८ वैशाख २०८१ शनिबार
अर्थ

निगम जहाजले कोरिया उडान गर्ने

काठमाडौं- राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले पहिलो पटक दक्षिण कोरियाको प्रमुख विमानस्थलबाट उडान–अवतरणको अनुमति पाएको छ। कारियाको राजधानी सोलस्थित इन्चेन अन्तर्राष्ट्रिय विमानस्थलले प्रत्येक आइतबार र बुधबार उडान–अवतरण गर्न पाउने गरी निगमलाई 'स्लट' उपलब्ध गराएको हो। हालसम्म कुनै पनि नेपाली वायुसेवा कम्पनीले कोरियाका लागि नियमति उडान गरेका छैनन्।

'कोरियाको इन्चेन विमानस्थलले हामीलाई सातामा दुई उडान गर्ने गरी समय तालिकासहितको 'स्लट' अनुमति दिएको छ,' निगमका कर्पोरेट डाइरेक्टर तथा प्रवक्ता रामहरि शर्माले बुधबार नागरिकसँग भने, 'इन्चेनले उपलब्ध गराएको स्लटअनुसार हामी २०७४ असोज १५ देखि कात्तिक १५ भित्र कोरिया उडान सुरु गर्ने छौं।'

निगमले युरोपेली जहाज निर्माता कम्पनी एयरबसमा निर्मित २ सय ५० देखि २ सय ८० सिट क्षमतायुक्त 'ए३३०–२००' सिरिजको 'वाइड बडी' जहाजबाट कोरिया उडान गर्न लागेको हो। निगमलाई दुईथान वाइड बडी जहाज उपलब्ध गराउन अमेरिकास्थित एएआर कर्पोरेसनले सबैभन्दासस्तो मूल्य प्रस्ताव गरिसकेको छ भने यसको प्रस्तावबारे निगम सञ्चालक समितिमा पेस भएको छ। एएआरले प्रतिजहाज १० करोड ४८ लाख अमेरिकी डलर (११ अर्ब ३१ करोड ८४ लाख रुपैयाँ) का दरले उपलब्ध गराउने प्रस्ताव गरेको हो।

'हाम्रो जहाज काठमाडौंबाट प्रत्येक आइत र बुधबार राति ७ः२० बजे कोरियाका लागि उड्ने छ भने उताबाट स्थानीय समय बिहान ७ः१५ बजे फर्कने छ,' प्रवक्ता शर्माले भने, 'काठमाडौंबाट एकतर्फी साढे ६ घन्टा सिधा उडेपछि इन्चेन विमानस्थल पुगिने छ।'

निगमले यहाँबाट सोल र त्यहाँबाट जापानको टोकियो जाने व्यापारिक योजना बनाएको छ। त्यसपछि जापानबाट पुनः सोल आएर काठमाडौं फर्कने योजना उसको छ। 'सोल र टोकियो हुँदै अमेरिकाको पश्चिमी भेग जाने यात्रुलाई सहज कनेक्टिङ उडान गर्न हाम्रो उडानले महत्वपूर्ण सहयोग पुग्ने छ,' उनले भने, 'उताबाट नेपाल आउनेलाई पनि सहज हुनेछ।'

कोरिया उडानका लागि निगमले गरेको बजार अध्ययनअनुसार नेपाली, कोरियाली, जापानी लगायत गरी वार्षिक ४० हजारहाराहारी काठमाडौं आइरहेका छन्। काम गर्नेदेखि व्यापार–व्यवसाय गरिरहेका हजारौं नेपाली कोरियामा छन्। 'सबै अध्ययनपछि कोरिया उडान गर्दा नाफा हुने देखियो र दुई महिनाअघि इन्चेन विमानस्थलसँग स्लट आवेदन दिएका थियौं,' उनले भने।

नेपाल पर्यटन बोर्डको ताजा तथ्यांकअनुसार सन् २०१६ को जनवरीदेखि नोभेम्बर (११ महिना) भित्र हवाई मार्ग हुँदै कोरियाबाट २२ हजार ३ सय ७६ कोरियाली नेपाल आएका थिए। त्यस्तै जापानबाट २० हजार १ सय ९८ जापानी यहाँ आएका थिए। 

निगमका अनुसार काठमाडौं–सोल–टोकियो–सोल–काठमाडौं रुट बनाइएको छ। तर, पहिलो वाइड बडी जहाज आउने बेलासम्म टोकियोस्थित हानेदा अन्तर्राष्ट्रिय विमानस्थलको स्लट पाइएन भने कोरियासम्म मात्र उडान गर्ने तयारी निगमको छ। चाँडै हानेदासँग स्लट अनुमति मागिने निगमको भनाइ छ।

'सोल र टोकियोबाट यात्रुको माग बढ्यो भने छुट्टाछुट्टै उडान पनि गर्ने छौं,' कर्पोरेट डाइरेक्टर शर्माले भने, 'त्यसबेलासम्म हामीसँग दुईथान वाइड बडी जहाज भइसक्छ।'

नेपाल र कोरियाबीच रहेको हवाई सेवा सम्झौतामा दुवै देशका तोकिएका वायुसेवा कम्पनीले असीमित सिट उपयोग गर्न पाउने उल्लेख छ। हाल कोरियाबाट त्यहाँको सरकारी वायुसेवा कम्पनी कोरियन एयरले काठमाडौंका लागि सातामा दुईदेखि तीनसम्म उडान गरिरहेको छ। उसले यात्रु चापअनुसार वाइड बडी र साना (न्यारो बडी) जहाज ल्याइरहेको छ।

'हामी प्रतिस्पर्धी भाडा दरमा उडान गर्ने छौं र यात्रु सेवा–सुविधामा कुनै कमी हुनेछैन,' शर्माले भने, 'भाडा दर तोकिसकेका छौं तर व्यापारको कुरा भएकाले अहिले सार्वजनिक गर्दैनौं।'

निगमका अनुसार पहिलो वाइड बडी आगामी २०७४ असोजमा र त्यसको ६ महिनापछि २०७५ वैशाखमा दोस्रो वाइड बडी जहाज काठमाडौं अवतरण गर्नेछन्। वाइड बडी आएपछि पहिलो उडान जापानको टोकियो वा दक्षिण कोरियाको सोलमध्ये एकमा हुने निगमको व्यापारिक योजनामा उल्लेख छ। निगमले खरिद गर्न लागेको वाइड बडी जहाजले एकतर्फी सिधा ९ देखि १० घन्टा 'नन्स्टप' उडान गर्नसक्छ।

निगमले कोरियाका लागि पहिलो पटक उडान गर्ने घोषणा गरे पनि जापानका लागि भने १३ वर्ष उडान गरेको थियो। सन् १९९४ देखि २००७ सम्म निगमले काठमाडौंबाट जापानको ओसाका उडान गरेको थियो।

हाल निगमले एकथान 'बि७५७–२००' र दुईथान 'ए३२०–२००' जहाजबाट भारत नयाँदिल्लीका लागि सातामा १४, मुम्बई र बैंगलोरका लागि तीन/तीन, हङकङ, थाइल्यान्डको बैंकक र मलेसियाको क्वालालम्पुर तीन/तीन तथा युएईको दुबई र कतारको दोहाका लागि सातामा चार/चार गरी सातामा ३७ उडान गरिरहेको छ।

प्रकाशित: २१ पुस २०७३ ०५:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App