coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

दैनिक ३० जना आउने सिजनमा दुई जना मात्रै पर्यटक

गोरखा- अहिलेको सिजन नेपालमा विदेशी पर्यटक आउने समयको रुपमा लिईन्छ। अंग्रेजी महिनाको सेप्टेम्बरदेखि डिसेम्बर र त्यसपछिको मार्चदेखि मे महिनासम्मलाई पदमार्गमा पर्यटक आउने दोस्रो मूख्य सिजन मान्छिन्। तर यो पटक सिजन सुरु हुँदा पर्यटक भने ह्वातै घटेका छन्। विश्वरभर फैलिएको कोरोना भाईरसको असर र त्रासका कारण गोरखाको मनास्लु पदमार्ग सुनसान बनेको छ।

सन् २०१९ को मार्च महिनामा नौ सय ५९ पर्यटकले उत्तरी गोरखाको मनास्लु क्षेत्रमा पदयात्रा गरेका थिए। यो वर्षको मार्च महिनाको पहिलो हप्ता मनास्लु क्षेत्र जाने विदेशी पर्यटकको संख्या २० मात्रै छ। यो अनुपातमा पर्यटक आउँदा नौ सय नाघेको गत वर्षको मार्च महिनामा यो पटक भने एक सय पुग्न मुस्किल छ। गत वर्ष फेब्रुअरी महिनामा ९८ जनाले मनास्लु घुमेका थिए भने यो वर्ष उक्त महिनामा ४८ जना मात्रै विदेशी मनास्लु पुगेको मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) ले जनाएको छ। अहिले पर्यटक आउने अनुपात २०७२ सालको भूकम्प भन्दा कम देखिन्छ। 

‘कोरोनाको प्रभावले असर त परेको छ’ एमक्याम्प गोरखाका प्रमुख नरेन्द्र लामाले भने ‘तर शहरहरुमा जस्तो सुनसान भएको छैन, पर्यटकको आउजाउ चलिरहेको छ।’ शहर केन्द्रित भएर बसेका पर्यटक पनि ग्रामीण भेगतिर जाने, स्वच्छ हावापानी भएकाले पदमार्ग तिर जाने गरेको उनी बताउँछन्। ‘मनास्लुमा मात्र होईन सबैभन्दा धेरै पर्यटक जाने अन्नपूर्ण पदमार्गमा पनि पर्यटक घटेको छ।’ यो सिजनमा अन्नपूर्ण पदमार्गमा जाने पर्यटक दैनिक चार सय हुनुपथ्र्यो। गत वर्षको अनुपातमा अहिले दैनिक एक सयदेखि अधिकतम भएको दिन दुई सय जनाले मात्रै अनुमती लिने गरेका छन्। मनास्लु पदमार्गमा फाट्ट फुट्ट मात्रै विदेशीले पर्यटन बोर्डबाट अनुमती (पर्मीट) लिएको त्यहाँका अधिकारीलाई उदृत गर्दै एमक्याप गोरखाले जनाएको छ।

‘नेपाल भित्रिएका पर्यटकले पदमार्गलाई सुरक्षित सम्झिएर आउँदा हुन्छ’ एमक्याप गोरखाका प्रमुख लामाले भने ‘विदेशबाट आउने जाने क्रम कम भएकाले प्रभाव पर्नु स्वभाविक हो तर नेपालमा भने प्रभाव नदेखिएकाले यहाँ भएका पर्यटक ढुक्कसँग पदयात्रा गरेको देखिन्छ।’ मनास्लु पदमार्गमा रहेका होटलको ब्यापार घटेको छ। होटल सिङ्ला एण्ड गेस्ट हाउस बिहीफेदीका विष्णु गुरुङ भन्छन् ‘रोगको त्रासले टुरिस्ट आएको छैन, फाट्ट फुट्ट मात्रै देखिन्छ।’ होटल ब्यवशायीको ब्यापार चलेको छैन। पर्यटक घटेपछि ब्यवसायी चिन्तित बनेका छन्। सिजनको छ महिना ब्यापार गरेर वर्षभरी गुजारा चलाउनेहरुलाई समस्या भएको छ।

अन्नपूर्ण पछिको पदमार्गको रुपमा मनास्लु पदमार्गलाई लिईन्छ। युरोपियन मुलुकका पर्यटकहरु यहाँको भौगोलीक धरातल, हिमऋङखला, हेर्न र लार्केपासका लागि आउने गर्छन। ब्यक्तीगत भन्दा पनि ग्रुपमा ट्रेकिङ आउने ठाउँको रुपमा मनास्लु पदमार्गलाई पर्यटकले लिन्छन्। फ्रान्स, जर्मन, अमेरीका, स्विजरल्याण्डका पर्यटक आउने गर्थे। गत वर्ष सात हजार पाँच सय ११ जना विदेशी पर्यटक मनास्लु पदमार्ग पुगेका थिए। सन् २०१८ मा सात हजार पाँच सय ५५ पुगे। सन् २०१५ मा दुई हजार चार सय ४१ पर्यटकले मनास्लुको भ्रमण गरे। विदेशी सँगै सयौँ नेपाली गाईड, भरियाले भ्रमण गर्दा मनास्लु क्षेत्रमा रहेको होटल ब्यवसाय राम्रोसँग चलेको थियो। यो वर्षको सुरुवातमा कोरोना भाईरसको संक्रमणले यो वर्ष पदमार्गमा जाने विदेशीको संख्या घटेपछि चौतर्फी असर परेको छ।

 

 

प्रकाशित: २६ फाल्गुन २०७६ ११:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App