७ वैशाख २०८१ शुक्रबार
अर्थ

सिपिङ कम्पनीको अब फुल प्याकेज अफर

वीरगन्ज उद्योग वाणिज्य संघमा मर्कसका प्रबन्धक आयातकर्तासँग अन्तरक्रिया गर्दै । तस्बिर : रितेश/नागरिक

वीरगन्ज - नेपालको समुद्रपार व्यापारमा आयातको आकार बढेपछि नेपाली आयातकर्तालाई आकर्षित गर्न सिपिङ कम्पनीले पछिल्लो समयमा एकपछि अर्को अफर घोषणा गर्न थालेका छन्। विश्वव्यापी रुपमा ‘सिपिङ कम्पनी’बाट ‘एकीकृत सेवाप्रदाय’को रुपमा आफूलाई रुपान्तरित गरेको मर्कसले एउटै ‘डिल’ (सौदा)मा आयातकर्तालाई चाहिने सबै सेवा दिने घोषणा गरेको छ।

कम्पनीका नेपाल तथा भुटानको कारोबार हेर्ने लोकेसन प्रबन्धक शौरभ सक्सेनाले बुधबार वीरगन्जमा आयातकर्ता व्यापारीसँग अन्तरक्रिया गर्दै यसको जानकारी गराएका छन्। ‘हामी पहिले मर्कस लाइनको नामले चिनिन्थ्यौं, विश्वव्यापी रुपमा अब भने मर्कस मात्र भएका छौं, कारण के हो भने अब सिपिङ मात्र हाम्रो सेवा रहेन आयात निर्यातका लागि चाहिने सबै सेवा हामीले एउटै माध्यम भएर उपलब्ध गराउने छौं,’ सक्सेनाले भने, ‘त्यसकारण पहिले यहाँ प्रतिनिधि नियुक्त गरेर काम गरिरहेका थियौं भने अब हाम्रा जिम्मेवार कर्मचारी खटाएका छौं, कम्पनीले मलाई पठाएको छ, अझ जनशक्ति हामी थपिरहेका छौं।’

मर्कसले विदेशी निर्यातकर्ताको लजेस्टिक व्यवस्थापन, सिपिङ व्यवस्थापन, समुद्री ढुवानी, टर्मिनलमा आयातकर्ताको प्रतिनिधि, थल ढुवानी र आयातकर्ताको दैलोसम्म मालसमान पुर्‍याउने ट्रान्सपोर्ट सेवा एकसाथ प्रदान गर्ने अफर मर्कसले नेपाली आयातकर्तालाई गरेको छ। उसै पनि नेपालको कुल कार्गोको आधाभन्दा बढी आजको दिनमा मर्कसले नै ढुवानी गरिरहेको आयातकर्ताले बताए। वीरगन्ज उद्योग वाणिज्य संघमा भएको कार्यक्रममा संघका अध्यक्ष गोपाल केडियाले अन्तरक्रियाको अध्यक्षता गर्दै आफूहरुले सेवा प्रदायकसँग नेपाली आयातकर्ताका कठिनाइबारे छलफल गरेर नेपाललाई लाभ हुने वातावरण बनाउन चाहेको बताए।

आयातको आकार बढेपछि नेपाली आयातकर्तालाई आकर्षित गर्न सिपिङ कम्पनीले पछिल्लो समयमा एकपछि अर्को अफर घोषणा गर्न थालेका छन्।

यस क्रममा मर्कसले ल्याएको अफरबाट आयातकर्ताले तुलना गरी लाभ हासिल गर्न सक्नुपर्ने केडियाले राय दिए। आयातकर्ताले मर्कसबाट आफूहरु कारोबार गर्दा समस्या आइरहेको र केही शीर्षकमा अनावश्यक खर्च भइरहेको गुनासो गरे। कम्पनीका प्रतिनिधि सक्सेनाले ती समस्यालाई समाधान गर्ने कम्पनीको दायित्व र व्यावसायिक नीति रहेको दाबी गरे। आयातकर्ताले बताएअनुसार मर्कसलाई सिपिङ कम्पनीले लिने गरेको भनिएको केही शीर्षकका रकम अरु सिपिङ कम्पनीको तुलनामा न्यूनतम नै रहे पनि यस कम्पनीमार्फत बढी कारोबार हुने हुँदा समग्रमा जाने रकम ठूलो रहेको उनीहरुले बताए। नेपालमा रेलमार्ग भएर आउने कन्टेनर अहिले ‘डाइरेक्ट सिपमेन्ट’ प्रणालीमा आइरहेका छन्। यसमध्ये ७० प्रतिशत जति बिशाखापट्नम भएर आउछ। त्यसमा सिपिङ सेवा प्रदान गर्ने कम्पनी मर्कस भएकाले बिशाखापट्नम रोज्ने आयातकर्तालाई यस कम्पनीको नीति र दरले प्रभावित गर्ने गरेको छ। संघका महासचिव माधव राजपालले यस्तै विषयमा आफूहरुले समाधान चाहेको बताए।

‘डाइरेक्ट ट्रान्ससिपमेन्ट’ प्रणालीले एकातिर ‘डिटेन्सन’, ‘डेमरेज’, सुस्त व्यापार, ‘कार्गो ह्यान्डलिङ’ तथा ढुवानीमा विभिन्न तहको बिचौलियाका समस्या समाधान भएको छ भने अर्कोतिर ‘सिपिङ कम्पनी’को मनपरी बढेको आयातकर्ताको भनाइ छ। यसलाई समाधान गर्न सरकारी स्तरबाट पहल हुनुपर्र्ने र कम्पनी आफैंले पनि सुधारको अनुभूति गराउन तत्पर हुनुपर्ने आयातकर्ता बताउँछन्। ‘डाइरेक्ट ट्रान्ससिपमेन्ट’ प्रणाली लागू हुनुभन्दा अगाडि विदेशबाट नेपालका कार्गो ‘सिपिङ कम्पनीद्वारा भारतीय बन्दरगाहमा गन्तब्य तोकेर आउने गर्थ्यो।

सिपिङले निश्चित समयसीमा १४ दिन तोकेर कोलकाताबाट नेपालका लागि कन्टेनर पठाउँथे। यसका लागि भारतीय भन्सार, बिमा कम्पनी र बन्दरगाहमा कागजी औपचारिकता पूरा गर्न महिनौंसम्म लागेर विलम्ब शुल्क र जरिवाना पर्ने गरेको थियो। नेपाली आयातकर्ताले कोलकातामा एजेन्ट नियुक्त गरेर राख्ने बाध्यता थियो। विलम्ब शुल्कको भारले आयात लागत बढी पर्ने गरेको थियो। सबै समस्या एकमुष्ठ समाधानका रुपमा ‘डाइरेक्ट ट्रान्ससिपमेन्ट’ प्रणालीलाई लिइएको थियो। र, यस प्रणालीबाट नेपाललाई सेवा दिने पहिलो कम्पनी मर्कस नै हो। हाल मर्कसले घोषणा गरेको नयाँ सेवा शृंखलाबाट नेपाली आयातकर्तालाई कति फाइदा भइरहेको छ भन्ने बिस्तारै थाहा हुने आयातकर्ताले प्रतिक्रिया दिए।

प्रकाशित: २२ फाल्गुन २०७६ ०१:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App