coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

आयात रोकिए पनि औषधी पर्याप्त

फाइल तस्बिर /नागरिक

काठमाडौं - औषधीव्यवस्था विभागले भारतले निर्यातमा प्रतिबन्ध लगाएपनि मुलुकमा तत्काल औषधीअभाव नहुने बताएको छ। भारतको विदेश व्यापार महानिर्देशनालयले मंगलबारदेखि केही औषधी निर्यातमा रोक लगाएको छ।

भारतले सार्वजनिक सूचनामार्फत पारासिटामोल, विभिन्न भिटामिन सहित २६ प्रकारका औषधी र कच्चा पदार्थ निर्यातमा रोक लगाएको छ। भारतले कोरोना भाइरस संक्रमणले आफ्नो मुलक संकटमा फस्न सक्ने र उक्त समयमा हुने अभावको सामना गर्न यस्तो निर्णय लिनुपरेको जनाएको छ। विभागका सूचना अधिकारी सन्तोष केसीले विभागले उत्पादक, व्यवसायी तथा अन्य सरोकारवाला निकायबीचको छलफलबाट अहिलेकै मौज्दात र कच्चा पदार्थले कम्तीमा पाँच महिना औषधीअभाव नहुने निष्कर्षमा पुगेको बताए। ‘उत्पादकसँग भएको कच्चा पदार्थले तीन महिनाभन्दा बढीलाई पुग्ने औषधीउत्पादन हुनसक्छ। त्यस्तै डेढ महिनाभन्दा बढीलाई पुग्ने अहिलेकै मौज्दात बजारमा छ,’ उनले भने,‘यसले अर्को पाँच महिनासम्मलाई औषधीको अभाव रहन्न। हामीलाई विकल्प खोज्नपनि पर्याप्त समय रहन्छ।’

सूचना अधिकारी केसीले कच्चा पदार्थ र औषधी ल्याउने अन्य मुलुकको पहिचान भइरहेको बताए। ‘हामीले सबैतिर बुझेका छौं। औषधी पर्याप्त छ,’ उनले भने, भारतले रोकेका औषधी साधारण खालकै हुन्, डराइहाल्नुपर्ने स्थिति छैन। उनले भारतले निर्यातमा प्रतिबन्ध लगाएका सबैजसो औषधी नेपालमै उत्पादन भइरहेको बताए। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले औषधी, खाद्यान्नलगायत अभाव हुन नदिन सरोकारवाला निकायसँग छलफल भइरहेको जानकारी दिए। ‘अहिले बढी अभाव देखिएको मास्क र सेनिटाइजर हो, अभावटार्नकै लागि विकल्पमा छलफल भइसकेको छ,’ उनले भने,‘मुख्य सचिवज्यूले तत्काल मास्क र सेनिटाइजर उत्पादन गर्ने खालको मेसिन किन्ने बजेट व्यवस्थापन गर्न अर्थलाई निर्देशन दिनुभएकोले त्यसको समस्या पनि टर्छ।’

सुवेदीले यसको व्यवस्थापनको लागि निजी क्षेत्रसँग पनि छलफल भइरहेको बताए। उनले बजारम कृत्रिम अभावहुन नदिन मौज्दात व्यवस्थापन र नियन्त्रणमा ध्यान दिन व्यवसायीलाई सुझाएको बताए। ‘विभागले नियमित अनुगमनमा पनि तीव्रता दिएको छ,’ उनले भने,‘यो अवस्था लम्बिने होइन, यसलाई सबैले सामान्य रुपमा लिइदिनुपर्‍यो।’उनले मास्कको अस्वाभाविक मूल्य राख्ने र कृत्रिम अभाव सिर्जना गर्ने क्षेत्रपाटीका आइज्याक सपोर्ट र नेपाल केयर सर्जिकललाई २–२ लाख जरिवाना गरेको बताए। सरकारले औषधी निर्यात फुकुवा गर्न भारतलाई आग्रह गर्ने निर्णय समेत गरेको छ। कोरोना रोकथाम तथा नियन्त्रण गर्ने विषयमा उच्चस्तरीय समन्वय समितिले नेपालको हकमा निर्यात खुलाउन भारतलाई आग्रह गर्ने निर्णय गरेकोबिहीबारको नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं समन्वय समितिका सदस्य युवराज खतिवडाले जानकारी दिए।

देउराली जनता फर्मास्युटिकल्सका कार्यकारी निर्देशक हरिभक्त शर्माले अहिले नै अभावको स्थिति नआउने भए पनि दीर्घकालीन रुपमा समस्या आउन नदिन सरकारसचेत रहनुपर्ने बताए। ‘अहिले नै मौज्दातमा समस्या छैन, तर यसो भनेर चुपचाप बस्न मिल्दैन,’ उनले भने,‘भारत, चीनबाहेक मुलुकबाट कच्चा पदार्थ र औषधी ल्याउनपनि समस्या आउन सक्छ। त्यसतर्फ ध्यान दिनुपर्छ।’ उनले अहिलेदेखि नै सिपिङ तथा कार्गोमा समस्या देखिएकोले भोलि यी माध्यमबाट ढुवानी ठप्प भए स्थिति फरक हुने बताए।

प्रकाशित: २३ फाल्गुन २०७६ ०२:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App