७ वैशाख २०८१ शुक्रबार
शिक्षा

जोखिमयुक्त भवनमा राखेर पढाइँदै

रसुवा – २०७२ वैशाख १२ गते आएको भूकम्पले रसुवाको उत्तरगया गाउँपालिका–१ मा रहेको तिरुगाउँ वरिपरि पहिरो गयो। तिरुमा रहेका सबै घर पूर्ण रूपमा क्षतिग्रस्त भए। धेरै मान्छेको ज्यान गयो। गाउँको मुनिबाट ठूलो पहिरो गएपछि स्थानीयले गाउँ छाडे। गाउँले नभएपछि त्यहाँ भएको विद्यालय पनि विस्थापित भयो। पढ्ने उमेरका बालबालिका यताउता छरिएर पढ्न थाले। कतिले पढाइ छाडे। भौगर्भिक अध्ययन टोलीले गरेको पहिलो अध्ययनबाट जोखिमयुक्त बस्तीको सूचीमा तिरु प-यो। पछिल्लो अध्ययनले गाउँ सुरक्षित भएको प्रतिवेदन आयो। त्यसपछि गाउँले फर्कन थाले। गाउँले फर्किएपछि तिरु आधारभूत विद्यालय पनि फर्कियो।

तत्कालका लागि अध्ययन गर्न अस्थायी सिकाइ केन्द्र (टिएलसी) को स्थापना गरियो। यसमा दुईवटा कोठा छन्। कक्षा ३ सम्म पढाइ हुने विद्यालयमा कक्षाकोठाको अभाव भएपछि पुरानो भवनलाई सामान्य मर्मत गरेर सञ्चालनमा ल्याइएको छ। कक्षाकोठाको अभावले जोखिमपूर्ण भवनबाटै पढाइ गर्न परेको विद्यालयका प्रधानाध्यापक गणेश यादवले बताए। ‘आवश्यक कक्षाकोठा बनेको छैन,’ उनले भने, ‘त्यसकारण जोखिमयुक्त भवनबाटै अध्यापन गराउनुपर्ने बाध्यता छ।’

यो विद्यालयमा अहिले ३६ विद्यार्थी अध्ययनरत छन्, दुई शिक्षक कार्यरत छन्। यो विद्यालयमा कक्षा ३ सम्म पढाइ हुन्छ। गाउँका मान्छे अझै फर्किएका छैनन्। जसका कारण विद्यार्थीको संख्या न्यून भएको हो। ‘सुरुमा विद्यार्थी थोरैथोरै थिए,’ उनले भने, ‘अहिले बिस्तारै बढ्न थालेको छ।’ भूकम्पका कारण विस्थापित भएको यो विद्यालय २०७५ वैशाखदेखि पुनः सञ्चालनमा ल्याइएको हो।

‘एकजना शिक्षक हुँदा टिएलसीमा राखेर पढाउने गरिएको छ,’ उनले भने, ‘अरू समयमा सामान्य मर्मत गरिएको भवनमा राखेर पढाउँछौं।’ बहुकक्षा शिक्षण गर्दा विद्यार्थीले नबुझ्ने समस्या आउने विद्यालयले जनाएको छ। ‘दुवै कक्षा एकैचोटि लिँदा कम बुझ्ने हुन्छ,’ उनले भने, ‘कक्षा शिक्षण गर्दा विद्यार्थीले राम्रोसँग बुझ्छन्।’ यो विद्यालय २०४४ सालमा स्थापना भएको हो। यो गाउँ अहिले एकीकृत बस्ती बन्ने चरणमा छ। यसका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिएको छ। यहाँ करिब एक सय २५ परिवार राख्ने तयारी छ।

प्रकाशित: २६ फाल्गुन २०७६ ०४:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App