७ वैशाख २०८१ शुक्रबार
समाज

होलीमा कोरोना भाइरसको त्रास, पारिवारिक भेटघाटको अवसर

काठमाडौं – बालाजु, माछापोखरीका २२ वर्षीय केशबराज गौतम गत वर्षको होली धुमधामले मनाए। होली खेल्न १० जनाको समूह बनाएर माछापोखरीबाट नयाँ बसपार्क, ठमेल, हनुमान ढोका हुँदै टुडिँखेल पुगेका उनी गत वर्षको होली जीवनकै रणीय भएको बताउँछन्। यस वर्ष विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को त्रासले उनी होली नखेल्ने योजनामा रहेको बताउँछन्। ‘पोहोरको होलीमा रंग दलियो, घुमियो अन्य वर्षभन्दा विशेष ढंगबाट मनाइयो,’ गौतम भन्छन्, ‘होली हाम्रो एउटा खुसीको पर्व हो, तर यसवर्ष कोरोनाका कारण भिडभाडमा नजानु, होली नखेल्नु भन्ने सरकारको आग्रह छ, सधैं होली खेलेको होली नखेल्दा केही खल्लो त लाग्छ नै, तर पनि होलीभन्दा महत्वपूर्ण स्वास्थ भएकाले यसवर्ष होली नखेल्ने योजनामा छु।’

हिन्दूहरूको पर्व होलीलाई फाल्गुपूर्णिमा, फागु पर्व, रंगिन पर्व र हर्षोउल्लासको पर्वका रूपमा लिइन्छ। होलीमा विशेषगरी रंग दल्ने, लोला हान्ने, रंगको पानी पिचकारीमा राखेर छ्याप्ने गरिन्छ। परम्परादेखि प्रत्येक वर्ष फागु पूर्णिमाको दिन मनाउँदै आएको होली यस वर्ष सरकारले नमनाउन आग्रह गरेको छ। बढ्दै गएको कोरोना भाइरसका कारण सरकारले होलीका अवसरमा विशेष कार्यक्रम गर्न आग्रह गरे पनि सर्वसाधारणले भने अबिर मात्रै लगाएर होली मनाउँदा खल्लो लाग्ने बताए।

समाजशास्त्री डाक्टर दिलिपकुमार मल्लले खुसी र विजयीको पर्वका रूपमा लिइने होलीमा पानीले छ्याप्ने कामले समाजमा विकृति ल्याउने बताउँछन्। होली मनाउनु हिन्दु धर्मालम्बीहरूको संस्कार र परम्परागत संस्कृति भएकाले यसलाई संरक्षण गर्नुपर्ने बताउँदै उनले होलीमा पानी र पिचकिरीको प्रयोग नगरी सप्तरंगी टिका लगाएर, आर्शिवाद लिएर मनाउन आग्रह गरे। कोरोना भाइरसको त्रास बढीरहेको समयमा पानीले छ्याप्दा संक्रमणको जोखिम हुने उनको भनाइ छ।

‘होलीको समयमा भइरहेको कोरोना भाइरसको त्रासलाई हामीले अवसरको रूपमा लिनुपर्छ, सधैं बाहिर खेलिने होली अहिले घरपरिवार र आफन्तजनसँगै मिलेर खेल्न पाउनु हाम्रो लागि ठूलो अवसर हो,’ डाक्टर मल्ल भन्छन्, ‘सामूहिक रूपमा भेला भएर खेल्नु मात्र होली होइन, होली त घरपरिवारसँग मिलेर, टिका लगाएर परिवारका सदस्यसँग खुसी साटासाट गरेर पनि मनाउन सकिन्छ।’ भिडभाड र ठूलो जमघट नगरेर घरपरिवारसँगै बसेर होली मनाउँदा कोरोनाको डर पनि त्यति नहुने भएकाले पानी र पिचकारीको प्रयोग नगरी रंग मात्रै लगाएर पारिवारिक रूपमा सामान्य तरिकाले होली मनाउन उनले सुझाए।

हिन्दुधर्म शास्त्रअनुसार त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र भक्तप्रह्लादलाई मार्ने उद्धेश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाएका थिए। आगोमा बसेपछि होलिकाले भगवानको नाम जप्न थालेपछि होलीका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथालाई यस पर्वसँगै जोडेर प्रत्येक वर्ष फागुन शुल्कपूर्णिमाका दिन होली पर्वलाई खुसी, हर्षोल्लास, रंग र विजयीको पर्वको रूपमा मनाउँदै आइएको छ।

कलाकारको होली
नायिका रेखा थापाले यसपालि पारिवारिक माहोलमा सामान्य तरिकाले होली मनाउने बताइन्। कोरोना भाइरसको त्रास बढेकाले हामी सबै सजग भएर होली पर्व मनाउनुपर्ने उनको भनाइ छ। होली आफूलाई सानैदेखि मन पर्ने बताउँदै उनले यसपालि विगतमा जस्तो रमाइलो गर्ने अवस्था नभएकाले घरमै बसेर मनाउने योजना रहेको उनी सुनाउँछिन्। ‘कोरोना भाइरस त्रास मात्रै त विकट जिल्लातिर सिटामोल पाउन छाडिसक्यो, यसमा हामी नेपाली नै सचेत हुन आवश्यक देखिन्छ,’ नायिका थापाले भनिन्, ‘यस्तो अवस्थालाई हेरेर हामी परिवारसँगै बसेर होली मनाउन सक्छौ, सधैं साथीभाईसँग बसेर मनाउने होली यसपाली पारिवारिक माहोलमा मनाउन पाउनु कोरोना भाइरसको त्रासले हामीले दिएको एउटा सुनौलो अवसर हो।’

अर्की नायिका निता ढुङ्गानाले कोरोनाको त्रास र आफू बिरामी भएकाले यसपाली होली नखेल्ने बताइन्। अहिले नेपालको अवस्था नै कोरोना भाइरसका कारण त्रासपूर्ण भएकाले यस वर्ष होली नखेल्दा खल्लो नलाग्ने उनले बताइन्। प्रगतिशिल नाटककार किशोर अनुरागले गत वर्ष हर्षोउल्लासका साथ होली मनाए पनि यस वर्ष कोरोनाका कारण कुनै पनि कार्यक्रममा सहभागिता नहुने बताए।

प्रकाशित: २६ फाल्गुन २०७६ ०५:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App