६ वैशाख २०८१ बिहीबार
समाज

सुनसान होलीबीच जोगिडा सरर...

काठमाडौं- विगत वर्षहरुमा जस्तो यसपाला रंगहरुको रमाइलो पर्व, होलीको चहलपहल राजधानीमा खासै देखिएको छैन। होलीका दिन, मध्यान्हसम्ममा काठमाडौंका, बसन्तपुर, असन, ईन्द्रचोक, ठमेल जस्ता क्षेत्र मात्र होइन, हरेक सडक-गल्ली रङ, अबिर, पानी भरिएको लोला बोकेकेका युवा जमातले ठेलमठेल भईसकेका हुन्थे। तर यसपाला होली लगभग सुनसान जस्तै छ।

फाल्गुण शुक्ल पूर्णिमाका दिन ओह्रालो लाग्दो जाडो यामको बिदाइ र मौसमको राजा, वसन्तको आगमनलाई होली मनाएर स्वागत गर्ने हाम्रो प्राचिन परम्परा यसपटक विश्वव्यापी फैलिएको कोरोना भाइरसको त्रासमा कतै लुकेर बसेको छ जस्तो देखिन्छ।
नेपाल सरकारले आधिकारिक रूपमै भिडभाडबाट परै बस्नु, ठूलो भेला, सम्मेलन आयोजना नगर्नु र यसमा भाग पनि नलिनु भन्ने आसयको उर्दी जारी गरेयता होलीका अधिकांस कार्यक्रमहरु स्थगित भएका छन्। मस्तीको पर्वको आयोजन वा प्रायोजन गर्ने बियर कम्पनिहरुले रंगारङ पार्ने भृकुटीमण्डप पनि सुनसान छ।
नेपालको तराइ मधेस क्षेत्रमा काठमाडौंभन्दा पनि भव्य रुपमा होली मनाइन्छ। रङ, अबिरका साथसाथै यस क्षेत्रमा होलीको महत्व काठमाडौंको गाइजात्रा महोत्सवको जस्तो पनि छ। समसमयिक परिस्थिती माथि वा समाजका प्रमुख समस्या/पात्रहरुलाई लक्षित गरेर ढोल, डम्फ (डफ्ली)को तालमा 'जोगिडा सररर' गर्दै तुक्का मिलाएर व्यंग गरिन्छ। महामुर्ख सम्मेलनहरुको आयोजना गरिन्छ र तिनलाई ठट्यौली पाराले सम्मान पनि गरिन्छ।          
चीनको वुहानबाट उद्गम भएर भारत, अमेरिका र यूरोपसम्म फैलिएको कोरोना भाईरस र यसको संक्रमणको भयले चीनको नयाँ वर्षको सम्पूर्ण उत्सवहरुलाई मात्रै आफ्नो नकारात्मक प्रभाव क्षेत्रमा लिएन बरु संसारभरिका उत्सवहरु चपेटमा परे। होली, चीन बाहिरको पहिलो प्रमुख हिन्दू चाड कोरोनाको शिकार भएर गुमनाम भएको छ, यस वर्ष।
द्वापर यूगमा प्रथम होली खेलिएको मानिएको श्रीकृष्णको जन्मस्थल उत्तर प्रदेश राज्यको मथुरा शहर मात्र होइन, भारतकै प्रधानमन्त्री नरेन्द्र मोदीले भिडभाडबाट जोगिने प्रतीकका रुपमा आफू यसपाला होली नमनाउने घोषणा गरे। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेथन्याहुले आम संसर्गबाट रक्षा  गर्ने उत्तम उपाय रूपमा अरुलाई सम्वोधन गर्दा हात नमिलाउने, अंकमाल नगर्ने बरु नमस्ते गर्ने बानी बसाल्न आह्वान गरे।
होली भनेकै एकार्कासँग अत्यन्तै निकट भएर खुसी र आत्मियता आदान प्रदान गर्ने महान परम्पराको प्रतीक हो। तर उपचारै पत्तो नलागिसकेको  महामारीबाट बच्न र बचाउन यसपाला होलीको रंग अलिकता फिका भयो भनेर चित्त नै दुखाउनु पर्ने समय भने यो होइन। रमाइलो भनेको ज्यान रहे न गर्ने हो, ज्यानै नरहे?
त्यसैले, इन्टरनेटकै माध्यमबाट यसपालाको होलीको जोगिडा पस्कदै सबैमा शुभकामना:
प्रश्न:
कस्ले खायो लाख, करोड,
भन, कस्ले खायो अर्ब?
वर्षभरिको हुड्दङ मच्चाउने,
भन, कस्ले खायो होली पर्व?
जोगिडा सररर! जोगिडा सररर!!  
उत्तर:
सुब्बा, खरदारले खाए लाख, करोड।
अनि गोकुलले खाए अर्ब।
रंगको उत्सव फिका भैदियो।
कोरोनाले खाइदियो होली पर्व।
जोगिडा सररर! जोगिडा सररर!!      

 

प्रकाशित: २६ फाल्गुन २०७६ ०७:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App