६ वैशाख २०८१ बिहीबार
समाज

भक्तपुरमा भीमसेनको लामो लिंगको प्रदर्शन

भक्तपुर– तपाई भक्तपुरको दतात्रय पुग्नुभयो भने एउटा अच्चमलाग्दो दृश्य देख्नसक्नुहुन्छ – त्यो दृश्य हो लिंगको प्रदर्शन अर्थात सहवास गरिराखेको दृश्य । भक्तपुर नगरपालिका (दतात्रयस्थित भीमसेन मन्दिरको पहिलो तलामा करिब तीन फिट लामो र एक फिट गोलो काठको लिंग (महाभारतका भीमसेनको लिंगको प्रतिक) रातो कपडालाई बीचमा प्वाल पारेर (द्रोपतीको योनीको संकेत) योनीभित्र लिंग पसिराखेको अवस्थाको दृश्य राखिएको छ । यो लिंगको टुप्पोमा कपास झुन्ड्याइएको छ । यौन सम्पर्क गर्दा वीर्य स्खलन भएकोे टुप्पोमा सेतो कपास झुण्डाई राखिएको हो । यहाँ कपासलाई वीर्यको प्रतीकको रूपमा लिने गरिन्छ ।

प्रत्येक वर्ष होली पर्वलाई लक्षित गरेर परम्परा अनुसार त्यहाँं लिंग प्रदर्शन गरिने चलन छ । झट्ट हेर्दा यसले अश्लीलताको झल्कने सन्देश दिए पनि सञ्चार माध्यम नभएको समयमा देवदेवीको समागमको नाम दिएर सन्तान जन्माउने कला सिकाएको जानकारहरु बताउँंछन् । शारीरिक सम्बन्ध राख्ने तरिका सबै मानिसले बुझनको लागि यसो गरिएको उनीहरु बताउँंछन् ।

प्रत्येक वर्ष होलीको छेको पारेर पहिलो दिनदेखि अन्तिम दिन (पूर्णिमा) सम्म लिंगको प्रदर्शन हुन्छ । यो दृश्य हेर्न र लिंगलाई पूजा गर्न आउनेहरूको भिड लाग्छ । स्थानीयहरू यहाँं पुगेर द्रोपदीको योनीमा भीमसेनको लिंगलाई ढोग्ने गर्छन् । यसले गर्दा पारिवारिक सुख र दीर्घायु मिल्ने जनाविश्वास छ । स्थानीयका अनुसार भक्तपुरको होली संस्कृति र जीवनशैलीसँग मात्र नभई प्रजनन स्वास्थ्यसँग पनि जोडिएको छ ।

जात्रा सञ्चालन गर्न आर्थिक समस्या भएको भन्दै लिंग हेर्न आउनेसँंग शुल्क पनि लिने गरिएको छ । नेपालीसँग १० रुपैयाँं र विदेशीसँंग ५० रुपैयाँं शुल्क लिएको पुजारी केशरी कपालीले बताउँछन् । उनका अनुसार पहिलापहिला भए भीमसेनको याेनाङ्गलाई भीमसेन मन्दिरको तल पाटीमै झुन्डाउने चलन थियो । धेरै भीडभाड हुने सार्वजनिक पाटीमा राखेर लिंग झुन्डाउदा बिशेष गरेर महिलालाई हिडडुल गर्ने अप्ठ्यारो भएपछि लिंगलाई मन्दिरको माथिल्लो तल्लामा झुन्डाउन थालिएको उनको भनाई छ । यही लिंगलाई साँंचेर राखी प्रत्येक वर्ष प्रदर्शनमा राखिन्छ ।

झुण्डाइएको लिंगलाई होली पूर्णिमाको दिन त्यहाँंबाट निकालिन्छ । त्यसपछि यसलाई धुनको लागि दतात्रयबाट सूर्यमढी च्याम्हासिंह हुर्दै ब्रह्मायणी नदीसम्म बोकेर लाने चलन छ । होलीको अन्तिम यो दिनमा भीमसेनको योनाङ्ग बोक्न आउनेको भीड लाग्छ । योनाङ्ग बोकेर लगेर धोयो भने पुत्रलाभ हुन्छ भन्ने जनविश्वास अझै कायम छ । यसकारण भीमसेनको योनाङ्ग छोरा नभएकाहरुले बोक्न खोज्ने हुने बताइन्छ । होलीको दिन साँझ योनाङ्ग धोएपछि भक्तपुरको होली समाप्त हुन्छ ।

संस्कृतिविद् जननीप्रसाद मुल वर्षाैँदेखि यो परम्परागत संस्कृतिलाई आजसम्म हेर्न पाउँदा खुशी व्यक्त गर्छन् । पुराना परम्परालाई संस्कृतिलाई जोगाईराख्नु आवश्यक रहेको उनको भनाई छ ।
 

प्रकाशित: २१ फाल्गुन २०७६ १४:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App