coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कोरोनाबाट जोगिन अस्पतालदेखि विद्यालयसम्म सतर्कता

रामेछाप- सर्वत्र कोरोना भाइरसको प्रकोप बढ्न थालेपछि स्थानीय प्रशासनले जिल्लामा आवश्यकता सतर्कता बढाउन थालेको छ। शुक्रबार जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतमा बसेको सर्वपक्षीय बैठकले कोरोना भाइरसबाट बच्न सतर्कता अपनाउने र त्यही अनुरुपमा जनशक्ति परिचालन गरी जनचेतना बढाउने निर्णय गरेको छ।

जिल्ला प्रशासन कार्यालय रामेछापमा शुक्रबार बसेको बैठकले जिल्ला अस्पताल रामेछाप, सदरमुकाम मन्थलीस्थित प्राथमिक स्वास्थ्य केन्द्र, तामाकोशी अस्पताल र रामेछाप सामुदायीक अस्पतालमा आइसोलेसन वार्ड तथा आवश्यक एम्बुलेन्स राख्ने निर्णय गरेको छ।

कोरोना भाइरसको बढ्दो संक्रमणलाई ध्यानमा राखी जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न स्थानमा सञ्चालित निजी तथा सरकारी अस्पताहरुमा आइसोलेसन वार्ड राख्ने तयारी गर्न अनुरोधसमेत गरेको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताइन्। उनले रोगको जोखिमलाई मध्यनजर गर्दै जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा रहेका स्वास्थ्यकर्मीहरुलाई तत्काल विदामा नछाड्नका लागि समेत सम्बन्धित निकायलाई निर्देशन समेत दिई सकिएको बताइन्।

साथै रोगको जोखिम कम गर्न जिल्लाका अधिकांश विद्यालयहरुमा कोरोना भाइरसबाट बच्ने उपायका बारेमा चेतना मुलक कार्य सञ्चालन गर्ने निर्णयसहित निर्देशन प्रदान गरिएको जिल्ला प्रशासन कार्यालय रामेछापले जनाएको छ। साथै जिल्लामा सञ्चालित स्थानीय सञ्चारमाध्यमहरुबाट कोरोनाबाट बच्ने उपायहरुको बारेमा चेतनामुलक सामग्रीहरु प्रकाशन तथा प्रशारण गर्न समेत अनुरोध गरिएको प्रशासनले जनाएको छ।

मास्क लगायतका स्वास्थ्य सामग्रीको सहज बिक्री वितरण गर्नु पर्ने कृत्रिम अभाव सृजना गरेर प्रकोप समयमा कालो बजारी गर्नेहरुलाई समेत कारबाही गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ। यसैबीच जिल्लाको उमाकुण्ड गाउँपालिकाले मातहतका सम्पूर्ण विद्यालयलाई कोरोना भाइरसबाट जोगिने जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्न यसअघि नै निर्देशन दिई सकेको जनाएको छ।  

प्रकाशित: २४ फाल्गुन २०७६ १३:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App