६ वैशाख २०८१ बिहीबार
राजनीति

गतिरोध तोड्न संशोधन : भट्टराई

लमजुङ- नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले राजनीतिक गतिरोध अन्त्यका लागि संविधान संशोधन हुनु आवश्यक रहेको बताएका छन्।

 नयाँ शक्ति जिल्ला कार्यसमिति लमजुङले बिहीबार बेंसीसहरमा आयोजना गरेको ‘समृद्धि सम्भव छ, हाम्रै पालामा’ विषयक अन्तरसंवादमा उनले यस्तो धारणा व्यक्त गरेका हुन्। उनले संविधान गतिशील दस्तावेज भएकाले आवश्यकताअनुरुप संशोधन गर्न सकिने बताए। भट्टराईका अनुसार महिला, दलित, आदिवासी जनजाति, मधेसी, थारू, विपन्न वर्गका खसआर्यलगायत समुदाय, वर्ग र भूगोलको माग सम्बोधन गर्न संविधान आवश्यक छ।

 एमालेले आफूलाई अतिराष्ट्रवादी भएको देखाउने र सरकारमा रहेका दलले सत्तामोहमा लहसिने काममात्र गरे निकास ननिस्कने भन्दै उनले गतिरोध अन्त्यका लागि संविधान संशोधन गर्नैपर्नेमा जोड दिए।

 राजनीतिक स्थायित्व नहुँदा देशले विकासको स्पष्ट बाटो समाउन नसकेकाले प्रत्यक्ष राष्ट्रपतीय निर्वाचन प्रणालीमा जानुपर्ने धारणा पनि उनले व्यक्त गरे। सो प्रणालीमा जाँदा सरकार बलियो हुने र राजनीतिक अवस्थामा पनि सुधार आउने उनको दाबी  थियो।

उनले नयाँ शक्ति र नेकपा माओवादी केन्द्रबीच एकीकरणको कुनै सम्भावना नरहेको पनि स्पष्ट पारे।

पार्टीले समृद्धिको नारालाई अभियानकै रुपमा अघि बढाउँदै विभिन्न जिल्ला पुगेर सर्वसाधारणसँग  अन्तरसंवाद गर्दै आएको जानकारी  उनले गराएका। उनका अनुसार लोकतन्त्र र राष्ट्रियताकै जगमा उभिएर समृद्धिको खोजी गर्ने अभियानमा पार्टी लागेको छ। उनले मुलुकको आर्थिक विकासका लागि खानेपानी, सडक, बिजुलीलगायत पूर्वाधारसंरचना निर्माण गर्नुपर्ने र राज्य स्वयंले त्यसको व्यवस्था गर्नुपर्ने बताए।  नेपाली कांग्रेस, एमालेलगायत पार्टीको कार्यशैलीले राष्ट्रको विकास नहुने देखेर नयाँ शक्ति नेपाल स्थापना गरिएको प्रस्टीकरण पनि उनले दिए।

युवा वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता कसरी कम गर्ने, परनिर्भरता कसरी घटाउने, जातीय विभेद, दुर्व्यवहार, लैंगिक हिंसा न्यूनीकरण कसरी गर्ने, राजनीतिक स्थायित्व कसरी कायम गर्ने भन्ने प्रश्न सहभागीले भट्टराईसँग राखेका थिए।

प्रकाशित: २२ पुस २०७३ ०३:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App