८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

इटालीमा दुई दिनमा ९० को मृत्यु

वासिंटन – इटालीमा दुई दिनमा कोरोना भाइरस संक्रमणबाट ९० जनाको ज्यान गएको छ। स्वास्थ्य अधिकारीका अनुसार त्यहाँ बिहीबार र शुक्रबार गरी ९० जनाको ज्यान गएको अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएका छन्।

यससँगै इटालीमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या एक सय ९७ पुगेको छ। त्यहाँ तीन हजार नौं सय १६ जनामा कोरोना संक्रमण भएको पाइएको छ। यहाँका २२ सहरमा यसको प्रकोप देखिएको छ। इटालीले देशैभरिका विद्यालय तथा विश्वविद्यालय बन्द गराएको छ। सरकारले यो भाइरसको नियन्त्रणका विभिन्न कार्यक्रम घोषणा गरी कार्यान्वयन गराएको छ। अधिकारीहरूले शुक्रबार एक विज्ञप्तिमार्फत् दैनिक मृत्यु हुनेको संख्या सबैभन्दा बढी पुगेको घोषणा गरेका छन्। उनीहरूले स्वास्थ्य अधिकारीहरूले ‘मृत्युको यकिन कारण नभन्दासम्म’ मृत्यु हुनेको उक्त संख्या पुष्टि गर्न नसकिएको बताए।

राष्ट्रिय स्वास्थ्य निकायले मृत्यु हुनेको औसत आयु ८१ रहेको र उनीहरूमध्ये धेरैमा पहिल्यै अन्य स्वास्थ्य समस्या पनि रहेको जनाएको छ। मृत्यु हुनेमध्ये ७२ प्रतिशत पुरुष रहेको पनि जनाइएको छ। सरकारी तथ्यांक अनुसार इटालीमा कोरोना भाइरस देखिएका ४ दशमलव २५ प्रतिशतको मृत्यु भएको पुष्टि भएको छ, जुन विश्वमा उच्च दर हो। पछिल्लो समय कोरोना भाइरसको संक्रमण चीनभन्दा इटाली, इरान, दक्षिण कोरिया, फ्रान्स, जर्मनी, अमेरिका, भारतलगायत मुलुकमा समेत बढेको भन्दै विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रो एड्हानोम गेहब्रेयससले भाइरसको संक्रमण ‘गहिरो चिन्ताको विषय’ भएको बताएका छन्।

उनले यसको रोकथामलाई ‘उच्च प्राथमिकतामा राख्न’ सबै देशहरूलाई अपिल गरेका छन्।

प्रकाशित: २५ फाल्गुन २०७६ ०३:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App