८ वैशाख २०८१ शनिबार
अर्थ

नक्कली प्रतिवेदनको आधारमा नगरपालिकाद्वारा रकम भुक्तानी गरेको खुलासा

डोल्पा- डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाले कामै नभएर नक्कली योजना अनुगमन प्रतिवेदनको आधारमा एक योजनामा रकम भुक्तानी गरेको रहस्य बाहिरिएको छ। पर्यटन पूर्वाधार विकास कार्यक्रमको आर्थिक वर्ष ०७५/०७६ को स्वीकृत कार्यक्रम अन्तर्रगत त्रिपुरासुन्दरी नगरपालिका–१ मा पर्ने त्रिपुरासुन्दरी मन्दिरदेखि कुमारीकोट बगर हुँदै फोक्सुण्डो प्रवेशद्वार सुलगाड जाने पदमार्ग निर्माणको नाममा नेपाल पर्यटन वोर्डले उपलब्ध गराएको दश लाख रुपैयाँ कामै नभएको अवस्थामा पनि नक्कली अनुगमन प्रतिवेदनको आधारमा उपभोक्तालाई भुक्तानी गरिएको पाइएको हो।

पदमार्ग निर्माण उपभोक्ता समितिसँगको मिलोमतोमा वडा २ का सबओभरसियर जंगबहादुर थापाले तयार पारेको अन्तिम कार्यसम्पन्न प्रतिवेदनको आधारमा तत्कालिन निमित्त कार्यकारी प्रमुख हिराचन्द्र धरलाले कामै नभएको योजनामा रकम भुक्तानी दिएको पाइएको हो। कामै नभएको योजनामा ठूलो रकम भुक्तानी दिएको कुरा बजारमा चर्चापरिचर्चा हुन थालेपछि यसको चौतर्फी आलोचना हुन थालेको छ।

योजना अनुगमन संयोजक तथा उपमेयर समेत रहेकी चन्द्रकुमारी बुढाले उपभोक्ता समितिले आफ्नो किर्ते दस्तखत गरेर आफू नभएको अवस्थामा निमित्त कार्यकारी हिराचन्द्र धरलासंग मिलेर रकम भुक्तानी लिएको भनि फागुन २० गते नगरप्रमुखलाई निवेदन लेखेर कारबाहीको लागि माग गरेपछि कामै नभएको योजनामा पनि रकम भुक्तानी भएको रहस्य बाहिरिएको हो। कामै नगरेर दशौ लाख रकम नगरपालिकाले भुुक्तानी दिएको यो प्रतिनिधिमुलक योजना मात्र हो।

त्रिपुरासुन्दरी नगरपालिकाका उपमेयर चन्द्रकुमारी बुढाले आफू पर्यटन बोर्डको योजना अनुगमनमा नगएको बताइन्। उनले भनिन् मैले बारम्बार निमित्त कार्यकारी हिराचन्द्र धरलालाई काम भएको छैन रकम भुक्तानी नदिनुहोस भनेको हु। तर म नै नभएको अवस्थामा मेरो किर्ते दस्तखत गरि अन्तिम रकम भुक्तानीको लागि अनुगमन प्रतिवेदन तयार पारेर रकम लिइएको पाउँदा तिनछक परेको उपमेयर बुढाले नागरिकलाई बताइन्। नेपाल पर्यटन बोर्डबाट भित्रिएको पर्यटन पदमार्ग तथा नगरपालिकाका केहि नितिगत निर्णयहरुमा समेत मेयर उपमेयरलाई समेत जानकारी नदिई  छलछाम गरेर तत्तकालिन निमित्त कार्यकारी हिराचन्द्र धरलाले केन्द्रस्तरसम्म निर्णय गरेर पठाइएकोे पाइएपछि फागुन २३ गते कार्यपालिकाको बिशेष बैठक बसेर निमित्त कार्यकारी प्रमुख हिराचन्द्र धरला र पर्यटन पदमार्ग निर्माणमा भुक्तानी गरिएको भनिएको योजनामा छानवीन गरि कारवाहीको लागि सिफारिस गर्ने निर्णय गरेको मेयर ओमबहादुर बुढाले बताए।

त्रिपुरासुन्दरी मन्दिरदेखि कुमारीकोटबगर हुदै फोक्सुण्डो जाने सुलिगाडसम्मको पर्यटन पदमार्ग निर्माण उपभोक्ता समितिका अध्यक्ष खिमबहादुर बुढाले योजनामा काम नभएको स्वीकार गरे। उनले भने म काम बिशेषले जिल्लाबाहिर रहे समितिका अन्य सदस्य र गाउँलेलाई काम गर्नु भनेको थिए। तर गरेका रहेनछन् म फर्केर आउदा आर्थिक मसान्त सकिन लागेकाले प्रकृया मिलाएर रकम भुक्तानी लिएको हो। योजना अनुगमन समितिका संयोजक तथा उपमेयरको दस्तखत किर्ते गरेको होइन दस्तखत उहाँकै हो सबैको सल्लाहामा फ्रिज जान नदिनको लागि उपभोक्ताको खातामा मात्र रकम हालिएको अध्यक्षले बुढाले बताए।

अहिले काम सुरु भइरहेकाले कार्यसम्पन्न भएपछि संचारकर्मी र योजना अनुगमन संयोजक समेत रहेका उपमेयरकै रोहवरमा रकम कामदारलाई भुक्तानी गरिने पनि उपभोक्ता समिति अध्यक्ष बुढाको भनाई छ। तत्कालिन निमित्त कार्यकारी प्रमुख हिराचन्द्र धरलाले उपभोक्तासंग मिलेर कमिसन खाएर रकम भुक्तानी दिएको भन्ने आरोप निराधार रहेको बताए। उनले भने मैले एक रुपैयाँ त के चियासम्म खाएको छैन। प्राविधिकको अन्तिम कार्यसम्पन्न रिर्पोट योजना शाखाको टिप्पण्ी लगायतका डकुमेन्टको आधारमा भुक्तानीको लागि लेखालाई सिफारिस गरेको र पछि बुझ्दै जाँदा काम नभएको थाहा पाएपछि खाता रोक्का गरिएको बताए।

कामै नभएको योजनामा त्रिपुरासुन्दरी नगरपालिका योजना शाखा प्रमुख हेमन्त बोहराले उठाएको टिप्पणी र निमित्त कार्यकारी प्रमुख हिराचन्द्र धरलाले भुक्तानीको लागि गरेको सिफारिस आदेशमा २०७६ बैशाख २८ मा काम सुरु गरेर २०७६ असार १९ मा कार्य सम्पन्न गरेको उल्लेख छ। यसैबीच नेकपा सम्बद्य शिक्षक संगठनका प्रतिनिधि र गैह्र सरकारी संस्थाका प्रतिनिधिले समेत समाचार सम्प्रेषण नगर्न सञ्चारकर्मीलाई दबाव दिँदै आएका छन्।



 

 

प्रकाशित: २५ फाल्गुन २०७६ १३:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App