१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

इन्दिरा र लुम्बिनीले किसानलाई १९ करोड भुक्तानी दिएन

नवलपरासीको प्रतापपुरका किसान मिलमा लैजान ट्र्याक्टरमा उखु लोड गर्दै। पोहोरकै पैसा नपााएका किसानले यसपालि फेरि उधारोमा उखु बेच्दैछन्। तस्बिर : रेखा/नागरिक

नवलपरासी - सरकार र चिनी उद्योगीबीच माघ ७ गतेभित्रै उखुको सम्पुर्ण भुक्तानी चुक्ता गर्ने लिखित सहमति भए पनि नवलपरासीका किसानले अझै पनि उखुको करोडौं भुक्तानी पाएका छैनन्। फागुन तेस्रो सातासम्म यहाँका दुईवटा उद्योगले  किसानलाई १९ करोड भुक्तानी दिन बाँकी छ।

सुनवलस्थित लुम्बिनी चिनी कारखानाले पोहोरको उखुको १० करोड रुपैयाँ भुक्तानी दिएको छैन। पोहोर करिब सवा दुई लाख क्विन्टल उखु क्रसिङ गरेको लुम्बिनीले अहिलेसम्म किसानलाई एक रुपैयाँ भुक्तानी नदिएको उखु उत्पादक कृषक समिति नवलपरासीका अध्यक्ष उमेशचन्द्र यादवले  बताए। ‘उद्योगले भुक्तानी मात्रै रोकेको छैन। यसपालि उखु क्रसिङ नै गरेन,’ उनले भने। मिलको मुख्य गेटमै ताला लगाइएको छ। उद्योगका सञ्चालक र कर्मचारी पनि सम्पर्कमा छैनन्। उखुको भुक्तानी माग्न कहाँ जाने भन्ने किसान अन्योलमा छन्।

गत असोजमा उद्योगले सरकारले तोकेभन्दा झन्डै डेढ सय कम मूल्यमा केही किसानलाई भुक्तानी दिएको थियो। उद्योगका लेखा प्रमुख कुशप्रसाद सुवेदीले तीन सय ८५ रुपैयाँ प्रतिक्विन्टलका दरले सीमित किसानलाई भुक्तानी दिएको र अन्य किसानलाई पनि सोही मूल्यमा भुक्तानी लिन दबाब दिएपछि  किसान आन्दोलित भएका थिए। त्यसयता लेखा अधिकृत सुवेदी उद्योग परिषरमा भेटिँदैनन्। तर उद्योगका सञ्चालक श्रेया अग्रवालका दाजु  कैशाल गोयलले तीन सय ८५ रुपैयाँ प्रतिक्विन्टलमा  किसान राजी भए तत्काल भुक्तानी दिने प्रस्ताव गरिरहेको किसान बताउँछन्। ‘अहिले गोयल नै उद्योगका सर्वेसर्वा भएका छन्।

उनैले प्रतिक्विन्टल तीन सय ८५ रुपैयाँका दरले लिन्छौं भने पैसा दिन्छु तर सरकारले तोकेको मूल्यमा भुक्तानी दिन सक्दिन भनेर हामीलाइ घुक्र्याउन सुरु गरेका छन्,’ सुनवलका एक जना उखु किसानले भने। गत वर्ष करिब सवा दुई लाख क्विन्टल उखु क्रसिङ गरेको उद्योगले त्यसबाट उत्पादित चिनी बेचिसकेको छ। करिब ६ करोडको स्प्रिड र मोलासिस पनि बेचिसकेको छ। तर किसानलाई भुक्तानी दिइएको छैन। पोहोरकै उखुको पैसा नपाउँदा सयौं किसान परिवारको बिचल्ली भएको पीडित किसानको भनाइ छ। किसानलाई घर खर्च चलाउन त समस्या छ नै। खेतालाको ज्याला र ट्याक्टर भाडा जोहो गर्न नसक्दा अहिले उखु खेतमै सुकिरहेको छ। सुनवल–२ रजहवाका किसान ज्ञानचन्द्र यादवले चिनी उद्योगीले उखु किसानलाई मर्नु न बाच्नु बनाएको भन्दै आक्रोस पोखे। ‘चिनी मिलले उत्पादन गरेको चिनी बेचिसके। उद्योगीले नाफा कमाए। रात दिन पसिना बगाउने हामी किसान बिचल्लीमा पर्‍यौं। हाम्रा बालबच्चा भोकै भए। नांगै भए। हाम्रो पीडा कसले बुझिदिने ?’ यादवले आक्रोस पोखे।

अग्रवालले किसानको नौ करोड तिरेनन्
प्रतापपुरमा रहेको इन्दिरा सुगर मिलले पनि किसानको नौ करोडभन्दा बढी भुक्तानी दिएको छैन। यो उद्योगले गत वर्ष करिब १४ करोडको उखु क्रसिङ गरेको थियो। किसानले बाँकी भुक्तानी कहिले पाउँछन् भन्ने अन्यौल नै छ। किसानका अनुसार यो उद्योगमा पनि ताला ठोकेर मिल मालिक भागेका छन्। उद्योग परिषरमा भेटिने तल्लो तहका कर्मचारी भुक्तानीबारे आफूहरुलाई थाहा नभएको भन्दै उम्कन्छन्। मिलका सञ्चालक राकेश अग्रवालले महिना दिन अघि प्रमुख जिल्ला अधिकारी सामु रोएको नाटक गर्दै भुक्तानीका लागि तीन महिना समय मागेका थिए। प्रजिअ र उखु उत्पादक कृषक समितिका केही पदाधिकारीलाई आसु देखाएर सहानुभूती बटुलेका अग्रवाल त्यसयता सम्पर्कमा छैनन्। न त उनले किसानलाई भुक्तानी नै दिएका छन्।

इन्दिराले पोहोरको तीन सय क्विन्टल उखुको डेढ लाख रुपैयाँ भुक्तानी नदिएको प्रतापुर–७ का विजय कुशवाहले बताए। ‘हाम्रै खेतको उखुबाट चिनी बनाएर साहुले बेचिसक्यो। हामीले अहिलेसम्म एक रुपैयाँ पनि पाएका छैनौ,’ कुशवाहले भने। पोहोरकै पैसा नपाउँदा अहिले उनलाई बैंकको ब्याज र उधारो लिएकाहरुसँग आँखा छलेर हिँड्नु परेको छ। बैंकले ब्याज तिर्न ताकेता गरिरहेको छ। घर नजिकैको झुलनीपुर बजारमा उधारो नलिएको पसल छैन। ‘हाम्रो भएको पुँजी उद्योगीसँग छ ब्याज कहाँबाट तिर्नु ? नुन तेलकै लागि हात फैलाउन अब कहाँ जानु ?’ कुशहवाले भने। प्रतापपुरकै निरङकार कोइरीको परिवार पाल्ने मुख्य आयस्रोत उखु नै हो। तर त्यही उँखु उद्योगीले उदारोमै खाइदिएपछि अहिले उनलाइ परिवार पाल्न निकै सकस भएको छ।  उखु क्रसिङ गरेको बर्षदिन बित्दा पनि भुक्तानी दिनुको साटो साहुले उद्योग नै बन्द गरेर बेखर भएपछि आफु जस्ता थुप्रै किसानको बेहाल भएको कोइरीले सुनाए।

प्रकाशित: २३ फाल्गुन २०७६ ०२:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App