coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण

प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै बुधबार त्रिवि शिक्षण अस्पतालमा छोरी सहित पुगेकी महिला। तस्बिर: केशव थोकर/नागरिक

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण गरिएको छ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगन्जमा बुधबार उनको मिर्गौला प्रत्यारोपण गरिएको हो। उनको मिर्गौला प्रत्यारोपण गरिएको यो दोस्रोपटक हो। १२ वर्षअघि २०६४ साउनमा भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा पहिलोपटक ओलीको मिर्गौला प्रत्यारोपण गरिएको थियो।

दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिएका ६९ वर्षीय प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी उनकी निजी चिकित्सक दिव्यासिंह शाहले साँझपख जानकारी दिइन्। प्रत्यारोपणपछि साँझसम्म उनको एक लिटर पिसाब भएको जानकारी युरोसर्जन तथा प्राध्यापक डा. पे्रम ज्ञवालीले दिए। सबै पक्ष राम्रो भएमा प्रधानमन्त्री ओलीलाई एक सातामा डिस्चार्ज गर्न सकिने उनकी निजी चिकित्सक शाहले बताइन्।

चिकित्सकहरूका अनुसार मिर्गौला प्रत्यारोपण गर्न चार घण्टा लागेको थियो। ओलीलाई भान्जी नाता पर्ने ३१ वर्षीया समीक्षा ज्ञवालीले मिर्गौला दिएकी हुन्। त्रिवि शिक्षण अस्पतालका युरोसर्जन डा. उत्तम शर्मासहितको टोलीले ओलीको मिर्गौला प्रत्यारोपण गरेको हो। प्रत्यारोपण टोलीमा प्राध्यापक डा. शर्मा, त्रिवि शिक्षण अस्पतालकै प्राध्यापक डा. ज्ञवाली र एपोलो अस्पतालका प्राध्यापक डा. अनन्तकुमार ज्ञवालीसमेत संलग्न थिए। त्यसैगरी नेफ«ो मेडिसिनतर्फ डा. शाह, डा. महेशकुमार सिग्देल, डा. मुकुन्द काफ्ले र डा. अरुण साय्मिको टोली संलग्न थियो। एनेसथेसियातर्फ डा. अनिल श्रेष्ठ र क्रिटिकल केयरतर्फ डा.सुवास आचार्य सहभागी थिए।

मिर्गौला रोग विशेषज्ञका अनुसार मिर्गौला प्रत्यारोपण सफलताको मुख्य आधार भनेको प्रत्यारोपणलगत्तै पिसाब हुनुलाई मानिन्छ। तर शल्यक्रियापछि हुनसक्ने संक्रमण, शरीरले अरुको मिर्गौला अस्वीकार गर्न सक्ने क्षमता र मिर्गौला आफैंमा आउन सक्ने जटिलता जोखिम पक्ष हुन्। प्रत्यारोपण गरेको तीन महिनासम्म चिकित्सकको विशेष निगरानीमा उपचार गराउनुपर्ने हुन्छ। मिर्गौला प्रत्यारोपण गरेको एक साता अतिगम्भीर समय मानिन्छ। दोस्रोपटकको मिर्गौला प्रत्यारोपणपछि ओलीको शरीरमा चारवटा मिर्गौला भएका छन्। मिर्गौला प्रत्यारोपण सिद्धान्त अनुसार नयाँ मिर्गौला प्रत्यारोपण गर्दा पुरानो झिँकिदैन। पुराना मिर्गौला झिक्दा संक्रमण हुन सक्ने भएकोले नयाँ मिर्गौला राखिन्छ। तर पुरानो मिर्गौलामा संक्रमण भएमा भने निकाल्न सकिने चिकित्सक बताउँछन्। प्रधानमन्त्री ओलीमा संक्रमण हुन नदिन अस्पताल बसाइ अवधिभर शुभचिन्तकलाई भेट्न प्रतिबन्ध लगाइने जानकारी चिकित्सक साय्मिले बताए।

प्रधानमन्त्री ओलीको सफल प्रत्यारोपण र सुस्वास्थ्यको कामनासहित अस्पताल परिसरमा दिनभरजसो पार्टी नेता, कार्यकर्ता, आफन्त, शुभचिन्तकलगायत जम्मा भएका थिए। अस्पतालका निर्देशकका कक्ष नजिकको बैठक कक्ष दिनभरिजसो प्रधानमन्त्रीका शुभेच्छुकका कारण भरिभराउ थियो। स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल दिनभरिजसो शिक्षण अस्पतालमा बसे। उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, श्रममन्त्री रामेश्वर यादव, गृहमन्त्री रामबहादुर थापा, प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेल, सांसद पनि अस्पताल पुगेका थिए। उनीहरू सबै प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण सफल भएपछि मात्र फर्केका थिए।

अस्पतालमा भेटिएका स्याङजाका समाजसेवी खेम नेपालीले प्रधानमन्त्रप्रति शुभेच्छा व्यक्त गर्न आएको बताए। आफू प्रधानमन्त्रीको पार्टी सदस्य नभए पनि उहाँ असल नेता भएकाले शुभेच्छा व्यक्त गर्न आएको उनले बताए। ‘उहाँ जस्तो असल नेता देशलाई चाहिएको छ, उहाँ स्वस्थ हुनु भनेको देश स्वस्थ हुनु हो,’ उनले भने। अस्पताल परिसरमै भेटिएका नुवाकोट लिखु २ का गुरुदत्त पन्तले पनि आफू प्रधानमन्त्रीप्रति शुभेभ्छा व्यक्त गर्न आएको बताए। उनी नेकपाका साधारण सदस्य हुन्। पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले पनि प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना गर्न अस्पताल आएको बताए। अस्पतालमा सुरक्षा व्यवस्था पनि कडा पारिएको थियो। प्रधानमन्त्रीसहित शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गर्नेको संख्या छ सय पुगेको छ।

स्वास्थ्यलाभको कामना
यसैबीच प्रतिनिधिसभाको बैठकले मिर्गाैला प्रत्यारोपण (ट्रान्सप्लान्ट) का लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गर्दै विशेष प्रस्ताव पारित गरेको छ। सभामुख अग्नि सापकोटाले प्रधानमन्त्रीको मिर्गाैला प्रत्यारोपण सफलता तथा स्वास्थ्य लाभको कामना गर्ने प्रस्ताव राखेका थिए। बैठक बुधबार दिउँसो १ बजे बसेको थियो।

प्रकाशित: २२ फाल्गुन २०७६ ०१:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App