coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

१५ सय मेगावाटका आयोजना प्रभावित

काठमाडाैँ - विश्वव्यापी रूपमा फैलिएको नोवेल कोरोना भाइरस संक्रमणले नेपालका निर्माणाधीन जलविद्युत् आयोजना एक वर्ष पछि धकेलिने भएका छन्। सरकारले चालु आर्थिक वर्षभित्र सरकारी तथा निजी क्षेत्रबाट निर्माणाधीन आयोजनाबाट हजार मेगावाटभन्दा धेरै बिजुली उत्पादन हुने प्रक्षेपण गरेको थियो।

तर विकास, निर्माणको मुख्य सिजनमै कोरोना भाइरसको महामारी फैलिएपछि सरकारले तोकेको लक्ष्य अनुसार बिजुली उत्पादन हुनेमा आशंका उब्जिएको छ। नेपालमा मुख्य गरी मंसिरदेखि असारसम्म निर्माण सिजन हो। मुलुकका अधिकांश जलविद्युत् आयोजनामा चिनियाँ कम्पनी र कामदार प्रत्यक्ष, अप्रत्यक्ष रूपमा जोडिएकोले जलविद्युत् क्षेत्रमा ठूलो असर पर्ने देखिएको हो। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इपान) का अध्यक्ष शैलेन्द्र गुरागाईंले कोरोना भाइरसकै कारण निर्माणाधीन १५ सय मेगावाटका जलविद्युत् आयोजना प्रत्यक्ष, अप्रत्यक्ष रूपमा प्रभावित भएको बताए। ‘जलविद्युत् आयोजनामा चिनियाँ कम्पनीहरू प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा धेरै जोडिएका छन्। त्यसैले नेपालको जलविद्युत् क्षेत्रमा कोरोना भाइरसको प्रभाव देखिएको छ,’ उनले भने, ‘कोरोना भाइरसकै कारण यहाँका दुई दर्जनभन्दा धेरै आयोजना प्रभावित भएका छन्।’

उनका अनुसार प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा ६५ वटा जलविद्युत् आयोजनामा चिनियाँ कम्पनी जोडिएका छन्। त्यसैले कोरोना भाइरसले जलविद्युत् क्षेत्रमा ठूलो असर पारेको छ। यसकै कारण दोलखा र रामेछापको सीमानामा निर्माणाधीन ४८.८ मेगावाटको खिम्ती–२ तथा रसुवाको लाङटाङमा निर्माणाधीन २० मेगावाटको लाङटाङखोला हाइड्रोपावरको काम रोकिएको छ। चिलिमे जलविद्युत् कम्पनी मातहत निर्माणाधीन १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाको सिभिल र हाइड्रोमेकानिलको जिम्मा पाएको सिडब्लुईले पनि अहिले काम गर्न पाइरहेको छैन। यो आयोजना पनि लम्बिने निश्चित जस्तै छ। खिम्ती–२ र लाङटाङखोलाका चिनियाँ कामदार गत जनवरी २३ मा चिनियाँ नयाँ वर्ष मनाउन स्वदेश फर्केका थिए। सोही बीचमा चीनमा कोरोना भाइरस महामारीकै रूपमा फैलिएपछि उनीहरू नेपाल आउन पाएका छैनन्।

खिम्ती–२ पिपुल्स इनर्जी लिमिटेड र लाङटाङ मल्टी इनर्जी डेभलपमेन्ट प्रालिले निर्माण गरिरहेको छ। दुवै आयोजना निर्माणको ठेक्का चिनियाँ कम्पनी चोङचिङ वाटर टर्बाइन वक्र्स (सिडब्लुटिडब्लु) ले लिएको थियो। पिपुल्स इनर्जी लिमिटेडका महाप्रबन्धक जनार्दन अर्यालले चीनमा कोरोना भाइरसको संक्रमण फैलिएसँगै नयाँ वर्ष मनाउन गएका कामदार नफर्किएपछि काम ठप्प भएको बताए। ‘कामदार आउन पाएनन्, त्यसैले आयोजनाको काम ठप्प भएको हो,’ जनरल म्यानेजर अर्यालले भने, ‘सुपरभाइजर तहभन्दा माथिका सम्पूर्ण कामको जिम्मेवारी चिनियाँलाई भएकाले पनि निर्माण कार्य ठप्प भएको हो।’ आयोजनाको मुख्य कामदार पनि चिनियाँ रहेको उनले बताए। मुख्य कामको जिम्मवारी बोकेका चिनियाँ कामदार नभएपछि नेपाली मात्रै भएर काम अघि बढ्ने अवस्था छैन। गत जनवरी २३ मा चिनियाँ कामदार नयाँ वर्ष मनाउन स्वदेश गएका थिए।

इपानका अध्यक्ष गुरागाईंले नेपालको जलविद्युत् क्षेत्रमा चिनियाँ कम्पनीले उत्पादन गरेका विद्युतीय उपकरण, स्पेयर पार्टस, कामदार, इन्जिनियर, परामर्शदाता कम्पनी, तथा निर्माण कम्पनी लगायत जोडिएकाले पनि आयोजनामा प्रभाव परेको हो। ‘मान्छेको जीवनभन्दा ठूलो आयोजना हुन सक्दैन,’ उनले भने, ‘हामीले चिनियाँ कम्पनीका प्रतिनिधिलाई स्वास्थ्यलाभको कामना गर्दै आइरहेका छौं। ज्यान रहे अर्काे वर्ष पनि आयोजना निर्माण गर्न सकिन्छ।’ अध्यक्ष गुरागाईंले कोरोना भाइरसप्रभावित आयोजनालाई सरकारले स्वतः म्याद थप गरिदिने, अनुमतिपत्रको म्याद थप गरिदिने लगायत काम गर्नुपर्ने बताए। ‘निजी क्षेत्र पनि सरसहयोग गर्न तयार छ,’ उनले भने,‘ विपतको घडीमा सबैलाई सहयोग गर्नु जरुरी छ।’

मेलम्ची अप्रभावित
मेलम्ची खानेपानी आयोजनाको सुरुङ र हेडवक्र्सको ठेक्का चिनियाँ कम्पनी सिनोहाइड्रोले पाएको थियो। मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक तिरेसप्रसाद खत्रीले कोरोना भाइरसको कारण मेलम्ची आयोजनाको काममा खासै प्रभाव नपरेको दाबी गरे। ‘मेलम्ची आयोजनामा काम गर्ने ११ जना चिनियाँ कामदार गएका थिए,’ उनले भने, ‘उनीहरू अझै फर्किन पाएका छैनन्।’ ती ११ जनामध्ये चारजना मुख्य जिम्मेवारीमा थिए। आयोजना प्रमुख खत्री हाल ४७ जना चिनियाँ कामदारले मेलम्ची आयोजनाको काम गरिरहेको बताउँछन्। ‘अहिलेसम्म कोरोना भाइरसको कारण आयोजनाको काममा कुनै प्रभाव पारेको छैन,’ उनले भने, ‘पहिलाकै गतिमा भइरहेको छ।’

विमानस्थल र सडकमा पनि असर
चिनियाँ कम्पनी ठेकेदार रहेका निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल र सडकका आयोजना पनि प्रभावित भएका छन्। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, बुटबल–नारायणगढ सडक स्तरोन्नति आयोजना र स्याफ्रुबेसी–रसुवागढी सडक आयोजनामा चिनियाँ ठेकेदार संलग्न छन्। सडक विभागका उपमहानिर्देशक शिवहरि सापकोटाले चिनियाँ कम्पनी प्रत्यक्ष संलग्न पूर्वाधार योजनामा असर देखिन थालेका बताए। सडक विभाग मातहतका बुटबल–नारायणगढ एक सय १३ किलोमिटर सडक स्तरोन्नति आयोजना र स्याफ्रुबेसी रसुवागढी सडक आयोजनामा प्रभावित भएका छन्।

विभाग अन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालयले बुटबल–नारायणगढ सडकलाई नारायणगढ–दाउन्ने ६५ किलोमिटर र दाउन्ने–बुटबल ४८ किलोमिटर गरी दुई खण्डमा छुट्ट्याएर ठेक्का लगाएको थियो। दुवै खण्डको ठेक्का चिनियाँ कम्पनी चाइना स्टेट कन्सट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले पाएको थियो। यी दुवै खण्डको ठेक्का करिब २१ अर्ब रूपैयाँको हो। निर्देशनालय र कर्पोरेसनबीच पुस १ गते सडक ठेक्का सम्झौता भएको थियो। सम्झौताअनुसार ४२ महिनाभित्रै निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ। उपमहानिर्देशक सापकोटाले कोरोना भाइरसको संक्रमण लामो समयसम्म रहिरहे नेपालका पूर्वाधार आयोजना समेत प्रभावित हुने बताए। ‘भाइरस संक्रमण लामो समयसम्म रहेको खण्डमा धेरै असर पर्ने देखिन्छ,’ उनले भने, ‘नेपालका अधिकांश सडक र पुल निर्माणको ठेक्का स्वदेशी निर्माण व्यवसायीले गरिरहेकाले धेरै असर देखिएको छैन।’

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले नोवेल कोरोना भाइरस संक्रमणको असर नेपालको निर्माण क्षेत्रमा केही समयपछि देखिने दाबी गरे। ‘सुरुआती चरणमा कोरोनाको असर चिनियाँ कम्पनीले निर्माण गरिरहेका जलविद्युत् र विमानस्थलमा देखिएको छ, अन्य पूर्वाधार क्षेत्रमा क्रमशः देखिन थाल्नेछ।’ अध्यक्ष सिंहले पनि अधिकांश पुल र सडक स्वदेशी व्यवसायीले निर्माण गरिरहेकाले तत्कालै असर नदेखिएको बताए। ‘नेपालका निर्माण व्यवसायीले चीन र अन्य मुलुकबाट निर्माण उपकरण र सामग्री आयात गर्ने भएकोले अबको केही समयपछि असर देखिन थाल्नेछ,’ उनले भने।

प्रकाशित: २५ फाल्गुन २०७६ ०४:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App