coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

भेडेटारबाट व्यवसायिक जिपलाइन सुरु

जिपलाइनको उद्घाटन गरिसकेपछि मुख्यमन्त्री शेरधन राईलगायत । तस्बिर : रोहित राई

धरान- धरान ४ भेडेटारबाट साहसिक खेल पर्यटनअन्र्तगतको जिपलाइनको व्यवसायिक सुरुवात भएको छ। भेडेटार देवीथान जिपलाइनको शनिबार एक समारोहबीच प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेका छन्।

करिब ३ करोड लागतमा सञ्चालनमा आएको जिपलाइनले पूर्वको पर्यटनलाई थप गति दिलाउने अपेक्षा यहाँका पर्यटन व्यवसायीहरुले लिएका छन्। धनुकटा जिल्लाको साँगुरीगढी गाउँपालिका र सुनसरीको धरान उपमहागनरको सिमाना हो भेडेटार। यो जिपलाइन भने धरानतर्फको क्षेत्रबाट सञ्चालनमा आएको हो।

यो जिपलाइन वल्र्ड वाइड ग्रुप नेपाल प्रालिले सञ्चालनमा ल्याएको हो। भेडेटारबाट सुरु हुने जिपलाइन  धरान ४ कै देवीथान ल्याण्डिङ हुन्छ। यो जिपलाइनको दुरी ६ सय ५० मिटरको छ। साहसिक पर्यटकले करिब ४५ सेकेण्ड अनुभव लिन पाउने सञ्चालक मध्येका एक केदार थापाले जानकारी दिए। भेटेटार घुम्न आउने पर्यटकहरुले नयाँ प्रोडक्ट खोजी गरिरहदा जिपलाइन सञ्चालनमा आएको भन्दै पर्यटन व्यवसायी एवं होटल एशोसिएशन भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दालीले खुशी व्यक्त गरे। ‘भेडेटार आउने पर्यटकहरुले नयाँपन खोजिरहेका थिए, जिपलाइन सञ्चालनमा आयो हामी धेरै खुसी छांै,’उनले भने,‘यस्ता डाँडाकाडा धेरै छन्, सानो लगानीले पनि ठूलो काम गर्छ।’

यो जिपलाइनमा क्लासिक, सुपरम्यान र कपल जिपलाइन गरि ३ प्रकार रहेको छ। क्लासिकको १२ सय, सुपरम्यान(सुतेर)को १५ सय र कपलको १८ सयदेखि २ हजार रुपैयासम्म पर्नेछ । क्लासिक एक्लै झुण्डिएर हुन्छ भने सुपरम्यान सुतेर हुन्छ। कपल जिपलाइनमा दुई जना आफ्नो साथीसँग अंगालो मारेर खेलिन्छ। शनिबार उद्घाटनको अवसरमा धरानकी उपमेयर मञ्जु भण्डारी सुवेदीले पनि सुपरम्यान जिपलाइन गरेकी थिइन्। पहिलो पटक जिपलाइन गर्दा सुरुमा केही डर अनुभव भएपनि पछि मजा आएको उनले सुनाइन्। ‘धरान, भेडेटारको लागि मात्र होइन, पुर्वको साहसिक पर्यटनको लागि यसले महत्वपुर्ण योगदान पुग्ने विश्वास लिएकी छुँ,’उनले भनिन्।

कम्पनीले जिपलाइन गर्ने साहसिक पर्यटकहरुलाई कानुन वमोजिमको ५ लाख रुपैयाँको विमा पनि गरेको जनाएको छ। जिपलाइनमा प्रयोग गरिएका सामग्रीहरु अन्र्तराष्ट्रियस्तरमा ख्यातीप्राप्त र सफल कम्पनीको भएकोले सुरक्षाको चिन्ता नरहेको सञ्चालकहरुको भनाई छ। जिपलाइनमा कम्तीमा ८ वर्षदेखिमाथि उमेर समूहलाई खेलाउने कम्पनीले जनाएको छ। विदेशमा ५ वर्षका बच्चाले जिपलाइन गरेर रेकर्ड कायम गरेका छन्। धरानमा आफ्नो अभिभावकसँग ८ वर्षसम्मकालाई जिपलाइन गराउने सञ्चालकहरुले बताएका छन्। यसअघि धुलिखेलमा ७५ वर्षका वृद्धले र ६८ वर्षकी वृद्धाले पनि जिपलाइनको मजा लिइसकेका छन्।

'छिट्टै स्काईवाक र केवलकार प्रोजेक्टअघि बढ्छ'
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले भेडेटार क्षेत्रमा चाडै स्काई वाक र केवलकारको पर्यटकीय प्रोजेक्ट पनि थपिने बताएका छन्। शनिबार धरान ४ स्थित भेडेटार देवीथान जिपलाइनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले यस्तो खुलासा गरेका हुन्।

विकास र समृद्धिको लागि निजी क्षेत्रलाई लगानीको लागि उपयुक्त वातावरण तयार गरेर राष्ट्र निर्माणको अभियान सुरु भइसकेको मुख्यमन्त्री राईको भनाई थियो। धरानको वडा नं ४ विकट भए पनि प्राकृतिक दृष्टिले असाध्यै उपयुक्त ठाउँ भएको र पर्यटकीय हिसाबले आकर्षक गन्तव्य बनाउने पनि उनले बताए
 

प्रकाशित: २४ फाल्गुन २०७६ १४:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App