७ वैशाख २०८१ शुक्रबार
कला

बिन्दा पाण्डेको पुस्तक बजारमा

काठमाडौं – अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सांसद बिन्दा पाण्डेको नयाँ पुस्तक बजारमा आइपुगेको छ। आइतबार फाइनप्रिन्टले प्रेस विज्ञप्तिमार्फत कोरोना भाइरसको संक्रमणको कारण विमोचनविना सांसद बिन्दा पाण्डेको ‘समानताका पाइलाहरू’ बजारमा आएको जानकारी गराएको थियो।

काठमाडौं विश्वविद्यालयको शिक्षा संकायबाट ‘वुमन इम्पावरमेन्ट इन पोलिटिक्स’ विषयमा विद्यावारिधि गरेकी सांसद पाण्डेको पुस्तक ‘समानताका पाइलाहरू’ मा राजनीतिक आन्दोलनको महिलावादी विश्लेषण समावेश भएको छ।

‘महिला अधिकारकर्मी, राजनीतिज्ञ, बौद्धिक समुदायहरूलाई आमन्त्रित गरेर पुस्तकमाथि बहस गरी पुस्तकको विमोचन गर्ने सोच बनाएका थियौं। कोरोना भाइरसको संक्रमणका कारण पुस्तकलाई विमोचन नगरिकन अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर बजारमा पठाउने निर्णय गरेका हौ,’ लेखक पाण्डेले भनिन्, ‘मैले राजनीतिलाई परिवर्तनको साधन मानें। महिलाहरूलाई त्यसको अभिन्न अंगका रूपमा अनुभूत गरें। नेपाली राजनीतिमा महिला सशक्तीकरणको प्रकृति र प्रक्रियालाई महिलावादी दृष्टिकोणबाट हेर्ने जमर्को गरें। शताब्दी पार गरेको नेपाली महिला आन्दोलनको उकाली–ओराली विश्लेषण गर्दै महिला समानता प्राप्तिका विषयसँग जोडिएका अवरोध हटाउने उपाय खोज्ने प्रयत्न गरें। त्यसैको अभिलेख हो, समानताका पाइलाहरू।’

उनले कोरोना भाइरसको संक्रमणका कारण ठूला भेला गर्न अनुपयुक्त भएकाले पुस्तकलाई विमोचन नगरिकन अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर बजारमा पठाउने निर्णय गरेको जानकारी गराइन्। हाल जिफन्ट ट्रेड युनियन पोलिसी इन्स्टिच्युटकी अध्यक्ष र विसं. २०६५ मा नेकपा (एमाले) को केन्द्रीय सदस्य रहेकी लेखक पाण्डे विसं.२०७१ सालबाट पोलिटब्युरो सदस्य हुँदै हाल नेकपाको केन्द्रीय सदस्यको जिम्मेवारीमा छिन्। विसं. २०५८ सालमा राष्ट्रिय महिला आयोगको संस्थापक सदस्य र विसं. २०६४ सालको पहिलो संविधान सभामा मौलिक अधिकार तथा निर्देशक सिद्धान्त समितिको अध्यक्ष रहेकी उनी संघीय संसदन्तर्गत प्रतिनिधिसभा सदस्य छिन्।

पुस्तकबारे टिप्पणी गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भनेका छन्, ‘अभियन्ता र प्राज्ञिक दुवै भूमिकामा रहेकी सांसद पाण्डेले लेखेको यो पुस्तकमा नेपाली राजनीतिमा महिला सहभागिता, लैगिंक समानताका सिद्धान्तको विवेचना र आन्दोलनको आलोचनात्मक समीक्षा गरिएको छ। आन्दोलनबाट प्राप्त उपलब्धिको चर्चा गरिएको छ। असंगतिका विषयमा लेखकले आफू सम्बद्ध पार्टीलाई पनि बाँकी छाडेकी छैनन्। तसर्थ पुस्तक यथार्थपरक छ।’

प्रकाशित: २६ फाल्गुन २०७६ ०१:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App