८ वैशाख २०८१ शनिबार
समाज

चार स्थानीय तहमा अस्पताल बनाइँदै

महावु गाउँपालिकाको मुकाम गैंडाबाज। तस्बिर: गोविन्द/नागरिक

दैलेख – दैलेखका चार स्थानीय तहमा १५ शड्ढया क्षमताको अस्पताल सञ्चालन गरिने भएको छ। चालू आर्थिक वर्षभित्र सञ्चालन गर्नेगरी स्थानीय तहहरूले अस्पताल निर्माणसम्बन्धी काम धमाधम अघि बढाएका छन्।

दैलेखको महावु गाउँपालिका, चामुण्डा–विन्द्रासैनी नगरपालिका, भगवतीमाई गाउँपालिका र भैरवी गाउँपालिकामा अस्पताल निर्माणका लागि स्वीकृत भएका हुन्। स्वास्थ्य मन्त्रालयमार्फत मन्त्रिपरिषद्को निर्णयबाट दैलेखका चार स्थानीय तहमा अस्पताल सञ्चालनका लागि स्वीकृति प्राप्त भएको जनाइएको छ। गाउँपालिकाको ६७ लाख र कर्णाली प्रदेश सरकारको एक करोड लागतमा अस्पतालका लागि पूर्वाधार निर्माणको कार्य भइरहेको भगवतीमाई गाउँपालिका अध्यक्ष दानबहादुर थापाले बताए।

‘गाउँमै डाक्टरी सेवा दिनका लागि अस्पताल निर्माणको काम धमाधम भइरहेको छ,’ अध्यक्ष थापाले भने, ‘स्थानीय सरकारको अनुभूति जनतालाई गाउँमै सेवा–सुविधा दिएर गराउने प्रयास गरिरहेका छौं।’ सामान्य बिरामी हुँदा पनि सदरमुकाम वा सुर्खेतसम्म जानुपर्ने बाध्यता अस्पताल निर्माणपछि हट्ने स्थानीय जनक अधिकारीले बताए।

दैलेखका नौमुले तथा टाँठीकाँध प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टरहरू आंशिक रूपमा बसेर सेवा दिने गरेका थिए तर अहिले ती स्वास्थ्य केन्द्र डाक्टरविहीन छन्।

महावु गाउँपालिकामा अस्पताल निर्माणका लागि सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ। गत वर्षदेखि नै अस्पताल निर्माणको काम थालिएको थियो। विकट गाउँबस्ती धेरै भएको यो ठाउँबाट सदरमुकाम टाढा भएकाले अस्पताल निर्माण अपरिहार्य भएकाले गाउँपालिकाका अध्यक्ष जंगबहादुर शाहीले बताए। ‘गाउँपालिकाले जनताको स्वास्थ्यप्रति जिम्मेबार भएर काम गरिरहेको छ,’ अध्यक्ष शाहीले भने, ‘सुलभ स्वास्थ्य सेवाका लागि गाउँपालिका जनताप्रति उत्तरदायित्व छ।’ महावु गाउँपालिकाले गत वर्ष नै एक करोड रुपैयाँ विनियोजन गरेको छ। गाउँपालिकाले कार्यविधिमार्फत आवश्यक स्वास्थ्य जनशक्ति व्यवस्थापन तथा आवश्यक औषधिसहित औजार खरिद गरेर अस्पताल सञ्चालन गरिने अध्यक्ष जंगबहादुर शाहीले बताए।

त्यस्तै, भैरवी गाउँपालिकाले पनि अस्पताल निर्माणका लागि भौतिक निर्माणलगायत कार्यहरू थालनी गर्ने कार्ययोजना बनाएको छ। गाउँपालिकाले कालिकोटदेखि आउने बिरामीहरूलाई समेत लक्षित गरी अस्पताल बनाउन लागेको हो। एम्बुलेन्सलगायत साधनहरू गाउँपालिकाले किनिसकेको छ। चिकिच्त्सक सेवासहित अस्पताल सञ्चालनका लागि कार्यविधि निर्माण गर्ने भैरवी गाउँपालिकाको योजना छ। लामो समयदेखि अस्पतालका लागि गरिएको प्रतिक्षा अब समाप्त हुने चामुण्डा–विन्द्रासैनी नगरपालिकाका नगरप्रमुख सूर्यबहादुर शाहीले बताए।

गरिब, विपन्न समुदायका जनताहरू अस्पताल बनेसँगै बढी प्रभावित हुने नगरप्रमुख शाहीले बताए। अहिले जिल्ला अस्पताल र दुल्लु अस्पताल सञ्चालनमा रहेका छन्। नौमुले तथा टाँठीकाँध प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टरहरू आंशिक रूपमा बसेर सेवा दिने गरेका थिए। तर अहिले ती स्वास्थ्य केन्द्र डाक्टरविहीन छन्। स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख डाक्टर निरन्जन पन्तका अनुसार जिल्लामै डाक्टरको संख्या कम भएकाले प्राथमिक स्वास्थ्य केन्द्रका लागि डाक्टरहरू अपुग भएको हो।

प्रकाशित: २६ फाल्गुन २०७६ ०२:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App