८ वैशाख २०८१ शनिबार
राजनीति

सरकार देशको आर्थिक विकास भन्दा पूँजीपतिहरुको विकासमा केन्द्रित : भट्टराई

काठमाडौं – पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले देशमा भएको पूँजी केही व्यक्तिको अधिनमा रहेकोले आर्थिक विकास सुस्त गतिमा भएको बताएका छन्।नेपाल उद्योग वाणिज्य तथा व्यवसाय महासंघको प्रथम ऐतिहासिक घोषणा कार्यक्रमलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै डा. भट्टराईले सरकारका कारण देश भित्र रहेको पूँजी केही पूँजीपतिहरुको अधिनमा रहेको बताएका हुन्।

उनले सरकार देशको आर्थिक विकास भन्दा पनि पूँजीपतिहरुको विकासमा केन्द्रित भएको आरोप पनि लगाए। उनले  बैंकहरुमा देशकै अर्थतन्त्र बराबरको पूँजी जम्मा भएको तर त्यसको प्रयोग एक दुई सय जनाले मात्र गरेकोले देशको आर्थिक विकास नभएको बताए। पूँजीको पहुँच साना र मझौला व्यवसायीहरुमा नपुगेसम्म आर्थिक विकास नहुने उनको दाबी छ।

‘हाम्रो बैंकहरुमा अहिले झण्डै कुल गार्हस्थ उत्पादन बराबर ३३/३४ खर्ब रुपैयाँ पूँजी रहेको छ, तर त्यसको प्रयोग कसले गरेको छ भने जम्मा सय दुईसय ठूला घरानाहरु छन तिनीहरुले ३३/३४ खर्ब रुपैयाँ प्रयोग गरिराखेका छन्’, उनले भने, ‘जबकी यहाँ ५० औं लाख साना र मध्यम उद्योग व्यवसायीहरु छन उनीहरुले सामान्य बिउ पूँजी समेत प्राप्त गर्न सकेका छैनन्। त्यसैले पहिले हामीसँग उपलब्ध जुन पूँजी छ त्यसको ठिक ढंगले मुख्यतह साना र मध्यम व्यवसायीहरुमा हामीले  ठिक ढंगले वितरण गर्ने व्यवस्था हुन पर्‍यो।’

उनले  प्रत्येक वर्ष रेमिट्यान्स ८ खर्ब आउने र त्यसको १० प्रतिशत सञ्चय हुने र बाँकी ९० प्रतिशत उपभोग गर्ने प्रकारको अर्थतन्त्र हुन नसक्ने बताए। ‘विदेशबाट श्रम बेचेर पैसा ल्यायो अनि विदेशकै सामान मगायो भने अनि यहाँ खाएर फोहोर गर्ने मात्रै  विदेशमा चाहिं श्रम बेच्ने त्यसले कमाएकोले विदेशबाट वस्तु आयात गर्ने अनि यहाँ फोहोर गर्ने यस्तो अर्थतन्त्र हुनै सक्दैन’, उनले भने।’

देशको अर्थतन्त्रको विकासका लागि राष्ट्रिय औद्योगिक पूँजीको निर्माण गर्नुपर्नेमा उनले जोड दिए। उनका अनुसार राष्ट्रिय औद्योगिक पूँजीको विकास गरी समाजवादको लक्ष्य प्राप्त गर्ने दिशामा जानुपर्ने बताए। आर्थिक विकास गर्ने आवसर सरकारसँग भएपनि काम नगर्दा पछिल्लो दुई वर्ष खेर गएको छ। कछुवा गतिको आर्थिक विकास जहिले पनि हुने बताउँदै तीव्र गतिको आर्थिक विकासका लागि सरकार असफल भएको उनले बताए ।

प्रकाशित: २४ फाल्गुन २०७६ १२:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App