coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

थरीथरीका होलीका रंग

काठमाडौं – संसारभर फैलिएको कोरोना भाइरस संक्रमण रोकथामका लागि नेपाल सरकारले उच्च सतर्कता अपनाएर सभा र समारोहमा सहभागी नहुन अपिल गरेपनि कलाकारहरू रंगहरूको पर्व होलीको भरपुर मनोरञ्जन उठाए। तर उनीहरूका होली भिन्नभिन्न रह्यो। कसैले धुमधामसँग होली मनाए त कसैले होलीनै खेलेनन्।

कोरोना भाइरस संक्रमणको त्रासका कारण यस वर्ष होली उत्साहजनक नभएपनि केही सेलिब्रेटीले परिवारसँग रमाइलो गरे। कलाकारहरूले सामाजिक सञ्जालमा परिवार र साथीभाइसँग होली मनाएको फोटोहरू पोस्ट गरेका थिए। हास्य कलाकार दीपाश्री निरौलाले परिवारसँग होली मनाएको फोटो फेसबुकमा पोस्ट गर्दै लेखेकी छन्,‘घरभित्रै होली खेलौं।’

प्राय होलीको आयोजना गर्ने अभिनेत्री करिश्मा मानन्धरले यस पटक कोरोना भाइरस संक्रमणले गर्दा कार्यक्रम रद्द गरेर भेटघाटमा सीमित रहिन्। ‘कोरोना भाइरस संक्रमणको त्रासका कारण यसपटकको होली कार्यक्रम रद्द गर्न बाध्य भएँ। तर घरमा केही साथीहरूसँग भेटघाट गरेर होलीको शुभकामना दिइरहेको छु,’ उनले भनिन्। होली कार्यक्रमको लागि छुट्याएको खर्च यस पटक उनले नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष स्व. केशव भट्टराईको परिवारलाई प्रदान गरेकी थिइन्।

अर्की अभिनेत्री रेखा थापाले परिवारसँग रमाइलो गरेर होली मनाएपनि खल्लो महसुस गरिन्। ‘संसारभर कोरोना भाइरस संक्रमण फैलिरहेको छ। त्यसैले यसपटक परिवारसँग घरमा होली मनाएँ, ’ उनले भनिन्। अभिनेत्री सुरक्षा पन्तले परिवारसँग होली मनाएकी छन्। ‘कोरोना भाइरस संक्रमणको त्रासले घरबाहिर आयोजना भएका कार्यक्रममा सहभागी हुन सकिएन्। घरमा परिवारसँग अबिर दलेर होली मनाएँ,’उनले भनिन्।

संसारभर फैलिएको कोरोना भाइरस संक्रमण रोकथामका लागि नेपाल सरकारले सम्भावित जोखिमबाट बच्न भीडभाड र भेलामा जम्मा भएर लोला हान्ने र रंग दल्ने कार्य नगर्न र नगराउन सार्वजनिक सूचना जारी गरेका कारण हास्य कलाकार मनोज गुजरेलले होली नखेलेर घरमा बसे। ‘यसपटकको होली रंगविना घरमा बसेर खुसी हुने प्रयास गरिरहेको छु। अरूलाई रंग दलेर रमाउनुभन्दा आफ्नो मनलाई रंगीन बनाउन सिक्नु आवश्यक छ,’ उनले भने, ‘यस पटकको होली कोरोना भाइरस संक्रमणको त्रासले खाइदियो। सडक र बजारमा शून्यता छाएको महसुस गरिरहेको छु।’

अभिनेता निखिल उप्रेतीले श्रीमती अभिनेत्री संचिता लुइँटेल र परिवारसँग होली मनाएका थिए। त्यस्तै अभिनेत्री प्रियंका कार्की र आयुष्मान देशराज जोशीले परिवारसँग होली मनाएको फोटो सामाजिक सञ्जालमा राखेका छन्। ‘यसपटक परिवारसँग होली मनाएँ। कोरोना भाइरस संक्रमणको त्रासले घरबाहिर गएर होलीको रमाइलो गर्न पाइएन्,’ उनले भनिन्।

‘ए मेरो हजुर ४’ फिल्मको सुटिङमा व्यस्त अभिनेता अनमोल केसी, सुहाना थापा, सलोन बस्नेत र झरना थापाले सामाजिक सञ्जालमा संयुक्त रूपमा होली मनाएको फोटो पोस्ट गरेका थिए। हास्य कलाकार दीपकराज गिरीले यसपटक होली मनाएनन्। टिकटकमा भिडियो पोस्ट गर्दै उनले लेखेका छन्,‘यो वर्ष होलीबारे कुरा नगरौं।’ केही कलाकारले भने होली खेलेको पुराना फोटोहरू सामाजिक सञ्जालमा राख्दै शुभकामना दिएका थिए। कोरोना भाइरस संक्रमण रोकथामका लागि नेपाल सरकारले उच्च सतर्कता अपनाउन आग्रह गरेसँगै चितवनमा आयोजना हुने भनिएको कार्यक्रम स्थगित भएपछि गायिका आस्था राउतले परिवारसँग होली मनाएकी थिइन्। ‘परदेशी २’ फिल्मको सुटिङमा व्यस्त गायक प्रकाश सपुतले होली मनाउन नपाएको गुनासो गरेका थिए।

त्यस्तै अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी राणा, सरिता गिरी, नीता ढुंगाना र स्वेता खड्का लगायत कलाकारले होली मनाएको फोटो सामाजिक सञ्जालमा पोस्ट गरेका छन्।

प्रकाशित: २७ फाल्गुन २०७६ ०५:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App