७ वैशाख २०८१ शुक्रबार
कला

फिल्म सुटिङ रोक्न आह्वान

काठमाडौं – संसारभर फैलिएको कोरोना भाइरस संक्रमण रोकथामका लागि नेपाल सरकारले उच्च सतर्कता अपनाएर सभा र समारोहमा सहभागी नहुन अपिल गरेपनि फिल्म सुटिङ स्थगित गर्न आह्वान गरिएको छ। बिहीबार नेपाल चलचित्र निर्माता संघले प्रेस विज्ञप्तिमार्फत कोरोना भाइरसको संक्रमण रोकथामका लागि सतर्कता अपनाउन सम्पूर्ण फिल्महरूको सुटिङ तत्काल स्थगित गर्न आह्वान गरेको छ।

‘नेपाल सरकारले कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि भेला, महोत्सव, सभा र समारोहमा सरिक नहुन र रोक्न अनुरोध भएको हुँदा हामी फिल्मकर्मीहरू देश र जनताप्रति उत्तरदायी, समाजको संवाहकको रूपमा विम्बित हुने हुँदा यसको सम्भावित असरलाई दृष्टिगत गर्दै यसबाट हुनसक्ने जोखिम न्यूनीकरणका लागि आफ्नो तहबाट आम मानिसमा सचेतना जागृत गराउनका साथै सुटिङ भइरहेको फिल्महरूको हकमा सम्भव भएसम्म राज्यबाट अर्को सूचना जारी नहुन्जेलसम्मका लागि आ–आफ्ना फिल्महरूको सुटिङ कार्य स्थगन गर्न हुन सबैमा अनुरोध गर्दछौं,’ विज्ञप्तिमा उल्लेख गरिएको छ।

‘२ नम्बरी’ फिल्मका निर्देशक दीपेन्द्र लामा निर्माताहरूसँग सल्लाह नगरिकन नेपाल चलचित्र निर्माता संघले सार्वजनिक गरेको विज्ञप्ति आफूलाई मान्य नहुने बताउँछन्। ‘अहिलेको स्थितिमा सतर्कता अपनाउनुको सट्टा निर्माता संघ आवश्यकभन्दा बढी आतंकित हुनु जरुरी छैन।

संघका पदाधिकारीहरू आफैंचाहिँ फिल्म नबनाउने तर अरू निर्माताहरूसँग सल्लाह नगरिकन विज्ञप्ति निकाल्नु ठिक होइन,’ उनले भने, ‘नेपाल सरकार मातहतको चलचित्र विकास बोर्डले सूचना निकाल्यो भने सोच्नुपर्ने हुन्छ। त्यसबाहेकका संस्थाले भनेका कुरा मान्य हुन्न।’ उनले फिल्मको सुटिङ नरोक्ने जानकारी गराए। हाल झरना थापाको ‘ए मेरो हजुर ४’ र नारायण रायमाझीको ‘परदेशी २’ फिल्मको सुटिङ भइरहेको छ।

प्रकाशित: २३ फाल्गुन २०७६ ०१:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App