८ वैशाख २०८१ शनिबार
खेल

एपिएफ झापा - ११ सँग स्तब्ध

एपिएफविरुद्ध बल अगाडि बढाउने प्रयास गर्दै झापा–११ का खेलाडी। तस्बिर : नागरिक

पाोखरा - आहा रारा गोल्डकप फुटबलको क्वार्टरफाइनलमा एपिएफ क्लब शुक्रबार झापा–११ सँग स्तब्ध भएको छ।

सहारा क्लब पोखराको आयोजनामा पोखरा रंगशालामा भएको खेलमा एपिएफ झापा–११ सँग टाइब्रेकरमा ५–३ ले निराश भएको हो। झापाको जितमा गोलकिपर राजकुमार लिम्बु नायक बने। निर्धारित ९० मिनेटको समय गोलरहित र त्यसपछि थपिएको अतिरिक्त ३० मिनेटको समय १–१ को बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो। टाइब्रेकरमा झापाका कप्तान अंकुर तामाङ, मौसम लिम्बु, प्रमोद चौधरी, हेमन्त थापामगर र विशाल दर्जीले गोल गरे। एपिएफका तर्फबाट नवीन लामा, राजीव लोप्चन र राजु नगरकोटीले गोल गर्दा सुदीप शिख्राकार असफल भए। सुदीपको प्रहार झापाका गोलकिपर राजकुमार लिम्बुले रोकेपछि एपिएफ स्तब्ध बन्यो। अतिरिक्त ३० मिनेटको अन्तिम समय झापा सम्हालिन नसक्दा खेल पेनाल्टी सुटआउटर्फ गएको थियो।

झापाले थप समयको २१औं मिनेटमा गोल गर्दै अग्रता लिएको थियो। आक्रामक खेल खेलेको एपिएफसामु दबाबमा खेलिरहेको झापाका सुनील खड्काले गोल गर्दै आफ्नो टोलीलाई जितको सम्भावना देखाए। अभिषेक गुरुङको पासमा सुनीले कडा प्रहार गर्दै बललाई जाली चुमाए। एक गोलले पछि परेपछि थप आक्रामक बनेको एपिएफले खेलको अन्तिम मिनेटमा गोल फर्काउँदै तत्कालका लागि हारको संकट टारेको थियो। एपिएफका आकाश बुढामगरले गोल गरेका हुन्। उनले प्रहार गरेको बल पोलमा लागेर फर्किएपछि झापाका गोलकिपर राजकुमार लिम्बुले समात्न खोज्दा फुत्किएर गोलमा परिणत भएको थियो। निर्धारित समयको ५३औं मिनेटमा एपिएफले पेनाल्टी अवसर खेर फालेको थियो।

पेनाल्टी क्षेत्रमा झापाका गोलकिपर राजकुमार लिम्बुले एपिएफका नवीन लामालाई फउल गरेपछि रेफ्रीले पेनाल्टी दिएका थिए। तर नवीनको प्रहार रोक्दै राजकुमारले झापालाई पछि पर्नबाट जोगाएका थिए। शनिबारदेखि क्वार्टरफाइनल खेल सुरु हुने आयोजक सहारा क्लबले जनाएको छ। क्वार्टरफाइनलको पहिलो खेलमा शनिबार आयोजक सहारा क्लबविरुद्ध विभागीय टोली नेपाल पुलिस क्लब उत्रिनेछ। पोखरा रंगशालामा भएको खेलमा झापा–११ सँग टाइब्रेकरमा ५–३ ले निराश हुँदै एपिएफ प्रतियोगिताबाट बाहिरियो। झापाको जितमा नायक बनेका गोलकिपर राजकुमार लिम्बुले टाइब्रेकरमा एपिएफका सुदीप शिख्राकारको प्रहार असफल बनाए।

प्रकाशित: २४ फाल्गुन २०७६ ०१:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App