७ वैशाख २०८१ शुक्रबार
समाज

अधुरै पर्यटकीय गन्तव्य

ओखलढुंगा – सरकारले सन् २०२० लाई भ्रमण वर्षका रूपमा मनाइरहे पनि ओखलढुंगाका पर्यटकीय गन्तव्य अधुरै छन्। सिद्धिचरण नगरपालिकालगायत स्थानीय तहहरूमा बनाइएका पर्यटकीय गन्तव्य लामो समयदेखि अधुरै भएका हुन्। करिब डेढ दशकअघि निर्माण सुरु भएको सदरमुकामनजिकै रहेको थामडाँडास्थित सहिद पार्क पूर्ण नहुँदै जीर्ण भइसक्यो। ढुंगा, सिमेन्ट र केही पिलरका लागि ठड्याइएका रडमा खिया लागेको छ। ‘दशकभन्दा बढी बित्यो,’ एक स्थानीयले भने, ‘थामडाँडाको सहिद पार्कबारे अहिले कसैलाई चासो छैन।’

सिद्धिचरण–१२ स्थित वीरेन्द्र पार्क बनेको दुई दशकभन्दा बढी भइसक्यो। त्यहाँ एउटा स्मारक बनाउने कामभन्दा अरू केही हुन सकेन। हालै सांसद यज्ञराज सुनुवारको पहलमा सांसद विकास कोषबाट पटकपटक गरी ५० लाखभन्दा बढी खर्च गरेर वीरेन्द्र पार्कनजिकै स्रष्टा पार्क निर्माण गरिएको छ। त्यो पनि अधुरै छ।

स्रष्टा पार्कमा जिल्लामै जन्मिएका साहित्य र कलाका स्रष्टाहरू प्रथम गायिका मेलवादेवी, युगकवि सिद्धिचरण श्रेष्ठ, स्व. गायक पाण्डव सुनुवार र राष्ट्रिय गानका सर्जक प्रदीप राई (व्याकुल माइला) को अर्धकदको सालिक निर्माण भएको छ। ‘स्रष्टा पार्कको निर्माणले पूर्णता पाएको छैन,’ सांसद सुनुवारले भने, ‘यसलाई पूर्ण बनाएर नमुना बनाउने लक्ष्य छ। यही नै अन्तिम होइन।’ स्रष्टा पार्क बनाइए पनि त्यसको व्यवस्थापन छैन। सालिकहरू बनाइएका छन् तर कसको सालिक हो भन्ने नामसमेत राखिएको छैन।

स्रष्टा पार्क र सिद्धिचरण पार्कको गत जेठमा राष्ट्रपति विद्यादेवी भण्डारीले भव्य कार्यक्रम गरेर उद्घाटन गरेकी थिइन्। स्रष्टा पार्क निर्माणले पूर्णता नपाउँदा कतिपय पूर्वाधारमा क्षति पुग्न थालिसकेको छ। ‘व्यवस्थित गर्ने हो भने आन्तरिक तथा स्थानीय पर्यटक दैनिक एक डेढ सयको संख्यामा स्रष्टा पार्क घुम्न आउँछन्,’ स्थानीय उमंग श्रेष्ठले भने, ‘धेरै खर्च भइसक्यो भन्छन् तर आवश्यक पूर्वाधार अझै पूरा भएको छैन।’

चार वर्षयता सिद्धिचरण–११ मा नगरपार्क निर्माण सुरु भएको छ। बहुवर्षीय योजनामा गरी यस वर्षसहित ८५ लाखभन्दा बढी नगरपार्कको संरचना निर्माणमा खर्च भइसकेको छ। १३ रोपनी क्षेत्रफलको पार्क बनिसक्दा सात करोडभन्दा बढी खर्च हुने अनुमान गरिएको छ। तर यो पार्कले पनि पूर्णता पाउने हो÷होइन भनेर ठोकुवा गर्न नसकिने स्थानीयको भनाइ छ।

प्रकाशित: २७ फाल्गुन २०७६ ०२:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App