८ वैशाख २०८१ शनिबार
राजनीति

निर्वाचन वातावरण नबनेकोमा राष्ट्रपति असन्तुष्ट

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले अझै पनि निर्वाचनको वातावरण नबनेकोमा प्रमुख राजनीतिक दलका शीर्ष नेतासँग असन्तुष्टि जनाएकी छन्। नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्रसहितका प्रमुख राजनीतिक दलका शीर्ष नेतालाई बिहीबार साँझ शीतल निवास बोलाएर राष्ट्रपति भण्डारीले निर्वाचनको वातावरण बनाउन आग्रह गरेकी हुन्।

'निर्वाचन कहिले गराउने हो, अझै चाँजोपाँजो मिलेको छैन,' राष्ट्रपतिलाई उद्धृत गर्दै भेटमा सहभागी मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका नेता रामजनम चौधरीले भने, 'यो संसद्को आयु २०७४ माघ ७ सम्ममात्र छ। त्यसभित्र तीनै तहको चुनाव गराइसक्नुपर्छ।'

राष्ट्रिय सहमतिबिना निर्वाचनको वातावरण नबन्ने दोहोर्‍याउँदै राष्ट्रपतिले संवैधानिक व्यवस्था र त्यसपछि आउन सक्ने संकटप्रति दलका नेताको ध्यानाकर्षण गरिन्। 'राष्ट्रिय सहमति निर्माण गरेर चुनावको वातारण बनाउनुस्,' राष्ट्रपतिले भनिन्, 'संवैधानिक व्यवस्थाअनुसार चुनाव हुन नसके मुलुक संकटमा फस्छ।'

जबाफमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल संविधानप्रति असन्तुष्ट राजनीतिक दललाई सम्बोधन नगरी निर्वाचन असम्भव रहेको बताए। उनले संशोधन प्रस्ताव संसद्मा टेबुल गराएपछि चुनावको वातावरण बन्ने आश्वासन राष्ट्रपतिलाई दिए। 'माघको पहिलो साताभित्र निर्वाचनसम्बन्धी कानुन निर्माण गर्न सके जेठको पहिलो साताभित्र स्थानीय निर्वाचन सम्भव छ,' भेटमा सहभागी एक नेताले दाहाललाई उद्धृत गरे, 'संशोधन प्रस्ताव टेबुल गरेर निर्वाचनको वातावरण बनाऊँ।'

निर्वाचन आयोगले चार महिनाको समय मागेको जनाउँदै प्रधानमन्त्री दाहालले सीमांकन समस्या समाधान भए प्रदेशसभाको पनि निर्वाचन गराउन सकिने बताए। निर्वाचनको वातावरण बनाउन संसद्को जारी अवरोध हटाउन प्रतिपक्षीसँग पुन आग्रह गर्दै प्रधानमन्त्रीले भने, 'त्यसो भए निर्वाचनको वातावरण बन्छ।'

कांग्रेस सभापति शेरबहादुर देउवा संविधान संशोधन प्रस्ताव संसद्मा टेबुल गराएर निर्वाचन मिति घोषणा गर्नुपर्ने प्रस्ताव गरेका छन्। संशोधन प्रस्ताव र निर्वाचन कानुन सँगै अघि बढाउनुपर्ने धारणा राख्दै देउवाले भने, 'चुनावमा त हामी जानुपर्छ, त्यसको अर्को विकल्प छैन।' संवैधानिक व्यवस्थाअनुसार तीनै तहको निर्वाचनपछि मात्र संविधान कार्यान्वयन सम्भव हुने उनको भनाइ थियो।

एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन प्रस्ताव फिर्ताले मात्र सहमतिको वातावरण बन्ने दोहोर्‍याएका छन्। शुक्रबार हुने एमालेको विरोधसभापछि पुनः छलफलमा बस्न आफू तयार रहेको जनाउँदै ओलीले भने, 'निर्वाचनको विकल्प छैन तर संशोधन प्रस्ताव फिर्ता नलगी सहमति सम्भव छैन।'

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले कैलाली र कञ्चनपुरलाई पनि ५ नम्बर प्रदेशमा राखेर सीमांकन विवाद अन्त्यको नयाँ प्रस्ताव राख्दै भने, 'झापा, मोरङ, सुनसरीमा सप्तरी र उदयपुर जोडेर आठौं प्रदेश बनाउँ्क।'

प्रदेश सीमांकन विवाद समाधान भएमा निर्वाचन सम्भव रहेको दाबी गर्दै उनले भने, 'सीमांकन विवाद अन्त्य गरौं र तीनवटा चुनाव क्रमबद्ध गरौं।'

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकलाई निकास दिन नयाँ शिराबाट सहमति गर्न प्रस्ताव गरे। कांग्रेस नेता रामचन्द्र पौडेलले संसद्को जारी अवरोध हटाएर संविधान संश्ाोधन प्रस्ताव टेबुल गर्नुपर्ने धारणा व्यक्त गरे।

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले संविधान संश्ाोधन प्रस्ताव टेबुल भएपछि निर्वाचनको वातावरण बन्ने बताए। मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका नेता रामजनम चौधरीले मधेसको मात्र नभई थारु र अन्य समुदायका मुद्दा सम्बोधन गरेर मात्र निर्वाचनमा जानुपर्ने धारणा राखेका थिए।

प्रकाशित: २२ पुस २०७३ ०२:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App