८ वैशाख २०८१ शनिबार
समाज

दोलखामा होली मनाउन रोक, १० बेडको आइसोलेसन कक्ष खोलियो

दोलखा- कोरोना भाइरसको जोखिम बढ्दै गएपछि संक्रमणबाट जोगिन सतर्कताका लागि दोलखामा स्थानीय प्रशासनले होली खेल्न रोक लगाएको छ। जिल्ला प्रशासनले शुक्रबार सूचना प्रकाशित गरी सोमबार हुने होली पर्वमा कार्यक्रम नगर्न तथा होली नखेल्न सर्वसाधारणलाई आग्रह गरेको छ।

सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठले जारी गरेको सूचनामा उच्च सतर्कता अपनाउन भन्दै भेला सम्मेलन, मेला महोत्सव जस्ता भिडभाड हुने कार्यक्रम गर्न रोक लगाइएको छ भने सर्वसाधारणलाई भिडभाड हुने स्थलमा नजान भनिएको छ।

यसैबीच संक्रमण फैलन सक्ने जोखिमलाई ध्यान दिँदै सदरमुकाम चरिकोटमा १० बेडको आइसोलेसन कक्षको व्यवस्था गरिएको छ। भीमेश्वर नगरपालिकाका मेयर भरतबहादुर केसीका अनुसार चरिकोटस्थित तत्कालिन महिला विकास कार्यालय रहेको खाली भवनमा १० शैयाको आइसोलेसन कक्ष स्थापना गरिएको हो। उक्त कक्षमा शनिबारबाटै प्राथामिक स्वास्थ्य केन्द्र चरिकोटका स्वास्थ्य जनशक्ती खटाइने नगरपालिकाले जनाएको छ। कक्षमा आवश्यक उपचार सामाग्री व्यवस्था गरिनेछ।

कोरोनाको त्रासकै कारण दोलखामा ठूला सभा र कार्यक्रमहरु धमाधम स्थगित गरिएका छन्। टुँडिखेल मैदानमा गत बुधबारबाट चल्ने भनिएको १० दिने महोत्सव यस अघि नै रोकिएको छ।

खाद्यन्न जोहो गर्दै
कोरोनाको त्रासकै कारण अभाव श्रृजना हुने र खाद्य संकट आईपर्ने डरले सर्वसाधारण धमाधम खाद्यन्न र दैनिक उपभोग्य वस्तु किनेर थुपार्न थालेका छन्। अभाव हुने हल्लासंगै चरिकोटका किराना तथा खाद्यन्न पसलहरुमा सर्वसाधारणको घुईचो लागेको छ। दाल, चामल, नुन, तेल जस्ता उपभोग्य सामानको बिक्री ह्वात्तै बढेको छ। अभाव हुन सक्ने हल्लाका कारण स्थानीयले खाद्य सञ्चित गर्न थालेको चरिकोटका खाद्यन्न व्यवसायी समेत रहेका दोलखा उद्योग वाणिज्य संघका कार्य समिति सदस्य दिनेश बस्नेतले जानकारी दिए।      

प्रकाशित: २४ फाल्गुन २०७६ ०८:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App