४ वैशाख २०८१ मंगलबार
खेल

सहारालाई रोक्दै पुलिस सेमिफाइनलमा

सहाराका कमल थापालाई क्रस गरेर बल अगाडि बढाउँदै पुलिसका भोला सिलवाल (दायाँ) तस्बिर : नागरिक

सन्देश श्रेष्ठ/धन बस्नेत
पोखरा - नेपाल पुलिस क्लब आहा ! रारा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। पोखरा रंगशालामा शनिबार भएको पहिलो क्वार्टरफाइनलमा आयोजक सहारा क्लबलाई टाइब्रेकरमा ४–२ गोलले हराउँदै पुलिस सेमिफाइनलमा प्रवेश गरेको हो।

निर्धारित ९० मिनेटमा १–१ को बराबरी भएपछि थपिएको ३० मिनेटमा पनि थप गोल हुन नसक्दा खेल टाइब्रेकरमा धकेलिएको थियो। टाइब्रेकरमा पुलिसका भरत शाह, हेम तामाङ, सुमन सुवेदी र सौजन योक्काहा राईले गोल गरे। पुलिसका अनुप लिम्बुको प्रहार भने सहाराका गोलकिपर अर्पण कार्कीले रोके। सहाराका आशिष गुरुङ र अजय श्रेष्ठले गोल गर्दा उलरिच राम्जे र त्रिदेव गुरुङ असफल भए। उलरिचको प्रहार पुलिसका गोलकिपर रोशन खड्काले रोके भने त्रिदेवले प्रहार गरेको बल पोस्टमाथिबाट बाहिरियो। निर्धारित समयमा पुलिसले ७५औं मिनेटमा अग्रता लिएको थियो। मैदानको मध्य भागबाट आएको लामो पासलाई नियन्त्रणमा लिदै भरत शाहले दायाँ साइडबाट पहिलो बार च्याप्दै गरेको सशक्त प्रहार सीधै गोलमा परिणत भएको थियो। रक्षात्मक फुटबल खेल्दै काउन्टर अट्याकको रणनीति बनाएको सहारा गोल खाएपछि भने आक्रामक बन्यो।

टाइब्रेकरमा पुलिसका भरत शाह, हेम तामाङ, सुमन सुवेदी र सौजन योक्काहा राईले गोल गरे। पुलिसका अनुप लिम्बुको प्रहार भने सहाराका गोलकिपर अर्पण कार्कीले रोके। सहाराका आशिष गुरुङ र अजय श्रेष्ठले गोल गर्दा उलरिच राम्जे र त्रिदेव गुरुङ असफल भए।

तर, खेल सकिन १५ सेकेन्ड बाँकी छँदा मात्र सहाराले गोल फर्काउँदै तत्कालका लागि हारको संकट टारेको थियो। अजय श्रेष्ठको गोलबाट सहाराले खेल अतिरिक्त समयतर्फ धकेल्यो। तर, थपिएको समयमा दुवैतर्फबाट गोल भएन। टाइब्रेकरमा आयोजक सहारा असफल भएपछि प्रतियोगिताको यात्रा टुङ्ग्यायो। खेलको १ सय २०औं मिनेटमा पुलिसका कप्तान भोला सिलवालले रातो कार्ड खाँदै मैदान छाड्नुपर्‍यो। दोहोरो पहेंलो कार्ड बेहोरेपछि रेफ्री प्रकाशनाथ श्रेष्ठले उनलाई रातो कार्ड दिँदै मैदान बाहिर पठाएका थिए। त्यसअघि खेलको सुरुआतदेखि नै आक्रामक खेलेको पुलिसले आधा दर्जन बढी गोल गर्ने अवसर खेर फाल्यो।

पुलिसका गोलकिपर रोशन खड्का म्यान अफ दी म्याच घोषित भए। पोस्ट म्याच कन्फ्ररेन्समा बोल्दै पुलिसका कप्तान भोलाले पाएको अवसर सदुपयोग गर्न नसक्दा टाइब्रेकरसम्म खेल पुगेको प्रतिक्रिया दिए। उनले खेलजीवनमा पहिलो पटक रातो कार्ड खाएको बताए। रेफ्रीको गलत निर्णयविरुद्ध अपिल गर्दा आफूलाई कार्ड देखाइएको उनले गुनासो गरे। सहारा क्लबका प्रशिक्षक विष्णु गुरुङले हारे पनि खेलाडीको प्रदर्शनबाट सन्तुष्ट रहेको बताए। आइतबार मनाङ मर्स्याङ्दि क्लब र झापा–११ बीच प्रतिस्पर्धा हुने आयोजक सहारा क्लबले जनाएको छ।

प्रकाशित: २५ फाल्गुन २०७६ ०१:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App