६ वैशाख २०८१ बिहीबार
समाज

लेकसाइडमा होलीको रौनक आएन

पोखरा- रंगको पर्व होलीका दिन पर्यटकीय सहर लेकसाइड वर्षेनी रंगिन्थ्यो। होली मनाउनका लागि लेकसाइडका पर्यटन व्यावसायी एकजुट हुन्थे। अनि पञ्चेबाजाको तालमा रंग छ्याप्दै मुल सडकमा विदेशी पर्यटक र पोखरेली रमाउँथे। लेकसाइडमा हुने सामुहिक होलीमा मिसिन बजारका युवायुवती पनि झर्थे। सडकमा मोटरसाइकल कुदाउँदै रंगीविरंगी अनुहार बनाएर युवायुवती पर्यटकीय सहरमा पुग्थे। बिहानैदेखि सुरु हुने होलीको रमझम मध्यान्हतिर झनै चकिन्थ्यो, अनि बेलुकी अबेलासम्म पनि रमझम चलिरहन्थ्यो।

तर, यो पटक भने होलीका दिन पर्यटकीय क्षेत्र लेकसाइड सुनसान बन्यो। अघिल्ला वर्ष होलीका दिन पैदलै छिचोल्न समेत हम्मेहम्मे हुने लेकसाइड यो पटक भने पुरै खुला थियो, त्यत्तिमात्र नभई सुनसान नै बनेको थियो। पैदल र सवारीका लागि अवरोध कतै थिएन। कोरोना भाईरस त्रासले गर्दा स्थानीय प्रशासनले होली नखेल्न उर्दी जारी गरेपछि यो पटकको होलीले रंग गुमाएको थियो। मूल सडकमा होलीमा रंगीएका केही विदेशी र एकाध स्वदेशी भेटिएका बाहेक लेकसाइडमा यो पटक सामुहिक होली आयोजना नहुँदा सुनसान बनेको व्यावसायीको भनाई छ।

‘होलीको रमझम नहुँदा लेकसाइड पुरै सुनसान भयो। कोरोना भाईरस त्रासले यसैपनि सुनसान बनेको पर्यटकीय सहर लेकसाइडले यो पटक होलीको अनुभव गर्नै पाएन,’ ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघका निवर्तमान अध्यक्ष दीपकराज अधिकारीले भने, ‘लेकसाइडले यो पटक होलीको रौनकता गुमाएको छ। होलीमा रंग खेल्ने थाहा पाएका केही विदेशी आफुहरुबीच रमाईलो गरेबाहेक कुनैपनि गतिविधि नहुँदा होलीको अनुभव नै हुन पाएन।’ होटलमा बसेका पाहुनालाई रंग लगाइदिएर केही व्यावसायीले पारिवारिक रमझममा सहभागि गराएपनि बाहिरी माहोल भने सुनसान बनेको थियो। 

सोमबार मध्यान्हतिर केही विदेशीले हातमा रंग बोकेर हिडेको बाहेक अघिल्ला वर्षको जस्तो रौनकता नछाएको उनले बताए। कम संख्यामा रहेका विदेशीलाई पनि होलीमा रंग खेल्ने भन्ने थाहा नहुँदा सबैजना रम्न सकेका थिएनन्। केही व्यावसायीले होलीमा रंग खेल्ने भनेर जानाकारी दिएपछि मात्र साथीहरुबीच रमाएका भेटिन्थे। ‘यसै पनि पाहुनाको संख्या कम हुँदा लेकसाइड सुनसान बनेको थियो। त्यसमा प्रशासनले पनि होली नमनाउन निर्देशन दिएपछि त झनै सुनसान बन्यो,’ अधिकारीले भने, ‘अहिलेसम्मकै सुनसान अवस्था यो पटक अनुभव गर्नुपर्‍यो।’

रेस्टुरेन्ट एण्ड बार एशोसिएसन अफ नेपाल (रेबान) ले हरेक वर्ष लेकसाइडमा सामुहिक होलीको आयोजना गर्दथ्यो। त्यसमा पोखराका सबै व्यावासायी समेटिन्थे। ठाउँठाउँमा सांगितिक कार्यक्रम आयोजना हुँदा लेकसाइड गुञ्जायमान हुने गरेपनि यो पटक आयोजना नगरेको रेबान पदाधिकारी बताउँछन्। रेबानका पूर्व अध्यक्ष सुर्यबहादुर भूजेल सरकारले यो पटक कोरोना त्रासले गर्दा होली नमनाउन भनेपछि व्यावसायी पनि हच्केको बताउँछन्। ‘होली आए झै नै भएन,’ भूजेलले भने, ‘हजारौं पर्यटक नेपालीसँग रमाएर लेकसाइडमा होली खेल्थे। तर, यो पटक भने सबैतिर सुनसान भयो। हामीले पनि कार्यक्रम आयोजना गरेनौ।’

होलीका कारण लेकसाइड मात्र नभई पोखरा सहर नै सुनसान र शान्त बनेको थियो। पोखराका अरुतिर पनि होलीको रौनक थिएन। मुख्य सहर पनि सुनसान बनेका थिए। सबैतिर शान्त भएकोले यो पटक होलीमा हुने सडक दुर्घटना पनि रोकिएको प्रहरीको भनाई छ। कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्की कोरोना त्रासका कारण योपटक होली नमनाउँदा सबैतिर शान्त रहेको बताए।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App