६ वैशाख २०८१ बिहीबार
स्वास्थ्य

पूर्वी नेपालका नाकाहरूमा जाँच केन्द्र

इलामको पशुपतिनगरस्थित नेपाल–भारत सीमा नाकामा बिहीबार भारतबाट नेपाल भित्रिनेहरूको तापक्रम जाँच गरिँदै। तस्बिर: नागरिक

इलाम – नोबल कोरोना भाइरस (कोभिड १९) नियन्त्रणका लागि भारतसँग जोडिएका पूर्वी नाकाबाट आउने–जानेका जाँच भइरहेको छ। झापा र इलामले भारतसँग छोएका नाकाहरूमा हेल्प डेस्क राखेरै यहाँबाट आउजाउ गर्नेको तापक्रम जाँच गरिँदैछ भने पाँचथर–ताप्लेजुङका पूर्वी र उत्तरी नाकामा सतर्कता अपनाइएको छ।

पूर्वमा भारतसँग छोएको मुख्य नाका झापाका काँकरभिट्टाका ठाउँठाउँमा हेल्प डेस्क राखिएको प्रजिअ उदयबहादुर रानामगरले बताए। ‘काँकरभिट्टा, मेचीनगर, भद्रपुर, गौरीगन्जलगायत मानिसको मुख्य आउजाउ हुने स्थानमा कोरोना जाँच केन्द्र राखिएको छ,’ उनले भने, ‘गत १४ गते नै निर्णय गरेर नाकाहरूमा सतर्कता अपनाइएको हो।’ नाकामा राखिएका जाँच केन्द्रमा अहिलेसम्म कोही व्यक्तिमा पनि कोरोनाको आशंका नदेखिएको उनले जानकारी दिए। ‘सबैलाई जाँच नगरी विशेषगरी विदेशबाट आउने र जानेलाई जाँच्दैछौं,’ उनले भने, ‘कोरोनाबाट बच्न अन्य सुरक्षाका के उपाय अपनाउन सकिन्छ भन्नेबारे छलफल गर्दैछौं।’

पूर्वी पहाडकै एक मात्र सहज भारतीय नाका इलामको पशुपतिनगर भएर आउजाउ गर्नेको तापक्रम जाँच्न सुरु गरिएको छ। पशुपतिनगरमा २ हेल्प डेस्क राखेर बुधबार साँझदेखि नाकाबाट बाहिरिने–भित्रिने प्रत्येक व्यक्तिको तापक्रम जाँच भइरहेको छ। बुधबार साँझदेखि बिहीबारसम्म जाँच गरिएका सबै व्यक्तिको तापक्रम सामान्य नै देखिएको सूर्याेदय नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख धनराज यादवले जानकारी दिए। ‘यहाँबाट आउजाउ गर्ने प्रत्येक व्यक्तिको हिस्ट्री (पृष्ठभूमि) सोधेर तापक्रम जाँच गर्दैछौं,’ उनले भने, ‘अहिलेसम्म धेरैजनाको तापक्रम जाँचियो, सबैको सामान्य नै पाइएको छ।’

एउटा डेस्कमा नेपालबाट बाहिर जानेको र अर्काेमा नेपाल भित्रिने व्यक्तिको तापक्रम जाँच गरिँदैछ। यताबाट बाहिरिने व्यक्तिलाई कोरोनाबारे सचेत गराएर सुरक्षित रहन आग्रहसमेत गरिरहेको यादवले बताए। डेस्कमा रहेका स्वास्थ्यकर्मीले तापक्रम जाँच्न ‘थर्मल गन’ प्रयोग गरिरहेका छन्। ‘थर्मल गनले सम्बन्धित व्यक्तिको शरीरमा नछोई तापक्रम जाँच्न सकिन्छ,’ उनले भने, ‘यहाँ तीन थर्मल गन ल्याएका छौं।’ एउटा थर्मल गनको मूल्य ६ देखि १२ हजार रुपैयाँसम्म पर्ने उनले बताए।

भारततिरबाट आउने व्यक्तिको तापक्रम बढी पाइए वा कोरोनाको आशंका भए उतै फिर्ता पठाइने नगरले जनाएको छ। सूर्याेदय नगरका मेयर रणबहादुर राईले नेपालबाट बाहिरने व्यक्तिमा त्यस्तो आशंका भए सम्बन्धित स्वास्थ्य संस्थामा उपचारका लागि पु-याउन समन्वय गर्ने जानकारी दिए। बिहान ६ देखि साँझ ६ बजेसम्म डेस्क खुला राखिनेछ। राति नाकाबाट आउ–जाउ नै बन्द गर्न प्रहरीसँग सहकार्य गरिएको नगरले जनाएको छ। नगरपालिकाको विपद् उद्धार समिति बैठकले भारतीय नाकाबाट कोरोनाको जोखिम कम गर्न नाकामा हेल्प डेस्क राख्ने निर्णय गरेको थियो।

इलाम सदरमुकाममा बसेको सरोकारवालाको बिहीबारको बैठकले कोरोनाबारे चेतनामूलक कार्यक्रम गर्ने निर्णय गरेको छ। बैठकले मानिस आउ–जाउ हुने सीमा नाकाहरूमा निगरानी बढाउने, आवश्यकताअनुसार भारतीय समकक्षीसँगसमेत समन्वय गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। जिल्लाबाहिरबाट आएर होटलमा बस्ने पाहुनाको तापक्रम जाँच गरी अस्वाभाविक पाए होटलले तुरुन्त अस्पतालसम्म पु-याउने व्यवस्था मिलाउने पनि निर्णय गरिएको छ। इलाम कारागारका कैदीबन्दीलाई भेट्न आउने व्यक्तिमाथि पनि विशेष निगरानी बढाउने, अस्वाभाविक तापक्रम भएका व्यक्तिलाई भेटघाट गर्न नदिने, लामो तथा छोटो दूरीका सवारीसाधनमा यात्रा गर्दा अनिवार्य रूपमा मास्क लगाउने व्यवस्था मिलाउने निर्णय पनि भएको जिल्ला प्रशासन कार्यालयका शाखा अधिकृत सफल पोर्तेलले बताए।

पाँचथरमा नियमित रूपले मानिस आउजाउ गर्ने भारतीय नाका छैनन्। फालोटमा भारतको पश्चिम बंगाल र चिवा भन्ज्याङमा सिक्किमले पाँचथरलाई छोएका छन्। तर दुवैतर्फका बस्तुभाउ चराउने किसानबाहेक यी क्षेत्रमा खास चहलपहल नभएको प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीले बताए। ‘म अस्तिको दिन मात्र नाका निरीक्षणमा गएको थिएँ,’ प्रजिअ वस्तीले बिहीबार भने, ‘भारतीय नाकामा चहलपहल छैन, नाकाबाट कोरोना भित्रिने खासै सम्भावना देखिँदैन।’ यतिबेला ती क्षेत्रमा पनि हिमपात भइरहेको र वस्तुभाउका गोठ पनि तलतिर सारिएकाले नाकाहरू सुनसान रहेको उनले बताए। जिल्लामा कोरोनाबाट बच्न सूचना जारी गरिएको र भेला, सांस्कृतिक कार्यक्रमहरू आयोजना नगर्न सूचित गरिएको उनले बताए।

ताप्लेजुङमा चीनसँग जोडिएको ओलाङचुङगोला नाकामा अहिले मानवीय चहलपहल छैन। नाकामा भीडभाड नभएकाले चीनतिरबाट अहिले कोरोनाको संक्रमण फैलिने सम्भावना नरहेको प्रजिअ डोलेन्द्र निरौलाले बताए। ‘हामीले औपचारिक रूपमा भेला, कार्यक्रम र भीडभाड हुने कार्यक्रममा रोक त लगाएका छैनौं तर आयोजकहरू आफैंले सजक भएर पूर्वनिर्धारित त्यस्ता कार्यक्रम स्थगित गर्दै हुनुहुन्छ,’ उनले भने, ‘कोरोनाबारे शुक्रबार स्वास्थ्य कार्यालयले चेतनामूलक कार्यक्रम राखेको छ।’ उनले ओलाङचुङ गोलामा अहिले हिउँ परिरहेको र आउँदो चैत १५ अघि त्यो नाकामा कुनै मानवीय चहलपहल नहुने बताए। भारततिरबाट पनि कोरोना भित्रिनेगरी मानव आउजाउ नभएको उनको भनाइ छ। शुक्रबार नै बैठक बसेरजात्रा, जुलुसलगायत मानिस भेला हुने कार्यक्रम नगर्न आग्रह गरिने प्रजिअ निरौलाले जानकारी दिए।

प्रकाशित: २३ फाल्गुन २०७६ ०२:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App