coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

हफिजको निर्णायक गोल

सुवास विडारी

हेटौंडा- ओलावाले हफिजको गोलमा साविक विजेता मनाङ मर्स्याङ्दी क्लबले बिहीबार सहारा क्लबमाथि १–० को विजयी नतिजा निकाल्दै टुबोर्ग हेटौंडा गोल्डकप फुटबलको फाइनलमा स्थान सुरक्षित गरेको छ। शनिबार हुने फाइनलमा मनाङले प्राइम पोलिक्लिनिक विजय युथ क्लब हेटौंडा र त्रिभुवन आर्मी क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। दोस्रो सेमिफाइनल शुक्रबार हुनेछ।

हेटौंडास्थित फरेस्ट्री मैदानमा भएको खेलमा अफ्रिकी खेलाडी हफिजले आठौं मिनेटमा गरेको गोल मनाङको जितमा निर्णायक बन्यो। डोना थापाको कर्नरलाई पेनाल्टी बक्सभित्र कसैको निगरानीमा नरहेका हफिजले गोलमा परिणत गरेका थिए। गोलसँगै हफिज प्रतियोगितामा सर्वाधिक गोल गर्ने खेलाडीको सुचीमा सबभन्दा अगाडि छन्।

दोस्रो मिनेटमै मनाङको रक्षापंक्तिबीच तालमेल नमिलेको फाइदा उठाउँदै सहाराका शिव सुवेदीले गरेको प्रहार गोलरक्षक दिनेश थापामगरले मुस्किलले बचाएका थिए। २७ औं मिनेटमा सहाराका लक्ष्मण जिसीले पेनाल्टी बक्स बाहिरबाट गरेको सशक्त प्रहार पनि मनाङका गोलरक्षकले बचाए।

अघिल्ला खेलको तुलनामा मनाङले सहाराविरुद्ध संगठित प्रदर्शन गर्न सकेन। खेलमा मनाङका मिडफिल्डर सुजल श्रेष्ठको अभाव खट्किएको थियो। दुई पहेलो कार्डका कारण उनी सेमिफाइनलका लागि प्रतिवन्धित थिए। मनाङले राष्ट्रिय टोलीका मिडफिल्डर विक्रम लामालाई मैदान उतारे पनि उनले प्रभाव देखाउन सकेनन्।

‘सबै खेलाडीले एकै ठाँउमा प्रशिक्षण गर्ने मौका नपाएकाले प्रदर्शनमा प्रभाव परेको छ। धेरैभन्दा धेरै मिसपास भइरहेका छन्। यी कमजोरीलाई सच्याउँदै आगामी खेलका लागि तयारी गर्नुपर्छ,’ मनाङका प्रशिक्षक छिरिङ लोप्साङले भने।

सहाराका प्रशिक्षक किरण श्रेष्ठले राम्रो खेल्दाखेल्दै पनि पराजित हुँदा नरमाइलो लागेको बताए। समग्रमा सहाराले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेको भन्दै श्रेष्ठले थपे, ‘मनाङलाई पूरै दबाबमा राख्दा पनि हामीले नतिजा आफ्नो पक्षमा पार्न सकेनौं। हाम्रा खेलाडीले शतप्रतिशत राम्रो खेले। तर पाएका अवसरलाई गोलमा परिणत गर्न नसक्दा सुखद नतिजा आएन।’

सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानले आयोजना गरेको प्रतियोगिताकोे विजेताले ५ लाख रुपैयाँ नगद पुरस्कार जित्नेछ भने उपविजेताले ३ लाख रुपैयाँ नगद हात पार्नेछ। प्रतियोगिताको उत्कृष्ट प्रशिक्षक र खेलाडीले जनही १५ हजार रुपैयाँ नगद र सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ नगद पुरस्कार जित्नेछन्।

प्रकाशित: २२ पुस २०७३ ०४:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App