१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

मध्यपूर्वमा कोरोनाको सन्त्रास, नेपाली चिन्तित

युएई - चीनको हुबेई प्रान्तबाट फैलिएको कोरोना भाईरसले खाडी सहित मध्यपूर्वमा तिव्रता लिएपछि लाखौं नेपाली त्रसित बनेका छन्। निर्माण, सेवा, व्यवसाय एवम् अन्य क्षेत्रमा गरि झण्डै १५ लाख नेपाली कार्यरत रहेको मध्यपूर्वका १२ राष्ट्रमा अहिले कोरोना भाईरसको त्रास छ।

वुधबार साँझसम्मको रिपोर्ट अनुसार ईरानमा यसबाट २१० जनाको मृत्यु भईसकेको छ भने २३३६ जना संक्रमित भएका छन्। जसमध्ये केही राज्यको उपल्लो तहका अधिकारीहरु समेत छन्।

मध्यपूर्वमा ईरान पछि कुवेत र बहराईन छन। जहाँ अहिलेसम्म क्रमशः ५६ र ४९ जना संक्रमित भएको अन्तर्रा्ष्ट्रिय संचारमाध्यमहरुले उल्लेख गरेका छन्।

यसैगरी अहिलेसम्म युएईमा २७ जना, ईराकमा २६ जना, लेबनानमा १३ जना, ईजरायलमा १० जना, कतारमा ७ जना र ओमनमा ६ जना संक्रमित भएको पाईएको छ। यस्तै ईजिप्टमा २, साउदी र जोर्डनमा समान एक–एक जनामा संक्रमण पाईएको छ। प्यालेष्टाईन, साईप्रस, सिरिया, टर्कि र यमनमा भने यो समाचार तयार पार्दासम्म कोरोना भाईरसको संक्रमण पाईएको छैन।

नेपालीका लागि रोजगारीको राम्रो गन्तव्य मानिएको युएई, कतार, ओमन, कुवेत, बहराईन आदि मुलुकहरूमा भाईरसको संक्रमण पाईएपछि यहाँ कार्यरत नेपालीहरु चिन्तित बनेका छन्। यी देशका सरकारी निकायहरुले सूचना नै निकालेर सतर्क गराएका छन्। यद्यपि संक्रमणको गती बढिरहेकाले आप्रवासीहरु त्रसित हुँदै गएका छन्। राज्य सरकारले जारी गरेका निर्देशनहरु पालन गर्दागर्दै पनि कार्यस्थलमा हुने असावधानीका कारण संक्रमित भईने पो होकि भन्ने डर फैलिएको छ।

सरोकारवाला के भन्छन ?

मध्यपूर्वी देशहरूमा रहेका नेपाली राजदुतावासहरुले सूचना नै निकालेर नेपालीहरुलाई सतर्क रहन आग्रह गरेका छन्। यद्यपि यो महामारीबाट बच्न त्यति मात्रै पर्याप्त नहुने नेपाली समुदायका अगुवाहरु बताउँछन्। दूतावासले नेपालीहरु कार्यरत कम्पनीको क्याम्पमै गएर संक्रमणको जोखिम र सावधानिका विषयमा जनचेतनामूलक कार्यक्रम संचालन गर्नुपर्ने उनीहरुको भनाई छ।

गैह्र आवसीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय समितिका प्रवक्ता डिबि क्षेत्री भन्छन् – “रोग लागेर उपचार गर्नुभन्दा , रोग लाग्नै नदिनु बेस हो। त्यसैले सबैले उच्च सतर्कता अपनाउन जरुरी छ।”

त्यस्तै नेपाल पत्रकार महासंघ युएईका उपाध्यक्ष मेघराज सापकोटा संक्रमण दिनप्रतिदिन बढ्दै गएकाले सबैले सावधानी अपनाउनुपर्ने बताउँछन्। युएईको अबुधाबी स्थित नेपाली राजदुतावासले समेत सार्वजनिक सूचना निकालेर आफ्ना नागरिकलाई सतर्कता अपनाउन अपिल गरेको छ।

जनवरी पहिलो साताबाट फैलिएको कोरोना भाईरसको महामारीबाट हालसम्म विश्वमा झन्डै ९३ हजार व्यक्ति संक्रमित भईसकेका छन्। मध्यपूर्वमा भने अहिलेसम्म नेपाली संक्रमित भएको पाईएको छैन।

युएईबाट रामकुमार परियारको सहयोगमा

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रकाशित: २२ फाल्गुन २०७६ ०६:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App