५ वैशाख २०८१ बुधबार
अन्य

‘अनार्किजम् हटाउन पुराणको सारांश लेखेँ’

वेद, उपनिषद्हरूले बताएका कुरालाई मिथकीय र व्याख्यात्मक शैलीमा आमजनताले बुझ्ने गरी लेखिएका ग्रन्थ नै पुराण हुन्। वेदकै व्याख्या हो– पुराण। पुराण अठार वटा छन्। यिनमा विविध विषय समेटिएका छन्, जुन समाजमा सुव्यवस्था कायम गर्न र वैज्ञानिकार आविष्कारका लागि उत्ति नै लोकोपयोग रहेको पाइएको छ।

उत्प्रेरणा
पुराणका प्रत्येक अध्यायको सारांश लेखन कार्यका लागि मैले आमाबाट प्रेरणा पाएको हुँ। आमा मलाई पुराणका सैद्धान्तिक कुरा सोध्नुहुन्थ्यो, बेलाबेलामा पुराण भन्न आग्रह पनि गर्नुहुन्थ्यो। म निकै व्यस्त हुन्थेँ। तैपनि, कहिलेकाहीँ फुर्सद भएको बेला भागवत् पुराणका केही अध्याय, गीता महाभारत, एकादशी महात्म्यहरू  उहाँलाई सुनाइदिन्थेँ। जागिरबाट अवकाश पाएपछि म फुर्सदिलो भएँ। यसै बेला उहाँले भन्नुभयो, ‘मलाई सबै पुराण सुनाइदेऊ।’

आमालाई एक महिना जति पुराण सुनाएपछि मेरो मनमा ट्र्याक ग-यो– आमालाई मात्र होइन, भावी पुस्तालाई समेत सहज तरिकामा पुराण सुनाउनुपर्छ। आमालाई पुराण सुनाउँदै गर्दा हरेक अध्यायको सारांश लेख्न थालेँ। यसरी लेख्दै जाँदा १८ वटै पुराणको नेपाली भाषामा सारांश लेख्ने योजना बनाएँ। मैले तीन–चार वटा पुराण सुनाइसकेपछि आमा बित्नुभयो। मैले उहाँलाई सबै पुराण सुनाउन नसके पनि भावी पुस्तालाई सुनाउन सक्छु भन्ने संकल्प गरें। यसकारण, मैले पुराण अध्ययन र यसका प्रत्येक अध्यायको नेपाली भाषामा सारांश लेखनलाई निरन्तरता दिइरहेँ। मैले १३ वटा पुराणको सारांश लेखिसकें। यिनलाई पुस्तकका रूपमा क्रमशः प्रकाशन गर्ने योजना बनाएको छु। यीमध्ये वामन, मार्कण्डेय र अग्नि पुराण प्रकाशित भैसकेका छन् भने शिव पुराण र गरुड पुराण प्रकाशनार्थ पठाइसकेको छु।

पुराण
पुराणलाई कर्मकाण्डका दृष्टिबाट मात्र होइन, आधुनिक तथा वैज्ञानिक ढंगबाट हेर्थें, जुन अझै कायमै छ। पुराणमा लोकोपयोगी विषयवस्तु कति छन् भन्ने हेर्नुपर्छ। कुन सन्दर्भमा पुराण लेखियो ? अहिले समाजले कुन सन्दर्भमा पुराणलाई आत्मसात् गरेको छ, यो हेरिनुपर्छ। पुराणमै महाभारत र रामायणको विषयवस्तु समेटिएका छन्। पहिला पुराण एउटै थियो। पछि वेद व्यासले अठार भागमा विभाजन गरिदिएका हुन् भन्ने पौराणिक वचन छ।

औषधि विज्ञानबारे विस्तृत रूपमा गरुण पुराणमा लेखिएको छ। बढी सुनिएको र पढिएको अंश मृत्यु संस्कारका सन्दर्भमा भनिने गुरुण पुराणको १६ अध्याय हो। गुरुण पुराण निकै ठूलो छ। यसका अरू अध्याय ओझेलमा छन्, जहाँ रोगको लक्षण, उपचार विधि र औषधिको नाम लगायत वैज्ञानिक र महŒपूर्ण विषयवस्तु समेटिएका छन्। तिनलाई प्रयोगशालामा परीक्षण गरेर प्रमाणित गर्ने काम भएकै छैन। आयुर्वेद विज्ञानबारे यति धेरै र व्याख्यात्मक रूपममा अन्य पुराणमा लेखिएको छैन। गुरुण पुराणबारे गहिरो अनुसन्धानको असाध्यै कमी छ। प्रेत मोक्ष र मुक्तिका कुरामा मात्र सुनिन्छ, तर वैज्ञानिक तथ्यलाई परीक्षण गरिएन। प्रवृत्ति मार्ग र निवृत्ति मार्ग जहाँ पनि हुन्छ।

पूर्वीय र पाश्चात्य साहित्य र शास्त्रको तुलनात्मक अध्ययन गरें। पश्चिमा दर्शनभन्दा हामी सर्वोत्तम रहेछौं भन्ने बोध भयो। उनीहरूले जीवलाई (स्थावर र जंगमलाई ठूलो मानेका छन्। योभन्दा माथि उठेर पूर्वीय दर्शनले आत्मा छ भन्ने चेत खुलाइदिएको छ। त्यस्तै, पुराणमा समय गणना गर्न पनि सिकाइएको छ। सूर्यचन्द्रको उदय, अस्त, नक्षत्र, ग्रह, तारा आदिको अवस्था पुराणमा विस्तृत रूपमा उल्लेख छ।

खास खास विषय खासखास पुराणमा उल्लेख गरिएको छ। भागवत् पुराणमा कृष्णका लीला र मुक्तिका बाटा, गुरुण पुराणमा प्रेत मुक्ति, नरक र स्वर्ग, दान र औषधि समेटिएको छ। त्यस्तै, शिवको माहात्म्य, त्रिदेव र परमात्माका विषय शिव पुराणमा समेटिएको छ। कुर्म महापुराणमा देवता र राक्षसबीचको लडाइँ हुने गरेको सन्दर्भ वर्णन छ। समुद्र मन्थन गर्दा महत्वपूर्ण कुरा लिनुपर्ने लगायत विषयवस्तु पनि छन्, जुन असाध्यै उपयोगी छ। बराह पुराणमा समुद्रमा डुबेको पृथ्वीलाई भगवान्ले बराह (सुँगुर) को रूप लिएर उद्धार गरेका थिए। यो त एउटा मिथक न हो। भविष्य पुराणमा विक्रमादित्यको इतिहास छ। इतिहास, तथ्य, सामाजिकता, अर्थशास्त्र, विज्ञान सवै कुरा पुराणमा पाइन्छ तर कत्ति कुराहरू आधुनिक समाजमा नमिल्ने जस्तो भएकाले अनुसन्धान र परीक्षण गर्नुपर्ने देखिन्छ। त्यस्तै, ब्रम्हाण्ड पुराणमा सृष्टिका विषयवस्तु समेटिएको छ। परमात्मा शाश्वत र अविनाशी छ। परमात्माले संसारको सृष्टि गर्ने क्रममा सबैभन्दा पहिले मह तत्व (पुरुष तत्व र प्रकृति तत्व) सृष्टि गरे। बुबाले मात्र सन्तान उत्पन्न गर्न सक्दैनन् भने जस्तो हो। पुरुष र प्रकृतिबाट सृष्टि सुरु हुन्छ। ब्रह्माले सृष्टि गर्दा मानस छोरा (मनले चिताउनेबित्तिकै) जन्माए, ती १० ऋषि थिए। पछि मनु र सतरूपाबाट मैथुनिक सृष्टि भएको मानिएको छ। पुराणमा व्यवहार, अर्ती उपदेश छन्।

देवीदेवता र राक्षस
परमात्मा एउटै छ। काम विशेषले परमात्मा तीन भागमा विभाजित भएको छ। श्रम विभाजनका सन्दर्भबाट यसलाई बुझ्न झनै सजिलो हुन्छ। ब्रह्मा, विष्णु र महेश्वर गरी परमात्माका तीन रूप भएको हो। त्यस्तै, शक्तिको पनि विभाजन गरिएको छ। सुरुमा पुरुष सत्ताको मात्रै विभाजन थियो। त्यही पुरुषले प्रकृति अर्थात् देवी जन्माए। पछि देवीका अनेक भेद देखिए। अष्टमात्रिका, नवदुर्गा पनि आवश्यकताअनुसार परमात्माकै रूप हुन्। राक्षस भनेको कर्मअनुसार हुन्छ। ईश्वरीय सत्ता एउटै छ। यसैभित्र ब्रह्माण्ड सिर्जना भएको हो।

पुराणको महत्व
पुराणको महत्व धेरै छ। पुराणका विषयवस्तुलाई आधुनिक संसारमा उपयोगमा ल्याउन अनुसन्धानको कमी भएको छ। यसकारण नयाँ पिँढी (भ्यालेन्टाइन डे जमातले)ले पुराण अध्ययन र यसका ज्ञानलाई बेवास्ता गरे। भविष्य पुराणमा कलिमा यस्तो हुनेछ भनिएको छ, त्यो लागू हँुदै आएको छ। ब्राह्मणले दुराचार गर्ने, हिंसा गर्ने भनियो, जुन पूरा हुँदै छ। ‘देवता र मन्दिर लुटिनेछ’ भनिएको छ, त्यस्तै हुँदै छ। श्रीमद् भागवतमा मानिसको आयु कम हुने र अनेक रोग बिरामीले सताउने उल्लेख छ। मानिसको आयु घट्दै गएको हामीले बोध गरेकै कुरा हो। पर्यावरण र नैतिक पतनका कारण मानिसको आयु घट्दै गएको हो। यज्ञ ऋषिलाई दिने उद्देश्यले गर्ने होइन, ब्रह्माण्डमा सुमधुर वातावरण निर्माण गर्न यज्ञ गर्ने हो। त्यस्तै, कोरोना जस्ता संक्रमण कुरा आउनु नौलो कुरा होइन। यस्ता रोग तथा महामारी आउनेछ भनेर पुराणमै लेखिएको छ।

सदाचार, आचार र नीतिका कुरा भविष्य पुराणमा उल्लेख छ, जुन पूरा हुँदै आएको छ। पछिल्लो समय सदाचारको पालना नगरेकै कारण समाजमा अनार्किजम् भित्रिएको छ। यही सदाचारीको शिक्षा दिनकै लागि पुराणको सारांश लेखिएको हो।

पुराण लेखन
पुराण माइन्ड प्रोग्रामिङको अवधारणामा लेखिएको होइन। वेदमा उल्लिखित विषयवस्तुलाई व्याख्या गरेर लेखिएको हो। कुनै शासकले समाजमा आफ्नो शासन तथा धर्म संस्कृति लाद्ने दृष्टिले पनि लेखिएको होइन। कलियुग सुरु भएको करिब पाँच हजार वर्ष भयो। एउटा युग चार लाख ३२ हजार कलिको आयु हो। सत्य, त्रेता, द्वापर तीनै युगमा पुराण लेखिएको हो। कुर्म पुराणमा आयुका बारेमा लेखिएको छ। व्यासले लेखिएको भन्ने छ। यसमा अनुसन्धानमा कमी छ। पुराण संस्कृति भाषामा लेखिएको छ। यो पद्य भाषामा लेखिएको छ। पुराणका अधिकांश खण्ड अनुष्टुप छन्दमा लेखिएका छन्। अरु वसन्ततिलका, शिखरणी, भजुंगप्रयत्नलगायत छन्द पनि प्रयोग गरिएको छ। रसिकता लागि पुराण छन्दमा लेखिएको हो।

जयतु संस्कृत
राणाकालमा नेपालमा शिक्षा प्रतिबन्धित थियो। उनीहरूविरुद्ध बोल्नेलाई दरबारभित्र लगेर मारिन्थ्यो। राणाहरूले आफ्ना छोराछोरीलाई पढाउन दरबार स्कुल खोले। सर्वसाधारणका छोराछोरी भाषा पाठशालामा गएर रुद्री, चण्डिकालगायत पढ्थे। संस्कृत पढ्नेहरू धेरै हुन्थे। दरबार हाइस्कुलका शिक्षकलाई बढी वेतन दिइन्थ्यो भने भाषा पाठशालाका शिक्षकलाई कम दिइन्थ्यो। राणाका छोराहरूले भूगोल, इतिहास, अंग्रेजीलगायत धेरै विषय पढ्न पाउँथे। तर, भाषा पाठशालाको त्यस्तो अवसर दिइएको थिएन।

राणा शासन फाल्न संगठनात्मक रूपमा त्यस बेला विद्यार्थीहरू सक्रिय थिए। दमनका कारण विद्यार्थीमा क्रान्तिकारी जागृत भयो। संस्कृत छात्रावासमा बसेका विद्यार्थीले आधुनिक भाषा पढ्न पाउनुपर्छ भनेर गरेको आन्दलोनका कारण वि. सं. २००४ मा जयतु संस्कृत स्थापना भएको हो। देखावटी रूपमा आधुनिक भाषा पढ्न पाउनुपर्ने आन्दलोन देखिए पनि भित्री रूपमा राणा शासन फालेर प्रजातन्त्र ल्याउने उद्देश्यमा केन्द्रित थियो।

आन्दोलनका रूपमा थियो। राजनीतिक परिवर्तन सँगसँगै सुषुप्त रूपमा आन्दोलनरत थियो। वि. सं. २०५४ सालमा श्रीभद्र शर्मा, राजेश्वर देवकोटालगायतले प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको पालामा ठुलो कार्यक्रम गरी जयतु संस्कृत संस्था स्थापना भयो। पहिलो अध्यक्ष श्रीभद्र शर्मा भए। त्यसपछि हेमराज ज्ञवाली अध्यक्ष भए। विधानअनुसार ३ वर्ष हो। तेस्रो विद्यानाथ उपाध्याय र चौथो बद्री पोखरलले अध्ययक्ष छन्। यसले संस्कृत भाषा साहित्यको प्रवद्र्धनका लागि भूमिका खेल्दै आएको छ। संस्कृतिका पाँच वटा धार हुन्छन्– कर्मकाण्ड, साहित्य, दर्शन (पूर्वीय दर्शन), विज्ञान, योग।

एउटा मात्र धार समातियो। र यस धारलाई अतिरिञ्जित गरियो। पाश्चात्य विद्वान्ले साहित्य, दर्शन, विज्ञान र योग समातेका छन्। ठोस काम पुस्तक प्रकाशन गरेर सचेतना कार्यक्रम गरिन्छ।

पुराण अध्ययन
आफ्नो आचरण, अस्तित्व र मानवीयता बुझ्न पुराण पढ्नुपर्छ। सर्वप्रथम मानिसले आफैँले आफैँलाई बुझ्नपर्छ। मान्छे कसरी सृष्टि गरियो, बाँचुन्जेल के कस्ता कर्ममा आबद्ध हुनुपर्छ। मृत्युपछिको गन्तव्य कहाँ हो ? यसरी जन्मदेखि मृत्युपछि पनि के कस्ता यात्रा गर्छन्, यस विषय पुराणमा छ। म कहाँबाट आए ? मेरो कस्तो अस्तित्व छ ? मेरो दायित्व के हो ? यस्ता कुराको खोजी गरिनुपर्छ।

पुराणको अध्ययनपश्चात् चोरीचकारी, बदमासी, पाप (दुष्कृत्य) कमै हुँदै जान्छ र सामाजिक व्यवस्था कायम हुन्छ। धार्मिक ग्रन्थ मिथक आस्वाद गर्ने दृष्टिले भन्दा सदाचार सिकाउने शास्त्रका रूपमा पढिनुपर्छ।

पुराणमा धार्मिक सहिष्णुताका कुरा प्रशस्तै छन्। धार्मिक सहिष्णुता नभएरै समाजमा अव्यवस्था आएको हो। पुराणभित्र आलोच्य विषय पनि छन्। कति कुरा दोहोरिएका छन्, तेहेरिएका छन्। तर, पुराणभित्रका राम्रा पक्षहरू खोजिनुपर्छ। नराम्रो कुराको पछि लाग्नु भनेको त समयको बर्बादी मात्रै हो। यसले समाजलाई पनि फाइदा पुग्दैन। पुराणभित्रका राम्रा कुराको खोजी गर्नुपर्छ। आफूले आफैँलाई चिनेर समाज चिन्नका लागि पुराण निकै उपयोगी हुन्छ। त्यस्तै आ–आफ्नो कर्तव्य हासिल गर्न समेत पुराण पढिनुपर्छ।
(जयतु संस्कृतका अध्यक्ष तथा नेपाल सरकारका पूर्व सहसचिव पोखरेलसँग नागरिककर्मी दीपक ठकुरीले गरेको कुराकानीमा आधारित)

प्रकाशित: २४ फाल्गुन २०७६ ०३:३८ शनिबार

पुराण सारांश