६ वैशाख २०८१ बिहीबार
अन्तर्राष्ट्रिय

इजरायल आमनिर्वाचनमा नेतान्याहुको दललाई अग्रता, बहुमत पुगेन

तेल अभिभ – इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको लिकुड पार्टीले सोमबार सम्पन्न संसदको आमनिर्वाचनमा ३६ स्थान जितेर संसदभित्र सबैभन्दा ठूलो दल बनेको छ। केन्द्रीय निर्वाचन समितिले करिब ९७ प्रतिशत मतगणना सम्पन्न गर्दा कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गर्न नसक्ने देखिएको छ।

समितिका अनुसार नेतान्याहुका मुख्य विपक्षी ब्लु एन्ड ह्वाइट पार्टीले ३२ स्थान जितेको छ। पछिल्लो गणना अनुसार लिकुड पार्टी र यसको गठबन्धनले कूल ५९ सिट जितेका छन्। तर, सरकार गठन गर्न अझै दुई स्थान कमी भएको छ। इजरायलको संसद १२० सदस्यीय रहेको छ। र, बहुमतको सरकार गठन गर्न ६१ स्थान आवश्यक पर्छ।

प्रधानमन्त्री नेतान्याहुले मतदान सम्पन्न भएपछि सोमबार राति नै विजयी भएको दाबी गरेका थिए। चुनावी मतसर्वेक्षणले लिकुड पार्टीले बहुमत ल्याउन सक्ने अड्कलबाजी गरेका थिए। बहुमतका लागि दुई स्थान कमी भएको अवस्थामा लिकुड पार्टीले अरु दलसँग आबद्ध सांसदहरूलाई सरकारमा सहभागी हुन आह्वान गरेको छ।

लिकुड पार्टीका प्रवक्ता जोनाटन उरिचले संचार माध्यमसँग कुरा गर्दै विपक्षी बेन्नी गान्जले सरकार गठन गर्न नसक्ने परिस्थिति रहेकाले आफूहरुलाई समर्थन गर्न अन्य दलका सांसदहरूसमक्ष आग्रहसहित छलफल गरिरहेको बताए। उनले अन्य दलका ४–६ जना सांसदसँग कुराकानी भइरहेको र केही दिनभित्रै सरकार गठन गर्ने दाबी प्रस्तुत गर्ने उनले बताए।
तर, इजरायलका पूर्वसैन्य प्रमुख बेन्नी गान्जले आफ्नो दलले अझै हार स्वीकार नगरेको बताएका छन्।

उनले चुनावको अन्तिम परिणाम नआउन्जेल धैर्य गर्न आग्रह गरे। उनले राष्ट्रिय एकताको सरकार निर्माणका लागि प्रयास गर्ने बताए। इजरायलमा कुनै पनि दलले संसदमा बहुमत ल्याउन नसक्दा एकै वर्षको अवधिमा यसपटक तेस्रो आमनिर्वाचन भएको हो।

प्रकाशित: २२ फाल्गुन २०७६ ०१:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App