८ वैशाख २०८१ शनिबार
समाज

‘रे’ कै भरमा कुदे उपभोक्ता! सरकार भन्छः ‘आत्तिनुपर्ने अवस्था छैन’

काठमाडौं - बिहानैदेखि रित्तो खाना पकाउने एलपी ग्यास(सिलिण्डर)माथि बसेकी थिइन् काठमाडौं नयाँ बानेश्वर बस्ने ६३ वर्षीया रन्जना श्रेष्ठ। ६ बजे नै अनामनगरको नेपाल ग्यास डिपोमा पुगेकी श्रेष्ठ १ बजेसम्म सिलिण्डर पाउने आसामा बसेकी थिइन्। घरि रित्तो सिलिण्डरमाथि बस्थिन् त घरि यताउति डुल्थिन्। एकै ठाउँमा धेरै बेर बस्दा हात, खुट्टा र ढाड दुख्छ।’ उनले भनिन्, ‘नबसौं भने ग्यास नै नपाइएला भन्ने डर।

२०७२ को नाकाबन्दी समेत भोगेकी श्रेष्ठलाई फेरि त्यस्तै अवस्था आउन लागेको भ्रम रहेछ। ‘नेपालमा पनि कोरोना भाइरस आउँदै छ रे ? मानिसहरु पनि मर्छन् रे! विदेशबाट सामान नै आउँदैन भन्ने हल्ला छ। भोलिपर्सी त केही पनि पाइदैन। त्यही भएर लाइनमा बसेर पनि सिलिण्डर लिन आएकी।’ पहिले नाकाबन्दी हुँदा कस्तो अवस्था आएको थियो तपाइलाई थाहा छ? फेरि त्यस्तै हुँदैछ रे! उनले प्रश्न गर्दै सोधिन्।

उनी मात्रै होइन, ‘रे’ कै भरमा लाइनमा थिए ५८ वर्षीय हौउद मलिक, २२ वर्षीया सृष्टि र ४० कटेकी गृहिणी सरिता काफ्ले पनि।  उनीहरु जस्तै लगभग सय जनाभन्दा बढी उपभोक्ताहरु बिहानैदेखि लाइनमा थिए। त्यही मध्येकी २२ वर्षीया सृष्टिलाई पनि भ्रमले रोक्न सकेन। बिहानै एउटा सिलिण्डर साट्न भ्याएकी उनी दोस्रो सिलिण्डर पाउने आसामा थिइन्। ‘एउटा सिलिण्डर बिहानै साँटे। पछि अभाव हुँदा त पाइदैन भनेर अर्को पनि आजै साट्न आएकी।’ उनले भनिन्, ‘केही दिनपछि सबै कुराको अभाव हुन्छ भन्ने हल्ला छ। यति नगरे पछि के खाएर बाच्ने?’

हल्लाकै भरमा तपाइ पनि यसरी लाइनमा बस्नु भएको भन्ने नागरिकको प्रश्नमा उनले अक्मकाउँदै जवाफ दिइन्। ‘हल्ला पनि भयो। टोल छिमेकका सबै जना सिलिण्डर बोकेर हिँडेपछि म पनि आएँ। पछि पाइदैन रे। भारतबाट आयात पनि रोकिन्छ भन्ने हल्ला छ।’

२०७२ सालको नाकाबन्दीको सामना गरेका काठमाडौंबासी एक पटक फेरि त्रसित भएका छन्। कोरोना भाइरस(कोविड–१९) का कारण बजारमा अभाव सृजना हुने आशंकामा मानिसहरु खाद्यान्नलगायतका सामग्री भण्डारण गर्न थालेका छन्। पहिले एक बोरा चामल किन्नेहरु अहिले छ/सात बोरा चामल किन्न थालेका छन्। ७/८ वटा रित्त सिलिण्डर बोकेर लाइनमा बसेका छन्।

नेपाल ग्यासको अनामनगर डिपोकी सञ्चालक रविता पौडेल भने बजारमा हल्ला भएजस्तो अभाव नभएको जिकिर गर्छिन्। उपलब्ध भए जति सिलिण्डर बाडिरहेको बताउने उनले उपभोक्ता आफै आत्तिएकोले समस्या उत्पन्न भएकोे बताइन्। ‘पहिले एउटा सिलिण्डर साट्नेलेहरुले चार/पाँच वटा साटिरहनु भएको छ। कतिपयले त सातवटासम्म लिएर आएको पनि पाइयो।’ उनले भनिन्, ‘यो उपभोक्ताले नै निम्त्याएको अभाव हो। हामीले भएजति बाँडेकै छौं। हामी व्यापारी हो। हामीले जतिसक्दो बेच्ने हो। हामीसँग भएजति बाडेका छौं।’ उनले अगाडि भनिन्, ‘ नयाँ सिलिण्डर आउने बित्तिकै फेरि बाड्छौं।’

यो कृतिम अभावको जिम्मेवार स्वयं उपभोक्ता भएको समेत उनले बताइन्। ‘बजारमा अभाव छैन। प्रयाप्त मात्रामा ग्यास सिलिण्डरहरु छन्।’ पहिलेभन्दा दोब्बर/तेब्बर माग भएपछि लाइन बस्नु परेको हो। मानिसहरु त्रसित छन्। ग्यास अभाव हुँदैछ भन्ने हल्लाको भरमा कुदिरहेका छन्। यसले समस्या निम्त्याएको हो।’

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले भने अहिलेको अवस्थामा एक महिनासम्म ग्यासको अभाव नहुने बताएका छन्। बजारमा दैनिक उपभोग्यवस्तु र ग्यासको अभाव हुने हल्लाहरु फैलिएको भन्दै मन्त्री भट्टले एक महिनासम्म ग्यासको अभाव नहुने दाबी गरे। आयात निर्वाध रुपमा भएपनि केही व्यक्तिहरु आतंकित भएर १ सिलिण्डर चाहिने ठाउँमा १० वटा जम्मा गरेर राखेको उल्लेख गर्दै उनले नआत्तिन सबैमा आग्रह गरे।

मास्कमा समेत कालोबजारी
बजारमा मास्कको माग बढेसँगै कालोबजारी सुरु भएको छ। कोरोनाबाट सम्भावित संक्रमणबाट बच्न मास्कको माग बढेसँगै कालोबजारी सुरु भएको हो। अधिकांश ठाउँमा मास्क पाइदैन। अधिकांश औषधि पसलमा मास्क छैन भन्दै सूचना नै टासिएका छन्।

यसअघि मास्क बेच्दै आएको अन्य व्यापारीहरु पनि बजारमा मास्कको माग बढेकोले अपुग गरेको बताउँछन्। नेपाल मेडिकल कलेज अगाडिका मेडिकलहरुमा मास्क छैन भन्दै सूचना टासिएको छ। ग्राहकले मास्क सोधेर हैरान पारेकोले सूचना नै टास गरेको मेडिकल सञ्चालक राजन श्रेष्ठले बताए। ‘हामीसँग मास्क सकिएको केही दिनदेखि हो। नभएको कुरा ग्राहकले सोधेर हैरान पार्छन् त्यही भएर सूचनै टाँसेको। त्यहाँका अन्य मेडिकलहरुले पनि मास्क छैन भन्दै सूचना छासेका छन्। काठमाडौंका अधिकांश मेडिकलहरुमा यस्तै सूचना टासिएका छन्। धेरै ठाउँमा मास्क नै पाइदैन।

कतै पाइहाले पनि महाँगोमा किन्नु पर्ने बाध्यता रहेको उपभोक्ताहरु बताउँछन्। मास्कको कालोबजारीका बजारमा अस्वाभाविक मूल्य तिर्नुपरेको गुनासो उपभोक्ताले गरेका छन्। पहिले १० रुपैयाँमै पाइने सामान्य मास्क अहिले ३० देखि ५० रुपैयाँसम्ममा किन्नु परेको उपभोक्ताहरु बताउँछन्। यस्तै पहिले २०/३० रुपैयाँ पाइने मास्क अहिले सय बढीमा किन्नु परेको गुनासो उपभोक्ताको छ।

बजारमा मास्कको कालो बजारी सुरु भएको गुनासो आएसँगै वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमन पनि सुरु गरेको छ। कृतिम अभाव सृजना गर्ने र महँगोमा मास्क बेच्ने केही मेडिकल र व्यापारीलाई विभागले कारबाही समेत गरेको जनाएको छ।

खाद्यान्न भण्डारण गर्दै उपभोक्ता
काठमाडौं चाबहिलमा परिवारसहित बस्ने जनक धामीले एकै दिन ७ बोरा चालम किने। चामलसँगै पहिलेको भन्दा तेब्बर बढी दाल, तेल र नुन किने। केही दिनमा खाद्यान्न अभाव हुने आशंकाले खाद्यान्न भण्डारण गर्न थालेको उनले बताए। ‘बजारमा खाद्यान्न अभाव हुन्छ भन्ने हल्ला व्यापक छ। नाकाबन्दीताकाको कुरा सम्झदैं उनले भने, ‘मलाई त यो हल्लामात्रै हो जस्तो पनि लाग्छ। तर आमाबुवाले मान्नु भएन। बाध्य भएर यो खाद्यान्न भण्डार गर्न तिर लागेँ।’

उनी त एक प्रतिनिधि पात्र मात्रै हुन्। पछिल्लो समय अधिकांशले आवश्यकताभन्दा बढी खाद्यान्न किन्न थालेको डिल्लीबजारमा किराना पसल सञ्चालन गरेर बसेका कश्यप श्रेष्ठ बताउँछन्। ‘पहिले/पाँच किलो चामल किन्नेहरुले अहिले बोरा किन्न थालेका छन्। कतिपयले आठ/दश बोरा नै किनेर लगे।’ उनले भने, ‘ चामल मात्रै होइन दाल, नुन, तेल, र चिनीको पनि अध्याधिक माग बढेको छ। अस्वभाविक रुपमा मानिसहरुले खाद्यान्न भण्डारण गर्न थालेका छन्। बजारमा अभाव छैन। तर मानिसहरुले अस्वभाविक रुपमा खाद्यान्न भण्डारणका लागि किन्न थालेका छन्। यसले केही दिनपछि उपभोक्तालाई खाद्यान्न पु-याउन धौंधौं हुन सक्छ।’

त्यस्तै ठूला डिपार्टमेन्टल स्टोरमा पनि खाद्यान्न लगायतका सामान किन्ने ग्राहकको भिड अस्वभाविक रुपमा बढेको छ। पहिलेभन्दा मानिसहरुले दोब्बर/तेब्बर सामान खरिद गर्न थालेका छन्।

मानिसहरुले औषधि समेत भण्डारण गर्न थालेकाे चाबहिलमा मेडिकलका सञ्चालन गरिरहेका बिक्रम साउँद बताउँछन्। ‘हामीसँग अहिले सिटामोल छैन। भएको जति सबै बिक्री भैसक्यो।’ उनले भने, ‘डाक्टरको सिफारिस बेगर नै औषधि किन्नेहरु आउँछन्।’ त्यस्तै रुघाखोकी र ज्वरोको औषधि समेत कम रहेको उनले बताए।

तर नेपाल मेडिकल कलेजको फार्मेसीमा भने औषधि अभाव छैन। ‘हाम्रोमा औषधि अभाव छैन। प्रयाप्त औषधि छ’ एक फार्मेसिस्टले भने, ‘पहिलदेखिनै पाउने औषधि अहिले पनि प्रयाप्त छ।’ मेडिकल कलेजको फार्मेसीमा मात्रै होइन अस्पताल बाहिरका मेडिकलमा समेत औषधि अभाव नरहेको सञ्चालकहरु बताउँछन्।

यता नेपाल औषधि उत्पादक संघले पनि ६ महिनासम्म औषधिको अभाव नहुने बताएको छ। बजारमा औषधि अभाव हुने हल्ला भैरहेकाे भन्दै व्यवसायी संघले ६ महिनासम्म पुग्ने औषधि रहेकोले आत्तिनु पर्ने अवस्था नरहेको जनाएको हो।

सरकार भन्छः ‘आत्तिनुपर्ने अवस्था छैन’
एक जना संक्रमित उपचारपछि घर फर्किएको बाहेक हालसम्म नेपालमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छैन। तर विश्वभर महामारीको रुप लिँदै गएका कारण नेपालीहरु पनि त्रसित भएका छन्। मानिसहरुले खाद्यान्न लगायतका समाग्री भण्डारण गर्न सुरु गरेका छन्। उपभोक्ताले अत्याधिक मात्रामा खाद्यान्न लगायतका सामग्री भण्डारण गर्न थालेपछि बजारमा कृषिम अभाव सृजना भएको छ।

तर सरकारले भने उपभोक्ताले अहिले नै आत्तिनु पर्ने अवस्था नरहेको दाबी गर्दै आएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले अहिलेको अवस्थामा उपभोक्ताले आत्तिनु पर्ने अवस्था नरहेको दाबी गरे। मन्त्री भट्टले ६ महिनासम्म पुग्ने खाद्यान्न, १० महिनालाई पुग्ने नुन र एक महिनालाई पुग्ने ग्यास अहिले पनि स्टक रहेको बताए।

नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ, नेपाल आयाल निगम लगायतका संस्थाहरुसँग रिपोर्ट मागिएको र व्यवसायीहरुले दिएको रिपोर्टले पनि कुनै कुराको अभाव नहुने देखाएको उनले बताए। मन्त्री भट्टले बजारमा कुनै पनि वस्तुमा अहिलेसम्म मूल्य वृद्धि नभएको समेत दाबी समेत गरे।

चीन वुहानवाट शुरु भएको कोरोना भाइरसका कारण हालसम्म झण्डै ३ हजार ५ सय जनाको मृत्यु भैसकेको छ भने झण्ढै ८५ देशमा फैलिएको यो भाईरसबाट एक लाख बढी संक्रमित छन्।

प्रकाशित: २४ फाल्गुन २०७६ १०:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App