४ वैशाख २०८१ मंगलबार
स्वास्थ्य

कोरोनाबारे संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोनाको जोखिम न्यूनीकरणका लागि भईरहेको पहल तथा कोरोना विरुद्धको राष्ट्रिय संकल्प आवश्यक रहेको भन्दै संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस गरेको छ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा नेपाली कांग्रेसका सांसद गगन कुमार थापाले जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गरे। उनले कोरोना संक्रमणबाट बच्चनका लागि एकीकृत कार्यसञ्चालन गर्न र तत्काल एक्सन प्लान बनाई सार्वजनिक गर्न सरकारलाई आग्रह गरे। अहिलेसम्म नेपालको सुखद अवस्था भएपनि इरानको जस्तो एकै पटक संक्रमणको अवस्था देखिए के गर्ने भन्ने सन्दर्भमा पनि समयमै सोच्नुपर्ने उनले बताए। सीमामा चेक जाँचको क्षमता, स्वास्थ्य चेक जाँचको क्षमता लगायत विभिन्न कारणले विश्व स्वास्थ्य संगठनले नेपाललाई उच्च जोखिममा राखेको भन्दै उनले तत्काल गर्नुपर्ने तयारीका बारेमा सबै सरकार, सबै मन्त्रालय, संसद, समुदाय लगायत सबै एकै ठाउँमा आएर काम गर्नुपर्ने आवश्यकता औल्याए। सबै देशले आवश्यक तयारी गरेको र भिषा रद्द पनि गर्न थालेको उल्लेख गर्दै थापाले नेपालभन्दा बाहिरबाट नेपाल आउनेहरुको ट्रयाकिङ्ग गर्न आवश्यक रहेको बताए। कोरोनाबारे विभिन्न कुरा बाहिर आउँदा सर्वसाधरणमा त्रास र दुविधा बढाएको भन्दै एकद्धार प्रणालीबाट सूचना र जानकारी सार्वजनिक गर्न पनि आग्रह गरे।

विवाह ब्रतबन्ध, भोजभतेर र सभासम्मेलन रोक्न भने पनि विद्यालय खुल्ला भएको , संसद बैठक सञ्चालन भईरहेको, सरकारकै मन्त्री विदेश भ्रमणमा रहेको भन्दै सरकारलाई एकद्धार प्रणालीबाट सूचना सम्प्रेषण गर्न र विदेश बाट फर्किएकाको राम्रो चेकजाँचको व्यवस्था गर्न आग्रह गरे। विदेशी नागरिक नआउने, सभा सम्मलेन नगर्ने भन्ने वित्तिकै , होटेल, एयलायन्स संगै बैक  लगायत  मुलुकका विभिन्न क्षेत्र प्रभावित हुने भन्दै उनले आवश्यक तयारी गर्न आग्रह गरे।

बढी जानकारी भएपनि मानिस त्रसित हुने भन्दै थापाले कोरोना संक्रमण नियन्त्रणका लागि आवश्यक तयारी रहेको तथा कोरोनाका कारण कुनै पनि सामाग्रीको आपुर्तिलाई तलमाथि गर्न दिन्नौ भनेर सरकारले जनतालाई आश्वस्त गर्नुपर्ने बताए।

कालाबजारी अन्त्य गर्नका लागि प्रभावकारी ढंगले अघि बढ्न आग्रह संसदमा आग्रह गरे। खाली रहेका भवनहरुलाई आवश्यक पर्दा प्रयोग गर्न सक्ने गरि तयारी अवस्थामा राख्न, क्रिटिकल केयरको वेड विस्तार गर्न, अस्पताललाई आधारमा राखेर काम गर्नुपर्ने कामहरुको सूची तयार पार्न स्वास्थ्य मन्त्रालयलाई आग्रह गरे। उनले विश्व स्वास्थ्य संगठनले विहिबार दिउँसोसम्म सार्वजनिक गरेको कोरोनाको अवस्था सम्बन्धी तथ्यांक जानकारी दिदै नेपालले आवश्यक तयारी गर्न ढिलाई गर्न नहुने बताए। सांसद थापाले प्रस्तुत गरेको जरुरी सार्वजनिक महत्वको प्रस्तावको सञ्जय कुमार गौतम, दिव्यमणि राजभण्डारी, राजेन्द्र कुमार केसी र डाक्टर नारायण खड्काले समर्थन गरेका छन्।

प्रतिनिधिसभा कार्यसञ्चालन नियमावलिको नियम ७१ बमोजिम सांसद थापाले जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गर्नुभएको हो ।

प्रकाशित: २३ फाल्गुन २०७६ ०७:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App