coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

आयोजक पहिलो पटक फाइनलमा

इलाम - आयोजक माइभ्याली फुटबल क्लब इतिहास रच्दै छैटौं अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकपको फाइनल पुगेको छ।

विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा पाखा लगाउँदै माइभ्यालीले फाइनलमा नेपाली लिग विजेता मच्छिन्द्र क्लबसँगको भेट पक्का गरेको हो। बिहीबारको अन्तिम सेमिफाइनलमा निर्धारित समयभित्र दुवै टोली १–१ गोलको बराबरीमा रोकिए। २० मिनेटको अतिरिक्त समयमा पनि दुवैतर्फ कुनै गोल नभएपछि खेल टाइब्रेकरमा पुगेको थियो। टाइब्रेकरमा पनि दुवैतर्फ ६÷६ खेलाडीले प्रहार गर्दासम्म दुवै टोली बराबरीमा रहे। सातौं खेलाडीको प्रहारले मात्रै टिमको हारजित निर्णय भएको हो।

निर्धारित ९० मिनेटमा आयोजक माइभ्यालीका करण राईले पहिलो गोल गरे। विपक्षीको डी बक्सभित्र पाएको अवसर सदुपयोग गर्दै उनले बललाई जाली चुमाए। केही मिनेटपछि आर्मीका विवेक बस्नेतलाई विपक्षीले डी बक्सनजिकै फाउल गरेपछि पाएको फ्रिकिकलाई आर्मीले गोलमा बदल्यो। आर्मीका सन्तोष तामाङको फ्रिकिक सोझै गोलमा परिणत भयो। मध्यान्तरअघि नै बराबरीमा रहेका दुवै टोलीले मध्यान्तरपछि गोल गर्न सकेनन्। टाइब्रेकरमा माइभ्यालीका बलरक्षक देव लिम्बु, इला क्षत्री, प्रिजन तामाङ र पासाङ शेर्पाले गोल गरे। कप्तान विशाल तामाङ र शरण बस्नेतको प्रहार खेर गयो। विपक्षी आर्मीका दीप लामा, राजीव गुरुङ, दीपक गुरुङ र बलरक्षक विवश चौधरीले गोल गरे। विकास तामाङ, भरत चौधरी र सन्तोष तामाङको प्रहारले जाली चुम्न सकेन।

२०७१ सालदेखि बर्सेनि सञ्चालन भइरहेको माइभ्याली गोल्डकपमा आयोजकले एक पटक एउटा टोलीलाई जित्नेबाहेक दोस्रो खेल खेलेको थिएन। माइभ्याली फुटबल क्लब अध्यक्ष धिरेन चेमजोङले आयोजकले यो साल फाइनल पुगेर इतिहास कायम गरेको बताए। बिहीबारको खेलको म्यान अफ दी म्याच हुँदै माइभ्यालीका बलरक्षक देव गुरुङले नगद १५ हजार र ट्रफी पाए। आर्मीका विवेक बस्नेत विपक्षी खेलाडीलाई फाउल गरेपछि रेड कार्ड पाएर मैदान बाहिरिए।  नेपालका ६ र भारतका ४ टोली सहभागी गोल्डकपको फाइनल शनिबार हुनेछ।

प्रकाशित: २३ फाल्गुन २०७६ ०१:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App