coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

महिला मूत्राशय संक्रमण र समाधान

डा. गणेश दंगाल
स्त्री तथा प्रशूति रोग विशेषज्ञ

मूत्रनली, मूत्रथैली तथा मिर्गौलाको संक्रमण सामान्यतया पुरुषको तुलनामा महिलामा धेरै हुने गर्छ। सामान्य खालको संक्रमण भए केही दिन मात्र प्रतिजैविक औषधि खाए हुन्छ। तर जटिल तथा गम्भीर संक्रमण भएका वा संक्रमणको केन्द्रबिन्दु मिर्गाैलामा भए जटिल खालका प्रविधिद्वारा अस्पतालमै भर्ना गरी लामो समय उपचार गर्नुपर्ने हुन सक्छ।
०००
महिलामा देखापर्ने एउटा स्वास्थ्य समस्या मूत्राशय संक्रमण पनि हो। विभिन्न किटाणुका कारण यस्तो समस्या सिर्जना हुने गर्छ। संक्रमणपछि अनेकन् लक्षण देखिन्छन्। तिनै लक्षणका आधारमा मूत्रनली तथा मूत्रथैलीको संक्रमणका कीटाणुहरू कुन ठाउँमा केन्द्रित भई बसेका छन् भन्नेमा भर पर्छ।

मूत्रथैलीमा संक्रमण केन्द्रित भए बारम्बार पिसाब लाग्ने, पिसाब गरिसकेपछि पनि पूर्ण सन्तुष्टि नहुने तथा घरीघरी पिसाब फेर्न मन लाग्ने, थोरै तर धेरैपटक पिसाब लाग्ने, पिसाब पोल्ने, मूत्र निष्कासन नलीमा जलन हुने, जतिपटक पिसाब भए पनि पुनः उत्तिकै आतुरी र असजिलो हुने, पिसाबमा रगत देखापर्ने र पिसाब धमिलो देखिन सक्छ। कसैकसैलाई ज्वरो आउन सक्छ।

संक्रमण मिर्गाैलामा केन्द्रित भए माथि उल्लेख गरिएका लक्षणबाहेक कामज्वरो आउने, जाडो भएर कम्पन हुने, कम्मर तथा ढाड दुख्ने, कमजोरी महसुस हुन सक्छ। यसरी संक्रमण भए÷नभएको थाहा पाउन पिसाब जाँच गराउनुपर्छ। साधारण पिसाबको जाँचपछि पिसाब संक्रमण भए÷नभएको पत्ता लगाउन सकिन्छ।

यसबाहेक पिसाबको विशेष (कल्चर र सेन्सिटिभिटी) जाँच गरी पिसाबमा कुन प्रकारको किटाणु छ र त्यसलाई कुन औषधिले निर्मूल पार्न सकिन्छ भनेर थाहा पाउन सकिन्छ। सामान्यतया कल्चर जाँचका लागि दुईदेखि तीन दिनको समय लाग्ने गर्छ। यसबाहेक रगतको परीक्षण, एक्सरे, भिडियो एक्सरे, सिस्टोस्कपी आदिको पनि महत्वपूर्ण भूमिका हुन्छ। यसरी सम्पूर्ण जाँचपछि रोगको उचित निदान गरेर उपचार गर्न सजिलो हुन्छ।

कसैकसैमा बारम्बार  यस्तो संक्रमण दोहोरिन सक्छ। त्यस्तो समस्या भए विशेष खालका जाँच गरेर संक्रमण दोहोरिँदै देखापर्ने कारण थाहा पाउनुपर्छ। मधुमेह भए/नभएको  पत्ता लगाउन सुगरको जाँच गर्नुपर्छ। त्यस्तै पिसाबको थैली पनि तल झरेको छ कि छैन भनेर जाँच गर्दा थाहा  हुन्छ। कसैकसैलाई पत्थरीको कारणले मूत्रनलीमा या मिर्गाैलामा अवरोध हुन सक्छ। त्यसैले यसका लागि पनि जाँच गर्नुपर्छ। मूत्र निष्कासन नली साँघुरिएको वा दोब्रिएको छ कि छैन थाहा पाउनुपर्छ। मिर्गाैलाबाट पिसाबथैली पुग्ने नली तथा मूत्र निष्कासन नलीतिर जाने नसा राम्रो अवस्थामा छन् कि छैनन् भन्ने थाहा पाउनुपर्छ। पिसाबनलीमा कुनै समस्या छ कि छैन ? वा कब्जियत आदि भएमा त्यसको समाधान गर्नुपर्छ।

माथि उल्लिखित अवस्थाहरू थाहा पाउन विशेष खालका जाँच जस्तै, सिटी स्क्यान, एमआरआई, युरोफ्लोमेट्री तथा युरोडाइनामिकजस्ता जटिल जाँचहरू गर्नुपर्ने हुन सक्छ। यस्ता महिलाहरूको उपचारका लागि प्रतिजीवाणु औषधिहरू प्रयोग गर्नुपर्ने हुन्छ। तर यी औषधिहरूको प्रयोग गर्दा वा छान्दा पिसाबको जाँच गरेर उम्रेका किटाणुलाई मार्ने तर गुणकारी किटाणुको वृद्धिमा असर नपार्ने साइड इफेक्ट कम हुने खालको हुनुपर्छ।

मूत्रनली, मूत्रथैली तथा मिर्गौलाको संक्रमण सामान्यतया पुरुषको तुलनामा महिलामा धेरै हुने गर्छ। सामान्य खालको संक्रमण भए केही दिन मात्र प्रतिजैविक औषधि खाए हुन्छ। तर जटिल तथा गम्भीर संक्रमण भएका वा संक्रमणको केन्द्रबिन्दु मिर्गाैलामा भए जटिल खालका प्रविधिद्वारा अस्पतालमै भर्ना गरी लामो समय उपचार गर्नुपर्ने हुन सक्छ। खासगरी गर्भवती, मधुमेह, पक्षाघात र रोगसँग लड्ने शक्ति कम भएका महिलामा जटिल संक्रमण हुने खतरा बढी हुन्छ। त्यस्तै कुनै कारणवश मूत्र प्रणालीमा अवरोध भएको अवस्थामा जस्तै पत्थरी हुँदा मा पनि जटिल पिसाब संक्रमण हुने डर हुन्छ। जटिल पिसाब संक्रमण छ भने पिसाब संक्रमणका लक्षणबाहेक कमजोर अनुभव हुने, काम ज्वरो आउने, बान्ता गर्ने र सामान्य प्रतिजीवाणुको औषधि प्रयोग गर्दा पनि लक्षणमा सुधार नआउने हुन्छ। यस्ता महिलाहरूलाई अस्पतालमा नसाद्वारा प्रतिजीवाणु औषधि दिई उपचार गर्नुपर्छ। अन्यथा मिर्गौला खराब हुने वा ज्यानै जाने खतरा रहन्छ।

प्रतिजीवाणु औषधिबाहेक यौनांगको सरसफाइ गर्ने बानी बसाल्नुपर्छ। कसैकसैलाई योनिमा प्रयोग हुने शुक्राणुनाशक जेल वा क्रिमको (परिवार नियोजनका साधन) कारणले पनि यौनांगहरूको सूक्ष्म वातावरणलाई प्रभावित गरी मूत्र संक्रमण हुने सम्भावना हुन्छ। त्यसो भएमा ती महिलाहरूले त्यस्ता साधनहरूको प्रयोग बन्द गर्नुपर्छ। यो संक्रमणको उपचार चुनौतीपूर्ण भए पनि सम्भव छ तर त्यसका लागि सबैले आवश्यक पहल गर्नु जरुरी छ। यसका लागि बिरामी स्वयं, उनका परिवार र उपचारमा संलग्न चिकित्सकहरू सबैको उत्तिकै भूमिका रहन्छ।
(लेखक काठमान्डु मोडल अस्पतालअन्तर्गत स्त्रीरोग विभागमा कार्यरत छन्।)

प्रकाशित: २४ फाल्गुन २०७६ ०३:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App