coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

क्यालिफोर्नियामा आपतकाल घोषणा, विश्वभर मृतकको संख्या तीन हजार तीन सय नाघ्यो

क्यालिफोर्निया – संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियामा प्राणघातक कोरोना भाइरसका कारण एक व्यक्तिको मृत्यु भएपछि आपतकाल घोषणा गरिएको छ। अमेरिकामा यो समेत १० जनाको कोरोना भाइरसकै कारण मृत्यु भइसकेको छ।

अमेरिकी स्वास्थ्य अधिकारीहरूले क्यालिफोर्नियाको स्याक्रामान्टो अस्पतालमा मृत्यु भएका ती व्यक्ति ७१ वर्षका पुरुष रहेको जानकारी दिएका छन्। ती व्यक्ति हालै क्रुज जहाजको यात्राबाट फर्किएका हुन्।ह्वाइट हाउसले यस रोगको परीक्षणलाई देशव्यापी विस्तार गर्ने बुधबार जानकारी दिएको छ। अमेरिकाका १६ वटा राज्यमा करिब १५० जनामा कोरोना भाइरस देखिएको थियो।

अमेरिकामा मृत्यु भएका ११ जनामध्ये १० जना वासिंटन राज्यका रहेका छन्। पछिल्लो समय यो रोग टेक्सास र नेब्रास्का राज्यमा पनि फैलिएको छ।यसैबीच वासिंटन र फ्लोरिडा राज्य दुवैले गत साता नै स्वास्थ्य आपतकालको घोषणा गरिसकेका छन्।

क्यालिफोर्नियामा मृत्यु भएका कोरोना संक्रमित वृद्ध व्यक्ति ग्रान्ड प्रिन्सेज नामको क्रुजमा यात्रारत थिए। यो जहाज सानफ्रान्सिस्को हुँदै मेक्सिको पुगेको थियो। कोरोनाको त्रास फैलिएसँगै संयुक्त राज्य अमेरिकाले चीन भ्रमण गरेका कुनै पनि देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाएको छ। तर, चीन छाडेको १४ दिनपछि त्यस्ता यात्रुलाई अमेरिका प्रवेश गर्न दिइने गरिएको छ।

अमेरिकी उपराष्ट्रपति माइक पेन्सले बुधबार चिकित्सकले कुनै व्यक्तिको परीक्षण गर्ने बताएको खण्डमा त्यस्ता व्यक्तिले अनिवार्यरूपमा स्वास्थ्य परीक्षण र क्वारेन्टाइनमा बस्नै पर्ने बताएका छन्।
विश्वभर कोरोनाको त्रास
 
मृतकको संख्या तीन हजार तीन सय नाघ्यो
विश्वभर कोरोना संक्रमणबाट तीन हजार तीन सयभन्दा बढीको ज्यान गइसकेको छ भने ९५ हजारभन्दा बढी संक्रमित छन्। तीमध्ये चीनमा तीन हजारले ज्यान गुमाएका छन् भने ८० हजारभन्दा बढी संक्रमित रहेको सिएनएनले जनाएको छ।

चीनपछि कोरोनाले सर्वाधिक प्रभाव पारेको मुलुक दक्षिण कोरिया हो। बुधबार मात्र यहाँ पाँच सय १६ जनामा कोरोनाका जीवाणु देखिएको छ। योसहित कोरियामा कूल संक्रमितको संख्या पाँच हजार सात सय ६६ पुगेको छ। कोरोनाकै कारण दक्षिण कोरियामा हालसम्म ३५ जनाको मृत्यु भइसकेको छ।

कोरोना संक्रमणको जोखिम नियन्त्रण गर्न दक्षिण कोरियाका प्रधानमन्त्री चुङ स्ये–क्युनले अनुहारमा लगाउने मास्क विदेश निर्यात गर्न प्रतिबन्ध लगाइएको घोषणा गरेका छन्। अस्ट्रेलिया सरकारले दक्षिण कोरियाबाट आउने सबै विदेशी नागरिकको प्रवेशमाथि रोक लगाएको छ। अस्ट्रेलियामा कोरोनाबाट दुई जनाको मृत्यु भइसकेको छ भने ५३ जनामा कोरोना संक्रमण भएको छ।

अन्तर्राष्ट्रिय मुद्रा कोषले कोरोना भाइरस प्रभावित मुलुकहरूको सहायताका लागि ५० अर्ब अमेरिकी डलरको सहायता गर्ने घोषणा गरेको छ। कोषले कोरोनाको त्रासबीच विश्वको आर्थिक वृद्धि सन् २०१९ मा २.९ प्रतिशतभन्दा कमै हुने अनुमान गरेको छ।

वैदेशिक व्यापारमा अस्थायी प्रभाव पर्नेः चीन
महामारीका रूपमा देखिएको कोरोना भाइरस संक्रमणको प्रभाव चीनमा अस्थायीरूपमा केही समय रहने यहाँको वाणिज्य मन्त्रालयले बिहीबार जानकारी गराएको छ। वाणिज्य मन्त्रालयको विदेश व्यापार विभागका निर्देशक ली जिंगकियानले भिडियोमार्फत गरिएको एक पत्रकार सम्मेलनमा भने, ‘चीनले विदेशी व्यापार उद्यमलाई उत्पादन पुनः सुरु गर्न र प्रकोपबाट हुने नतिजालाई कम गर्न प्रक्रियालाई जारी राखेको र छिट्टै सबै ठीक हुनेछ।’

उनले भने, ‘झेजियांग र तियानजिनका सबै प्रमुख विदेशी व्यापार कम्पनीहरूले फेरि काम सुरु गरेका छन् भने गुआङडोङ, जियांसु, सांघाई, शान्दोङ र चोकिंङका ७० प्रतिशतभन्दा बढी विदेशी व्यापार कम्पनीहरूले उत्पादन पुनः सुरु गरिसकेका छन्।’

‘सरकारले कम्पनी सञ्चालनका लागि गरेको सहयोगको नीति प्रभावकारी बन्न थालेकाले धेरैभन्दा धेरै कम्पनीहरू काममा फर्किएका छन् भने चीनको वैदेशिक व्यापारले क्रमशः गति लिन थालेको छ,’ लीले भने। ‘यद्यपि पहिलो त्रैमासिकमा चीनको निर्यात र आयातमा कम हुनेछ,’ लीले थपे।

देशको वैदेशिक व्यापारको सकारात्मक विकासको प्रवृत्ति परिवर्तन हुन स्वभाविकरूपमा लामो समय लाग्छ।
‘मन्त्रालयले आफ्नो नीतिगत प्रणालीलाई अझ समृद्ध बनाउने छ, विदेशी व्यापार उद्यमहरूलाई थप सटिक उपायहरू प्रदान गर्न सहयोग पु-याउने छ, उत्पादन पुनः सुरु गर्न र विश्वव्यापी आपूर्ति शृंखलाको स्थिरता कायम गर्न मद्दत गर्नेछ,’ लीले भने।

प्रकाशित: २३ फाल्गुन २०७६ ०१:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App