coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

टाइब्रेकरबाट एपिएफ फाइनलमा

झापा- सशस्त्र प्रहरीको एपिएफ क्लबले बिहीबार आयोजक काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई टाइब्रेकरमा ५–४ ले पराजित गर्दै मेची नेत्रालय काँकडभिट्टा गोल्डकपको फाइनल प्रवेश गरेको छ। एपिएफको जितमा गोलरक्षक राजु योगी नायक बने। निर्धारित समय १–१ को बराबरीमा टुंगिएपछि खेल टाइब्रेकरतर्फ धकेलिएको थियो। आयोजकका निशान्त लिम्बुको प्रहार एपिएफका गोलरक्षक राजुले रोकेका थिए।

टाइब्रेकरमा एपिएफका सुदिप शिख्राकार, नवीन लामा, मिलन राई, राजु योगी र प्रवीण स्याङतानले गोल गरेका थिए भने काँकडभिट्टाका जीवन गुरुङ, संजय राजबाहक, आदित्य कार्की र सामसुङले गोल गरेका थिए। एपिएफले उपाधिका लागि शनिबार फाइनलमा रमपम झापा ११ सँग प्रतिस्पर्धा गर्नेछ।

एपिएफका प्रशिक्षक रत्नकाजी महर्जनले आफ्नो लक्ष्य उपाधि रहेको बताए। 'हामी १ महिनाअघि झापामा पाएको सफलता दोहर्‍याउन आतुर छौं', प्रशिक्षक महर्जनले भने, 'झापालाई यसअघि पनि हराएकाले खेलाडीको मनोबल उच्च छ। हाम्रो एकमात्र लक्ष्य उपाधि जित्नु हो।'

एपिएफले ३ साताअघि मात्र झापामा भएको सुरुंगा गोल्डकपको उपाधि जितेको थियो। प्रतियोगितामा एपिएफले झापालाई टाइब्रेकरमा स्तब्ध बनाएको थियो। दुई टोली प्रतियोगिताको पहिलो खेलमै आमनेसामने भएका थिए।

बिहीबार एपिएफका अञ्जन विष्ट, रञ्जन विष्ट, आदित्य चौधरी र राजेन्द्र रावल टोलीमा थिएनन्। निकै प्रतिस्पर्धात्मक खेलमा आयोजकले ४२ औं मिनेटमा निशान्तको गोलबाट अग्रता लिएको थियो। एपिएफका गोलरक्षक योगीको गल्तीमा फाइदा उठाउँदै निशान्तले २५ यार्डबाट गरेको प्रहार गोलमा परिणत भएको थियो। त्यसको २ मिनेट बित्न नपाउँदै एपिएफका रमेश दंगालले बराबरी गोल फर्काए। नवीनको कर्नरलाई रमेशले हेडमार्फत् गोलमा परिणत गरेका थिए।

आयोजक काँकडभिट्टाका प्रशिक्षक सचिन्द्र धिमालले टोलीको प्रदर्शनबाट आफू सन्तुष्ट रहेको प्रतिक्रिया दिए।

'विपक्षीको तुलनामा हाम्रा खेलाडीमा अनुभवको कमी थियो। यो हाम्रो जुनियर टोली हो,’ धिमालले भने, 'यस्तो भए पनि हामीले खेलमा एपिएफलाई दबाबमा राख्यौं। तर, टाइब्रेकरमा हामी चुक्यौं। यो सन्तोषजनक उपलब्धि हो।'

प्रकाशित: २२ पुस २०७३ ०४:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App