coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

थ्री स्टारको सहज जित

पोखरा - डिफेन्डिङ च्याम्पियन थ्री स्टार क्लब पोखरामा जारी आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। पोखरा रंगशालामा सोमबार सुसन श्रेष्ठको २ गोलको मद्दतमा थ्री स्टार भारतको गान्तोक फुटबल क्लवलाई ३–० को गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो। थ्री स्टारका लागि सुसनले २ मिनेटमा २ गोल गरे भने सन्जोक राईले १ गोल गरे। थ्री स्टारले अब फाइनल प्रवेशका लागि फागुन २८ गते नेपाल पुलिस क्लबको सामना गर्नेछ।

प्रतिस्पर्धात्मक खेलमा थ्री स्टारले ७९औं मिनेटमा गोलको खाता खोलेको थियो। थ्री स्टारका लागि सन्जोक राईले गोल गर्दै गोलको खडेरी तोडेका हुन्। निशान खड्काले मैदानको मध्य भागबाट निकालिदिएको पासमा एक्लै बल अगाडि बढाएका उनले विपक्षी गोलकिपरलाई छलाउँदै गोल गरे।

थ्री स्टारले दोस्रो र तेस्रो गोल भने खेलको अन्तिम २ मिनेटमा ग¥यो। दुवै गोल सुसन श्रेष्ठले गरे। सुसनले दोस्रो हाफको थपिएको ३ मिनेटको दोस्रो र तेस्रो मिनेटमा गोल गरेका हुन्। दोस्रो हाफको इन्जुरी समयमा गान्तोकका अफजल अन्सारीले क्लियर गर्न लागेको बल खोसेर सुसनले व्यक्तिगत  पहिलो र थ्री स्टारका लागि दोस्रो गोल गरे। पेनाल्टी एरियाबाट उनले प्रहार गरेको बल नियन्त्रणमा लिने विपक्षी गोलकिपरको प्रयास असफल हुँदा बलले सीधै जाली चुम्यो। लगत्तै अर्को मिनेटमा उनले व्यक्तिगत दोस्रो र थ्री स्टारका लागि तेस्रो गोल गरे।

थ्री स्टारले केही उत्कृष्ट गोल गर्ने मौका चुकाउँदा गोलअन्तर थप फराकिलो पार्ने अवसर गुमायो। थ्री स्टारले ५४औं मिनेटमा गोल गर्ने मौका चुकायो। सुसन श्रेष्ठले दिएको पासलाई अनमार्क रहेका सुशील राईले बल नियन्त्रणमा लिन नसक्दा गोल गर्ने अवसर खेर गयो। ७०औं मिनेटमा अनन्त तामाङको क्रसमा सन्जोक राईले हानेको बाइसाइकल किक फितलो हुँदा थ्री स्टारले अर्को गोल थप्ने अवसर गुमायो। ८८औं मिनेटमा वैकल्पिक खेलाडी दीपेश घलेले हानेको कडा प्रहार पोलभन्दा थोरै माथिबाट बाहिरियो।

पहिलो हाफमा कडा टक्कर दिएको गान्तोकले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्न सकेन। उसले केही अवसर खेर फाल्दा पहिलो खेलबाटै घर फर्किन बाध्य भयो। गान्तोकले ४३औं मिनेटमा गोलको खाता खोल्ने अवसर खेर फाल्यो। गान्तोकले पाएको फ्रिकिकमा डन छिरिङ लेप्चाले हानेको लोभलाग्दो प्रहार पोलभन्दा थोरै माथिबाट बाहिरियो। ६५औं मिनेटमा गान्तोकले गोल गर्ने अर्को मौका गुमायो। डन छिरिङ लेप्चाले नै हानेको फ्रिकिकमा टी लेन्डुप भुटियाको हेडर फस्ट बार हुँदै बाहिरियो। ८४औं मिनेटमा  भुटियाकै लामो कडा प्रहार विपक्षी गोलकिपर पूर्ण चेमजोङले पन्च गरेर पुनः नियन्त्रणमा  भए।

विजयी टोली थ्री स्टारका प्रशिक्षक मेघराज केसीले विपक्षीको खेल थाहा नभएकाले उसको खेल बुझ्न समय लाग्दा ढिलो गरी गोल निस्केको बताए। विपक्षी टोली बलियो नै भएकाले ७५ मिनेटसम्म कडा प्रतिस्पर्धा भएको र त्यसपछि भने आफूहरूले डोमिनेट गरेर खेल्न सकेको बताए।

पराजित गान्तोक फुटबल क्लबका प्रशिक्षक मयाल डोक लेप्चाले पहिलो गोल अफसाइड भए पनि रेफ्रीले मान्यता दिँदा पराजित हुनुपरेको आरोप लगाए। उनले पहिलो पटक नेपालमा खेल्न आएको र पराजित भए पनि कुनै गुनासो नरहेको बताए।

सोमबारको खेलमा थ्रीस्टारका लागि २ गोल गर्ने खेलाडी सुसन श्रेष्ठ म्यान अफ दी म्याच घोषित भए। प्रतियोगिताअन्तर्गत अन्तिम क्वार्टरफाइनल खेलमा मंगलबार विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी  र संकटा क्लबबीच प्रतिष्पर्धा हुने आयोजक सहारा क्लब पोखराले जनाएको छ।

प्रकाशित: २७ फाल्गुन २०७६ ०२:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App