१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

श्रीलंका लेजेन्ड विजयी

मुम्बई – कप्तान तिलकरत्ने दिलसानको अलराउन्ड प्रर्दशनप्रेरित श्रीलंका लेजेन्डले भारतमा जारी लेजेन्ड्स रोड सेफ्टी वल्र्ड सिरिजमा अस्ट्रेलियालाई पराजित गरेको छ। मुम्बईमा भएको खेलमा अस्ट्रेलिया लेजेन्डलाई ७ रनले स्तब्ध बनाउँदै श्रीलंका लेजेन्डले विजयी सुरुआत गरेको हो। यससँगै विश्व क्रिकेटमा पाँच राष्ट्रका हस्ती क्रिकेटर सम्मिलित शृंखलामा सचिन तेन्दुलकरको कप्तानीमा रहेको भारत लेजेन्ड र श्रीलंकाले सफलता प्राप्त गरेका छन्। भारतले भने उद्घाटन खेलमा ब्रायन लाराको कप्तानीमा रहेको वेस्ट इन्डिजलाई पराजित गरेको थियो।

१ सय ६२ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया लेजेन्ड १९.५ ओभरमा १ सय ५४ रनमा अलआउट भएपछि श्रीलंकाले रोमाञ्चक जित निकाल्यो। एक समय ३१–६ विकेटको नाजुक अवस्थामा रहेको अस्ट्रेलियाका लागि नाथन रियडर्नले आक्रामक ब्याटिङ गर्दै जितनजिक पु-याएका थिए। रियरडनले ५३ बलमा ९६ रनको उत्कृष्ट इनिङ खेलेका थिए। उनको इनिङमा ९ चौका र ५ छक्का थियो।

अस्ट्रेलियाका कप्तान ब्राड हेडिनले १० र जाभियर डोहर्टीले १५ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्। श्रीलंकाका कप्तान दिलसानले ३.५ ओभरमा ३५ रन खर्चेर ३ विकेट लिए। पर्वेज माहरुफ र स्पिनर रंगना हेराथले २÷२ विकेट तथा चमिन्दा भास र सचित्रा सेनानायकेले १/१ विकेट लिए। श्रीलंकाको बलिङमा विकेटविहीन भएका एक मात्र बलर मुथैया मुरलिथरनले तीन ओभरमा २६ रन खर्चिए।

त्यसअघि टस जितेर ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६१ रन बनाएको थियो। श्रीलंकाका लागि रोमेश कालुविथर्नाले सर्वाधिक ३० रन बनाउँदा चमारा कापुगेदराले २८ रन, दिलसानले १८ रन र अजन्था मेन्डिसले १७ रन बनाए। आठौं नम्बरमा ब्याटिङ गर्न आएका पर्वेज माहरुफले नटआउट २० रन बनाउँदा समान एक चौका र छक्का हिर्काए।

अस्ट्रेलियाका जेभियर डोहर्टी, जेसन क्रेजा र ब्राड होजले २÷२ विकेट लिए पनि श्रीलंकालाई सस्तैमा रोक्न सकेनन्। भारतको मुम्बईमा जारी शृंखलामा भारत, वेस्ट इन्डिज, अस्ट्रलिया, श्रीलंका र दक्षिण अफ्रिका लेजेन्डको टोली छ। लिग चरणपछि शीर्ष दुई टोली फाइनलमा पुग्नेछन्।

प्रकाशित: २७ फाल्गुन २०७६ ०२:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App