंगले निर्माण सम्पन्न गर्न समाजिक वा सामुदायिक समस्या छन्, छैनन् भन्नेमा हामी ध्यानै दिँदैनौं,’ उनले भने, ‘सर्वसाधारणले नाजायज रूपमा मुआब्जाबापतको रकम माग गरेकाले पनि समयमै काम गर्न नसकिने हो।’

पुष्पलाल लोकमार्ग मात्रै होइन, तोकिएको समयभित्रै निर्माण सम्पन्न नहुँदा हुलाकी राजमार्गको हालत पनि उस्तै छ। पूर्व–पश्चिम जोड्ने जोड्ने वैकल्पिक राजमार्गको रूपमा हुलाकी राजमार्ग आर्थिक वर्ष ०६५/६६ मा सुरु गरिएको थियो। आयोजनाको प्रारम्भिक लागत ४७ अर्ब २४ करोडबाट रूपैयाँ अनुमान गरिएको थियो। तर अहिले उक्त आयोजनाको लागत मात्रै होइन, संशोधित कार्यतालिका समेत फेरिएको छ। अहिले यो आयोजनाको लागत बढेर ६५ अर्ब २० करोड रूपैयाँ पुगेको छ। आयोजनाको कुल लम्बाइ एक हजार सात सय ९२ किलोमिटरमध्ये गत आर्थिक वर्षसम्म दुई सय ७० किलोमिटर कालोपत्रे भइसकेको छ। त्यसैगरी, तीन सय २५ किलोमिटर ग्राभेल र ८१ वटा पुल निर्माणको काम सम्पन्न भएको आयोजनाले जनायो। चालु आर्थिक वर्षको ६ महिनासम्ममा थप ९३ किलोमिटर सडक कालोपत्रे भएको छ।

त्यसैगरी, ५० किलोमिटर ग्राभेल र पाँचवटा पुल तयार भएको छ। आयोजनाका अनुसार तीन सय किलोमिटर सडक र ६ वटा पुलको ठेक्का सम्झौता भएको छ। सरकारले यो आयोजनाको लागि चालु आर्थिक वर्षमा १३ अर्ब ६३ करोड रूपैयाँ बजेट विनियोजन गरेको थियो। विनियोजित बजेटमध्ये हालसम्म तीन अर्ब १० करोड ४० लाख (२२.८ प्रतिशत) खर्च भएको छ।

उत्तर–दक्षिण (कोसी) लोकमार्गले अपेक्षित ढंगले गति लिन सकेको छैन। आर्थिक वर्ष ०६५/६६ मा निर्माण सुरू भएको उत्तर–दक्षिण लोकमार्ग अन्तर्गत यो आयोजनाले तेह्रथुम जिल्लाको बसन्तपुरदेखि उत्तरी सिमाना किमाथांकासम्म एक सय ६२ किलोमिटर सडक निर्माण एवं स्तरोन्‍‌नति गर्ने लक्ष्य लिएको छ। आयोजनाको कुल लागत १६ अर्ब २० करोड रहेको छ। चालु आर्थिक वर्षको ६ महिनासम्म यो आयोजनाको १० किलोमिटर सडक चौडा गर्ने काम सम्पन्न भएको छ। त्यसैगरी, २.७ किलोमिटर सडक ग्राभेल गर्ने काम सम्पन्न भएको छ। चालु आर्थिक वर्ष ०७६÷७७ मा यो आयोजनाको लागि ८४ करोड ८९ लाख विनियोजन भएकोमा १३ करोड ३९ लाख अर्थात वार्षिक लक्ष्यको १५.८ प्रतिशत खर्च भएको छ।

प्रकाशित: २७ फाल्गुन २०७६ ०६:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App