coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

सुन निक्षेपका रुपमा बैंकमा राख्न पाइने

काठमाडौं – नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुमा निक्षेपका रुपमा सुन राख्न पाउने व्यवस्था गरेको छ। राष्ट्र बैंकले बिहीबार जारी गरेको निर्देशनमा निक्षेपका रुपमा सुन संकलन गर्ने व्यवस्था मिलाउन वाणिज्य बैंकहरुलाई निर्देशन दिएको हो।

उक्त निर्देशनमा वाणिज्य बैंकहरुले कम्तीमा तीन वर्षदेखि बढीमा पाँच वर्षसम्मका लागि सुन निक्षेपका रुपमा लिने र त्यसको व्याज दिने व्यवस्था गर्न भनिएको छ। चालु आवको बजेटमा बैंकमा निक्षेपका रुपमा सुन राखेर त्यसको व्याज पाइने व्यवस्था गर्ने भनिएको छ। बैंकहरूले अहिलेसम्म नगदलाई मात्र निक्षेपका रूपमा स्वीकार गर्दै आएका छन्। सुनजस्तो बहुमूल्य धातु पनि निक्षेपका रूपमा अब राख्न सकिने भएको छ।

सुन निक्षेपका रुपमा कसरी लिने र ब्याज कति दिनेलगायत विषयका लागि बैंकलाई कार्यविधि बनाउन भनिएको छ। यस्तो कार्यविधि सञ्चालक समितिबाट पारित गरेर कार्यान्वयन गर्ने अधिकार बैंकहरुलाई दिइएको छ। निर्देशनमा बैंक आफैंले सुनको शुद्धता र तौल जाँच गर्ने संयन्त्र बनाउने र कम्तीमा ९९५ फिटनेसको सुन मात्र स्वीकार गर्नुपर्ने व्यवस्था गर्न भनिएको छ। त्यसपछि सुनको तौल र शुद्धता यकीन गरेको प्रमाणपत्र दिनुपर्ने छ। बैंकहरुले सुन लिँदा त्यसको साँवा तथा व्याज यकीन गर्नुपर्ने व्यवस्था निर्देशनमा छ। सुन निक्षेप संकलन गर्ने ग्राहकले केवाइसी फर्म भर्नुपर्नेछ।

यस्तै बैंकहरुले संकलन गरेको सुन ढुकुटीभित्र राख्ने वा व्यवसायीलाई बेच्ने सम्बन्धमा बैंक आफैंले निर्णय गर्न सक्ने छन्। राष्ट्र बैंकको निर्देशनअनुसार सुन निक्षेपका रुपमा स्वीकार गर्न एउटा भिन्दै शाखा तोक्नुपर्नेछ। यस्तै २५ ग्राम परिमाणभन्दा तौल कम भएको सुनलाई निक्षेपका रुपमा स्वीकार नगर्न भनिएको छ। सुन निक्षेपका रुपमा राखेको प्रमाणपत्रलाई फेरी बैंकमा धितो राखेर ऋण पनि लिनसक्ने व्यवस्था निर्देशनले गरेको छ। यस्तो कर्जा कुल रकमको ७० प्रतिशतसम्म पाइनेछ। बैंकले दिने कर्जाको व्याज सुनमा दिएको व्याजको तुलनामा दुई प्रतिशतभन्दा गर्न नपाइने व्यवस्था गरिएको छ।

प्रकाशित: २३ फाल्गुन २०७६ ०२:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App