coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

देउडाबाटै पोषण सन्देश छर्दै

जुम्ला- जुम्लाको हिमा गाउँपालिकाका महिला देउडाको माध्यमबाट पोषण सन्देश दिँदै आएका छन्। उनीहरु देउडाबाटै पोषणको अवस्था, महत्व र पोसिलो खानेकुरा खुवाउने विषयमा स्थानीयलाई जागरुक गर्दै आइराहेका छन्। स्थानीय भाषाशैलीबाट प्रस्तुत हुने देउडा गीतले यहाँको संस्कृतिको संरक्षण पनि हुने र लक्षित वर्गसम्म सहजै रुपमा पोषण आहारबारे ज्ञान दिन सकिने भएकोले जनचेतनाको माध्यम नै देउडा भएको हो।

गाउँपालिकाको बहुक्षेत्रिय पोषण योजना कार्यक्रम अन्र्तगत यहाँका महिलाले पोषण सन्देश दिन सक्रिय भएका हुन्। कर्णाली प्रदेशका हिमाली जिल्ला जुम्ला, कालिकोट, मुगु लगायतका जिल्लामा पोषणयुक्त खाना नखाएर यहाँका बालबालिका र गर्भवती महिला कुपोषित हुने गरेका छन्। पोषणको महत्वको बारेमा जानकारीसंगै स्थानीय स्तरका गाउँघरमा पोषण स्थितिमा सुधार ल्याउनका लागि देउडा गीत मार्फत सन्देश दिन खोजिएको हो।

विभिन्न रोगबाट बचाउनका लागि बच्चालाई खोप लगाउनु पर्ने र विरामी भएमा तुरुन्त स्वास्थ्य संस्थामा उपचारका लागि लैजानु पर्ने महिलाले देउडा गीत मार्फत सन्देश दिएको स्थानीय रानीपुरा शाहीले बताइन्। गर्भवती महिलाले नियमित स्वास्थ्य संस्थामा चेकजाँच गराउनु पर्ने र आमा बच्चाको स्वास्थ्य सुरक्षाका लागि स्वास्थ्य संस्थामै गर्भवती महिलाले सुत्केरी हुनुपर्ने पनि सन्देश उनीहरुले दिएका हुुन्। स्वास्थ्य संस्थामा नियमित गर्भ जाँच गर्ने र सुत्केरी हुने महिलालाई प्रोत्साहन स्वरुप तीन हजार ८ सय रुपैयाँ पनि प्राप्त हुने सन्देश देउडा मार्फत दिएको उनले बताइन्।

नवजात शिशु तथा गर्भवती महिलाको पोषण स्थिति कमजोर भएका कारण कुपोषित छन्। बजारीया खाना, नास्ता बालबालिकालाई नखुवाउने, स्थानीय स्तरमै उत्पादन भएको गेडागुडी, हरियो सागपात, अण्डा माछा मासु खुवाएर पोषण अवस्थामा सुधार ल्याउन सहज हुनेमा जोड दिएका थिए। प्रमुख प्रशासकिय अधिकृत टोपबहादुर बुढा बच्चा जन्मेको ६ महिनासम्म आमाको दूध बाहेक अरु खुवाउन नहुुने बताउँछन्। ६ महिनापछि अन्य खाद्य वस्तु खुवाउन सुरु गर्नुपर्ने पनि देउडामै समाविष्ट भएको उनले बताए।

एउटा सानो शिशुको वृद्धि राम्रो हुनु पर्छ र उसको वजन केजीले बढ्नु पर्छ। जन्मदेखि दुई वर्षसम्म शिशुको वजन प्रत्येक महिना बढ्नु पर्छ। यदि कुनै शिशुको वजन दुई महिनासम्म बढेन भने केही न केही अवश्य समस्या भएको हुनुपर्छ। नियमित वजन बढ्दै रहनु शिशुको बृद्धि र विकास राम्रो भएको महत्वपूर्ण सङ्केत हो। उनले भने,‘भविष्यका कर्णधार बालबालिकाको पोषण अवस्थामा सुधार ल्याउनु अहिले अपरिहार्यता हो। स्थानीय तह यसमै केन्द्रित छ।’
कुनै शिशुको दुई महिनासम्म वजन बढ्दैन भने उसलाई पौष्टिक खानको कमी भएको हुन सक्ने भएकोले बच्चालाई पोषणयुक्त खानाको आवश्यक भएको अभिभावकले बुझ्नु पर्ने स्वास्थ्यकर्मी मेनका देवकोटाले बताइन्।

प्रकाशित: २२ फाल्गुन २०७६ ०९:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App